धरानमा प्रशिक्षक शाक्य र बुढाथोकीलाई सम्मान(फोटोफिचर)


धरान । दक्षिण एसियाली खेलकुद(साग)फुटबलमा २३ बर्षपछि स्वर्ण पदक दिलाउन सफल राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक राजुकाजी शाक्य र खेलाडी प्रकाश बुढाथोकीलाई शनिबार विभिन्न संघसंस्थाहरुले गृहनगर धरानमा नगदसहित सम्मान गरेको छ ।
दक्षिण एसियाली फुटबलमा नेपाललाई सफलताको शिखरमा पुर्याएर धरानको पनि गौरव बढाएको भन्दै धरान उपमहानगरपालिका र धरान फुटबल क्लबले एक समारोह गरी सम्मान गरेको हो । धरान उपमहानगरपालिकाको प्रांगणमा आयोजित कार्यक्रममा शनिबार दुवैलाई आधा दर्जन बढी संघसंस्थाहरुले नगदसहित सम्मान गर्यो ।
धरान फुटबल क्लबले प्रशिक्षक शाक्य र खेलाडी बुढाथोकीलाई जनही नगद २५ हजार प्रदान गर्यो भने प्याब्सन सुनसरीले जनही ११ हजार १ सय ११ रुपैया प्रदान गर्यो । फुटबल क्लबका अध्यक्ष एवं एन्फा उपाध्यक्ष किसो राईले प्रशिक्षक शाक्य र खेलाडी बुढाथोकीलाई नगद प्रदान गरे भने प्याब्सनका अध्यक्ष नगरबहादुर थापाले नगद प्रदान गरे । यसैगरि, सोही कार्यक्रममा धरान उपमहानगरपालिकाको तर्फबाट कार्यकारी अधिकृत टिकादत्त राईले दोसाल्ला ओढाउनुका साथै दुवैलाई सम्मान पत्र प्रदान गरे । यसैगरि, शाक्य कल्याण संस्था, सम्यक शिक्षा समुह, धरान जेसिज र धरान फुटबल फ्यान क्लबले पनि सम्मान पत्रसहित प्रशिक्षक शाक्य र बुढाथोकीलाई सम्मान गर्यो ।
त्यसअघि, बिहानै भानुचौकमा आयोजिन नेवा च्यारिटी ८ के.रन कार्यक्रममा पनि आयोजक धरान रनले शाक्य र बुढाथोकीलाई ताम्रपत्रसहित सम्मान गरेको थियो । त्यहा सम्मान गरेलगत्तै गाडीमा राखेर दुवैजनालाई र्यालीसहित नगर परिक्रमा गराउदै उपमहानगरपालिकाको प्रांगणमा लगिएको थियो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशिक्षक शाक्यले साग फुटबलमा जितेको स्वर्ण पदक बैशाखको भुकम्पमा मृत्यु भएका नेपाली र भारतीय नाकाबन्दीबाट पीडित जनताप्रति सर्मपण गरेको बताए । मन्तव्यको क्रममा आफ्ना स्वर्गीय आमा बुबाको स्मरण गर्दागर्दै उनी एक्कासी भक्कानिएर रुएपछि एक छिन सबै भावुक बनेका थिए । ‘मेरो बुबा सानुकाजी शाक्य र आमा देवीमायाको साथ, सहयोग नभईदिएको भए म आज यो ठाउँमा पुग्ने थिइन, म उहाँहरुप्रति धेरै धेरै कृतज्ञ छुँ’–सम्हालिदै उनले भने ।
गत १२ औं साग फुटबलको फाइनलमा २३ बर्षपछि भारतलाई हराउदै नेपालले स्वर्ण पदक जितेको थियो । फाइनलमा वैकल्पिक खेलाडी प्रकाशलाई मैदानमा उतार्नु आफ्नो सही निर्णय भएको प्रशिक्षक शाक्यले बताए । ‘कोचले भेदभाव गर्छ भन्ने आरोप लगाउछन्, तर त्यो सत्य होइन । हामी ठिक समयमा ठिक निर्णय गछौं, हामीलाई रिजल्ट मात्रै चाहिन्छ’–उनले भने–‘प्रकाशले माल्दिभ्ससँगको खेलमा नै कौशल देखाएको थियो । फाइलनमा पनि विश्वास गरेर उतारे, उसले सही सावित गर्यो । फाइनलको म्यान अफ दि म्याच मेरो लागि उही हो । उसको फ्रिकिक रोनाल्डोको भन्दा कम थिएन ।’
प्रशिक्षक शाक्यले धरानमा आफ्नै नाममा फुटबल एकेडेमी स्थापना गर्ने इच्छा व्यक्त गर्दै सबैबाट सहयोगको अपिल पनि गरे । फुटबलको विकास र क्षमतावान् खेलाडी उत्पादन गर्न राज्यले देशैभरि स्तरीय खेल मैदान बनाउनुपर्ने पनि उनको भनाई थियो । खेलमा हारजित स्वाभाविक हुने भन्दै प्रशिक्षक शाक्यले जित्दा मात्रै होइन, हार हुदा पनि खेलाडीलाई हौसला बढाइदिन खेलप्रेमीहरुसँग आग्रह गरे ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे