बुढासुब्बा गोल्डकप शुरु, मनाङद्धारा भुटान ८–० ले पराजित(फोटोफिचर)


धरान । भुटानको सिएफसि माथि ८–० को फराकिलो जित दर्ता गर्दै लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लबले धरानमा शुरु १८ औं बुढासुब्बा रेडबुल गोल्डकपमा सुखद शुरुवात गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा सहज जित निकाल्दा मनाङका कप्तान अनिल गुरुङ र अफ्रिकन मुलका खेलाडी अफिज ओलावोलेले ह्याट्रिक पुरा गरे । जितसँगै सेमीफाइन पुगेको मनाङले खेलअवधिभर हावी रहेको थियो ।
मनाङ ०६० र ०६७ को बुढासुब्बा गोल्डकपको उपाधि विजेता टोली हो । गत सँस्करणमा मनाङले उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो । शनिबार मनाङको लागि पहिलो हाफको २३ औं मिनेटमा अनिलले गोल गरेका थिए । उनले पहिलो हाफको ३० औं र दोस्रो हाफको १५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा परे । पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्दै उनले दोस्रो हाफमा ह्याट्रिक गरेका थिए ।
यस्तै, ओलावोलेले पहिलो हाफको इन्जुरी समयमा र दोस्रो हाफको २७ औं मिनेट, ३८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । महिलो हाफको ४१ आंै मिनेटमा तेज तामाङले कर्नर प्रहारबाट मनाङलाई एक गोल थपेका थिए भने विशाल राई बिले पनि दोस्रो हाफको ३५ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच मनाङका अनिल गुरुङ भए । उनले ट्रफी र नगद ५ हजार थापे । पाहुना टोली सिएफसिले भने मनाङको गोलपोष्टमा कुनै खतरनाक आक्रमण बुन्न सकेन ।
मनाङका प्रशिक्षक छिरिङ लोप्सङ गुरुङले जित्नकै लागि खेले पनि सोचेको भन्दा कमजोर विपक्षी भएकोले फराकिलो जित भएको बताए । सिएफसिका प्रशिक्षक विमल मुखिया टिमको प्रर्दशनले आफु ज्यादै निराश भएको बताए । टिमका केही खेलाडी घाइते भएकोले पनि असर पुगेको उनले बताए ।
प्रतियोगितामा आइतबार आयोजक धरान फुटबल क्लब र रुपन्देही ११ बीच खेल हुनेछ । फागुन १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कांग्रेस सांसद मिनबहादुर विश्वकर्माले गरेका थिए । जम्मा ८ क्लब सहभागी प्रतियोगिताको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख पाउनेछ ।
उद्घाटन समारोहमा धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईलाई नगरको विकासमा उल्लेखनीय योगदान गरेको भन्दै सम्मान गरिएको थियो भने शान्ति सुरक्षा कायम राख्न खेलेको भुमिकाको कदर गर्दै इलाका प्रहरी कार्यालय डिएसपी सुदमकुमार सिजापतिलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे