डिफेन्डिङ च्याम्पियन एपिएफ सेमीफाइनलमा(फोटोफिचर)

धरान । डिफेन्डिङ च्याम्पियन एपिएफ क्लब धरानमा जारी १८ औं बुढासुब्बा रेडबुल गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सोमबार पोखरा ११, कास्कीलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउदै एपिएफा सेमीफाइनल पुगेको हो ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एपिएफका सुदिप शिक्राकार, अञ्जन विष्ट, गणेश लावती, मिलन राई र ज्याङबो शेर्पाले गोल गरे भने पोखराका रवि थापा, राकेश गुरुङ, प्रदिप गुरुङ र सुलेमान मगरले मात्रे गोल गर्न सफल भए । सुनिल बिकको प्रहार गोलपोष्ट माथिबाट गए पछि एपिएफले सेमीफाइनल यात्रा गर्यो । एपिएफले फागुन १९ मा मनाङ मस्र्याङदीसँग सेमीफाइनल खेल्नेछ ।
निर्धारित समयको खेलमा भने पहिलो हाफको २२ औं मिनेटमा पोखराका राकेश गुरुङले पेनाल्टीमा गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए । एफिएफका सुदिप शिक्राकारले उनलाई लडाएपछि पोखराले पेनाल्टी अवसर पाएको थियो । पेनाल्टी प्रहार राकेशले नै गरेका थिए । तर, पहिलो हाफको ३३ औं मिनेटमा एपिएफका गणेश लावतीले गोल गर्दै खेल बराबरी बनाए । सुदिप शिक्राकारको प्रहारमा लावतीले हेडमार्फत गोल गरे । दोस्रो हाफमा दुवै टिमले गोल गर्न सकेन । खेल खेलाउन समय अभाव भएपछि खेल सिधै टाइब्रेकरमा गएको थियो । खेलको म्यान अफ दि म्याच पोखराका रवि थापा घोषित भए । उनले नगद ५ हजार हात पारे ।
खेलअवधिभर दुवै टोलीले थुप्रै मौका खेर फालेको थियो । पहिलो हाफको २७ औं मिनेटमा एपिएफका सुदिप शिक्राकरको प्रहार डिबक्समा कुनै खेलाडीले वल नछुदा पोष्ट नजिकैबाट बाहिरियो । ३७ औं मिनेटमा डि बक्सभित्र वल नियन्त्रणमा लिन नसक्दा गणेश लावतीले गोल गर्ने मौका खेर फाले । इञ्जुरी समयमा अञ्जन बिष्टको फ्रिकिकलाई पोखराका गोलकिपर मनोज गुरुङले पञ्च गरेर बचाए । पोखराले पहिलो हाफको २५ औं मिनेटमा विमल रानाको प्रहारले गोलपोष्टको दिसा लिएन । यस्तै, ३६ औं मिनेटमा सुशिल लामाको फ्रिकिक प्रहारको वल कसैले पनि डिबक्सभित्र भेटेनन् । दोस्रो हाफको १६ औं मिनेटमा विमल रानाको प्रहारलाई एपिएफका गोलकिपरले पञ्च गर्दै जोगाए ।
एपिएफका प्रशिक्षक जनक सिंहले रेफ्री सुदेशकुमार पाण्डेले आफ्नो टिमप्रति जहिल्यै गलत निर्णय गर्ने गरेको आरोप लगाए । रेफ्री पुर्वाग्रही भएकैले खेलाडी आदित्य चौधरी गम्भीर घाइते भएको तर रेफ्रीले उल्टो निर्णय गरेको आरोप लगाए । नियमित प्रतियोगिता खेल्नुपरेकोले आफ्नो खेलाडी थाकेकोले सोमबार खेलमा तालमेल नमिलेको उनले बताए । पोखराका प्रशिक्षक विवेक गुरुङले भने खेलप्रति सन्तुष्टी जनाउदै युवा खेलाडीमा अनुभवको कमी भएको बताए । आफ्ना सबै खेलाडी जुनियर भएकोले अनुभवको कमीले धेरै मौका पाउदा पनि स्कोर गर्न नसकेको उनको भनाई थियो । मंगलबार अन्तिम क्वार्टरफाइनल खेल नेपाल पुलिस क्लब र भारत कालिङपोङको शेरे क्लबबीच हुने आयोजकले जनाएको छ ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे