धरान-चतरा-गाईघाट-कटारी-हेटौडा सडक तीन बर्षभित्र कालोपत्रे गरिने

धरान । पाँच महिना लामो मधेश आन्दोलनले पुर्वपश्चिम राष्ट्रिय राजमार्गसँगै जनजीवन ठप्प बनेपछि सरकारले वैकल्पिक राजमार्ग निर्माणलाई प्राथमिकता दिएको छ ।  भविष्यमा कुनै एक क्षेत्रमा हुने बन्द, हडतालले पुरै राष्ट्रिय राजमार्ग ठप्प नहोस् भनेर सरकार र सडक विभागले धरानदेखि उदयपुरको गाईघाट,कटारी हुदै हेटौडा पुग्ने वैकल्पिक बाटोलाई प्राथमिकता दिएको हो ।
विभागले ३ सय १८ किलोमिटर लामो यो रुटलाई आगामी ३ बर्षभित्र कालोपत्रे गर्ने गरी योजना तयार गरेर मन्त्रालयमा पेश गरिसकेको छ । पुर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरी सापकोटाका अनुसार यो सडक तत्काल २ लेनको हुनेछ । ‘धरानको भोटेपुललाई जिरो माइल मानेर चतराको कोशीपुल हदै गाईघाट, कटारीबाट हेटौडा निस्कने सडक ३ बर्षभित्र कालोपत्रे गरिसक्ने भनेर विभागले योजना बनाइसकेको छ’–क्षेत्रीय निर्देशक सापकोटाले भने–‘यो वैकल्पिक सडक सरकार र विभागको उच्च प्राथमिकतामा छ ।’
पहिलो मधेश आन्दोलन हुदा नै सरकारले यो वैकल्पिक सडकको सोच ल्याएको थियो । त्यसैअनुरुप आधा दशकअघिदेखि हेटौडामा कार्यलय स्थापना गरि ट्रयाक खोल्न शुरु गरिए पनि सुस्त गतिमा छ । राजमार्ग सुचारु भएपछि सरकारले ध्यान नदिदा बजेट अभावले सिन्धुली जिल्लामा पनि ट्रयाक खुलिनसकेको जानकारहरु बताउछन् । तर, नयाँ संविधान जारी भएसँगै शुरु मधेश आन्दोलनले झण्डै ६ महिना राष्ट्रिय राजमार्ग ठप्प बनेपछि भने सरकार र सडक विभाग वैकल्पिक राजमार्ग सञ्चालनमा ल्याउन तातिएको हो । गत साउन १८ देखि कोशी ब्यारेजको विकल्पमा चतरास्थित सप्तकोशी नदीमाथि नयाँ पुल सञ्चालनमा आएपछि सरकारको ध्यान यो सडकमा केन्द्रीत छ ।
सडक कार्यालयका अनुसार यो सडक खण्ड खण्ड गरेर कालोपत्रे काम हुनेछ । धरानदेखि चतरासम्मको बाटो कालोपत्रे गर्न विराटनगर डिभिजनले ठेक्का लगाएको छ भने चतरादेखि बसाहासम्मको सडक एडिबिमार्फत ठेक्का भई कालोपत्रे हुनेछ । बसाहादेखि गाईघाई हुदै कटारी निस्कने बाटोलाई तत्काल स्तरोन्नति गरिने र केन्द्रीय योजनाअन्र्तगत हेटौडासम्म नै तीन बर्षभित्र कालोपत्रे हुनेछ । ‘पहिला सिन्धुलीमा मात्रै काम केन्द्रीत थियो, अहिले पुर्वतिर पनि काम शुरु हुन थालेको छ’–क्षेत्रीय निर्देशक सापकोटाले भने ।
लामो मधेश बन्दले उद्योग, व्यावसाय र जनजीवन सकसपुर्ण बनेपछि पुर्वका यातायात व्यावसायी, उद्योगी, व्यावसायीहरुले वैकल्पिक मार्ग निर्माण, स्तरोन्नति गर्न सरोकारवाला निकायलाई निरन्तर दबाब र लविङ गरेका थिए । व्यावसायीहरुको आग्रह पछि क्षेत्रीय निर्देशक सापकोटा पटक पटक वैकल्पिक सडक खण्डको निरीक्षण र स्तरोन्नति गर्न धरान, चतरा हुदै उदयपुरसम्म गएका थिए । मधेश बन्द हुदा यो धरान हुदै कटरीसम्म यात्रु बाहक बस र साना सवारी यो रुटबाट चलेको थियो । ‘मधेश आन्दोलनले बन्द हुदा भएको क्षतिको मुल्यांकन गर्नै सक्दैनौं । फरि यस्तो अवस्था सृर्जना हुनसक्छ । प्रदेश प्रदेशबीचमा द्धन्द हुने अवस्था पनि छ’–सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले भने–‘त्यसको विकल्पमा यो सडक हुन्छ । काठमाण्डौंसँग पुर्वको सडक सञ्जाल कहिल्यै बन्द हुदैन र यो कोसेढुंगा सावित हुन्छ ।’
सरकारको ध्यान वैकल्पिक बाटोमा केन्द्रीत भएपछि कालोपत्रे हुनेमा उदयपुरबासीहरु पनि आशावादी छन् । विगत १७ बर्षदेखि गाईघाट–रामपुर रुटको कच्ची बाटोमा गाडी सञ्चालनमा ल्याएका उदयपुर गाईघाटका यातायात व्यावसायी ओमभक्त मैनाली सरकार,सडक विभागले यो बाटोलाई वास्तै नगर्दा जनताले धेरै दुःख पाएको बताउछन् । ‘सत्र बर्ष भयो, यो बाटोमा गाडी चलाएको । कसैले पनि बाटो कालोपत्रे गर्न ध्यान दिएन’–उनले भने–‘बल्ल सरकारको ध्यान परेको छ, चाडै पक्की सडक बन्छ भन्नेमा हामी आशावादी छौं ।’


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे