धरान सडक उत्सव फागुन ८ देखि

धरान । घुम्न जाउ धरान भन्ने नारासहित फागुन दोस्रो साता १२ औं धरान सडक सडक आयोजना हुने भएको छ । होटल एशोसिएशन अफ धरानले शुक्रबार पत्रकार सम्मेलन गर्दै उत्सव फागुन ८ देखि १० गतेसम्म तीन दिन हुने जानकारी गराएको हो ।
उत्सवको अवसरमा एशोसिएशनमा आवद्ध होटल व्यावसायीहरुले रेष्टुरेष्ट र लजमा पर्यटकहरुलाई बिशेष छुटको घोषणा पनि गरेका छन् । तीन दिनको सडक उत्सव शुरु हुनुभन्दा ४ दिनअघिदेखि नै यो छुट लागु हुने व्यावसायीहरुले जनाएका छन् । एशोसिएशनका अध्यक्ष सुवर्ण श्रेष्ठका अनुसार पर्यटकहरुले लजमा २० प्रतिशत छुट पाउनेछन् भने रेष्टुरेष्टमा १० प्रतिशत छुट हुनेछ । ‘पर्यटकहरुलाई आर्कषण बढाउन र बसाई लम्ब्याउनको लागि यो छुटको घोषणा गरिएको हो’–अध्यक्ष श्रेष्ठले भने–‘यो छुट फागुन ४ गतेदेखि नै लागु हुन्छ ।’ उनका अनुसार र्याफ्टिङको मजा लिन चाहने पर्यटकहरुले उत्सव आयोजकमार्फत बुकिङ गराएमा १२ प्रतिशत छुट पाउनेछन् ।
धरान र आसपासमा ९५ वटा होटल, २५ वटा लज र १९ वटा गेष्ट हाउस आवद्ध छ भने एक सय ९८ वटा रेष्टुरेष्ट, एउटा दोहोरी, ४ वटा गजल बार, ३ वटा पव र २ वटा डिस्को रहेको एशोसिएशनले जनाएको छ । सडक उत्सवमा आन्तरिक पर्यटकहरु भित्र्याउन एशोसिएशनको एक टोली घुम्न जाउँ धरान भन्ने नारा लिएर पुर्वमा भारतको सिलगुडी र पश्चिममा पोखरासम्म पुग्ने पुर्वअध्यक्ष एवं सल्लाहकार शिवराज श्रेष्ठले जानकारी दिए । त्यसक्रममा स्थानीय होटल व्यावसायी, पर्यटन व्यावसायी, पत्रकार महासंघसँग समन्वय गरी छलफल एवं प्रर्वद्धन गरिनेछ । ‘ती जिल्लाहरुमा पोष्टर, पम्प्लेट, ब्यानर, ब्रोसर र माइकिङ पनि गरेर धरान घुम्ने निम्ता गरिनेछ’–उनले भने ।
धरान १२ स्थित चतरालाइनमा हुने उत्सवमा सय वटा स्टल रहने आयोजकको भनाई छ । सडक उत्सवअवधिभर दौड प्रतियोगिता, विभिन्न खानेकुरा खाने प्रतियोगिता, पिउने प्रतियोगिता, सांगीतिक, साँस्कृतिक कार्यक्रम, रस्सीतान प्रतियोगितालगायत विभिन्न गतिविधिहरु हुनेछन् । करिब अढाई लाख पर्यटकले अवलोकन गर्ने अपेक्षा गरिएको उत्सव आयोजकले जनाएको छ । सडक उत्सवलाई लक्षित गरेर यहाँका होटल व्यावसायी एवं पर्यटनकर्मीहरुले टुर प्याकेजसमेत तयार गरेका छन् । प्याकेजमा धरान, आसपासका पर्यटकीय क्षेत्रसँगै इलाम जिल्लालाईसमेत समेटिएको छ । यो प्याकेज अढाई घण्टादेखि एक रात दुई दिनसम्मको छ । जसमा धरानदेखि भेडेटार, नाम्जे र नमस्ते झरनाको ५ घण्टे प्याकेज छ । यस्तै, धरानभित्रको पौराणिक मठमन्दिर दन्तकाली, पिण्डेश्वरी, बुढासुब्बा र घण्टाघरसमेटिएको अढाई घण्टाको टुर प्याकेज छ । पुरै एक दिनको प्याकेजमा धरानदेखि कोशीटप्पुमा चरा अवलोकन गराउने प्याकेज छ । यसैगरि, मुलघाटस्थित तमोर नदीदेखि चतरासम्म एक दिनको र्याफ्टिङको पनि प्याकेजलाई पनि समेटिएको छ । यस्तै, एक रात दुई दिनको धरानदेखि इलामको कन्याम, फिक्कलसम्मको पनि प्याकेज छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे