ताल तलैयामा मुर्तिकला(फोटोफिचर)


ख्यार्र... ख्यार्र... । ठक...ठक...। यो आवाजले इटहरी उपमहानगरको २ र ३ वडामा फैलिएको ताल तलैजा क्षेत्र दिनभर गुञ्जायमान छ । मान्छे भन्दा अग्ला र बडेमानको ढुंगा । कतै पल्टिएर सुतेको छ, कतै ठिङ्ग उभिएको । कहाँबाट आए होला यी ढुंगा । जहाँबाट आए पनि नयाँ जीवन पाउदैछन् । नेपालको मात्रै होइन, विश्वकै मुर्धन्य मुर्तिकारहरु निर्जिव ढुंगामा ज्यान भर्दैछन् । यी ढुंगालाई हेर्न आउने स्कुले विद्यार्थी, युवायुवतीहरु दाँया–बाँया गर्दै नियाल्छन् । उनीहरुलाई लाग्दो हो, अहिल्यै यी ढुंगा जुरुक्क उठेर केही बोल्छन् कि !
नामबाट नै अनुमान लगाउन सकिन्छ, तालै ताल भएको ठाउँ हो ‘ताल तलैया’ । इटहरी चोकबाट करिब ७ किलोमिर उत्तरमा छ । कोशी राजमार्गमा पर्ने तरहराबाट ५ किलोमिटर पुर्व । करिब २० हेक्टरमा फैलिएको । यहाँ ७ वटा ताल छन् । पानी प्रशस्त छ, आफै उम्रिएको जरुवा पानी । यी ताल कृत्रिमरुपमा बनाइएको होइन । प्राकृतिक ताल र प्रकृतिसँग रमाउन मानिसहरु ताल तलैयासम्म पुग्छन् । यही ठाउँमा अहिले ५ जना विदेशी र २१ जना नेपाली मुर्तिकारहरु ढुंगामा जीवन उतार्दैछन् । थप ८ जना सहयोगी कलाकार पनि । मास्कले मुख छोपिएको । टाउकोमा सेफ्टी हेल्मेट । कोही छिनो र मार्तल चलाइरहेका । कोही ग्राण्डर मेशिन चलाउदा उडेको धुलोले सेताम्मे भएका । मेशिनको आवाजले विस्तारै बोलेको त सुन्दै नसुन्ने ।
जम्मा १८ दिनसम्म चल्ने ‘युनिटी अन्र्तराष्ट्रिय मुर्तिकला कार्याशाला’ माघ ९ गतेदेखि शुरु भएको थियो । पत्रकार(भाई) राजन सुवेदीको साथमा सोमबार(माघ १८) मात्र तालतलैया पुगेको थिएँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मुर्तिकला विभाग, इटहरी उपमहानगरपालिका, इटहरी उद्योग वाणिज्य संघ, ताल तलैया विकास तथा संरक्षण समितिको संयुक्त प्रयासमा कार्यशाला हुदैथियो । कार्यशाला सकिदासम्म यी ढुंगाहरु केवल ढुंगा मात्रै रहनेछैन । पहिला जस्तो कतै खोलाको बगरमा जस्तो मुल्यहिन वेवारिस पनि हुनेछैन । यही ताल तलैयाको शान बनेर गर्वले उभिनेछन यी ढुंगा । मुर्तिकलाको खुला किताब हुनेछन्, जसलाई अध्ययन गर्न देश विदेशका विद्यार्थीहरु यहाँ आउनेछन् । इतिहासमा अमुल्य निधि बन्नेछन्, यी ढुंगा पनि । अहिले हजारौं बर्षअघिका ढुंगाका सामग्री, हातहतियारको महत्व अहिले भएजस्तै ।
नेपालबाहेक जापान, जर्मन, इजरायल, मलेसिया र भारतका पनि कलाकार छन् । जापानका सुगिमोतो जुन इचिरो, इजरायलकी तान्या प्रेमिन्जर, जर्मनका पिटर हार्गेट, मलेसियाकी म्याक्जिन जिई जिआन र भारतका अनुपकुमार गुप्ता । सबै काममा ब्यस्त छन् । कोसँग कुरा गर्ने द्धिविधा थियो । संयोगले परिचित कलाकार काम गर्दै गरेको ठाउँमा पुगिएछ । मास्क र हेल्मेट निकालेपछि मात्रै पो चिने, धरान(पानवारा)का कलाकार जीवन पौडेल रहेछन् । कार्यशालाको थिम युनिटी(एकता)मा आधारित मुर्ति बनाउन चितवनका मुर्तिकार लालकाजी लामालाई सघाउदै गरेका । आफुभन्दा अग्लो ढुंगामा हिमाल, पहाड र तराईलाई नट बल्टुले कस्दै गरेको । कहिल्यै नछुट्ने, नटुट्ने गरि । नेपाललाई पनि यसरी नै एकताको सुत्रमा बाध्नु छ । ज्यादै मार्मिक र समय सान्दर्भिक कुरा गरे जीवनले ।
सधै जस्तो डेटिङ र पिकनिक खान आउनेहरु मात्रै छैनन् । कार्यशाला शुरु भएपछि कलाकारहरु, बौद्धिक जमात्, शिक्षक–विद्यार्थी, समाजका अगुवाहरुको आउजाउ ताल तलैयामा बाक्लिएको छ । विभिन्न ठाउँबाट आएका कलाकारहरुको समुह, अवलोकन भ्रमणमा आएका स्कुले विद्यार्थीहरुसँग ब्यस्त हुदाहुदै पनि मुर्तिकारहरु कुरा गर्न भ्याइरहेका छन् । कार्यशालाका संयोजक एवं प्रतिष्ठानको मुर्तिकला विभाग प्रमुख धनबहादुर याक्खा(धनु) एक सहयोगीका साथमा ‘नारी र प्रकृति’लाई मुर्तरुप दिदैथिए । उनका अनुसार नेपालमा यसअघि पनि काठमाण्डौं, हेटौडा, पोखरा र चितवनमा यस्तो कार्यशाला भइसकेको थियो । तर, मुर्तिकार संख्याको हिसाबले सबैभन्दा ठुलो कार्यशाला यही हो । करिब डेढ बर्षको तयारीपछि मात्र कायर्शाला आयोजना हुनसकेको उनले सुनाए । पुुर्वको विभिन्न ठाउँ हेरेपनि पर्यावरणीय र जैविक विविधताले ताल तलैया उपयुक्त देखियो । बडेमानको ढुुंगाहरु चाहि धरानको सेहरा खोलाबाट संकलन गरि ल्याइएको रहेछ ।
ताल तलैया मुर्तिकलाको खुला संग्रहालयकोरुपमा स्थापित गराउने कार्यशालाको उद्देश्य हो । राम्रो काममा सबैले एकता र ऐक्यवद्धता जनाउनुपर्छ भन्ने सन्देश दिनु पनि हो । स्थानीय कला, सँस्कृति, पर्यावरण र दिगो पर्यटन विकासमा पनि योगदान पुग्छ । सबभन्दा महत्वपुर्ण कुरा त स्वदेशी र विदेशी कलाकारबीच पारस्परिक सम्बधको सेतु बन्छ । कलाकार अरनिको नेपाल र चीनबीचको दैत्य सम्बन्धमा अहिले पनि उल्लेखनीय पात्र हुन् । विदेशी मुर्तिकारहरुका देशका राजदुतहरुले पनि निक्कै चासो दिइरहेका छन् । केही राजदुत त कार्यशाला चलिरहदा ताल तलैया आउनेछन् । प्राज्ञ याक्खासँगको भलाकुसारीको सारसंक्षेप यही थियो ।
इलामका राजु पिठाकोटे ‘एकता नै शक्ति हो’ थिमको मुर्ति खोप्दै थिए । उर्लाबारीका मञ्जुल मितेरी ‘मृत्युशैइयामा पृथ्वी’ । दुवैसँगको भेटपछि इजरायलको तान्या भएको ठाउँमा पुगियो । उमेरले ७४ बर्षीय तान्या विश्वकै उत्कृष्ट कलाकारमा पर्छिन् । यो उमेरमा पनि उनको जोश, जागर कुनै युवा भन्दा कम छैन । बोलीमा पनि निक्कै रमाइलो छिन् उनी । मुटू शिर्षकमा मुर्ति तयार गर्दैछिन् । त्यो नेपाली मुटू रे । ‘ढुंगा नै नेपालको हो, त्यसैले यो नेपालकै मुटू हो’–हास्दै भनिन् । अहिले मुटू भुईमा राखिएको छ । तयार भएपछि उठाएर राखिनेछ । उनलाई नेपाली मान्छे असाध्यै राम्रो लाग्छ । भनिन्,‘म ढुंगाको मुटू बनाउदैछु, तर नेपालीको मुटू साह्रो कोमल छ है । जहिल्यै मुस्कुराईरहन्छन् ।’
तान्या पछि जापानका ६७ बर्षीय सुगिमोतोलाई भेट्न पुग्यौ । उनी पनि विश्वकै राम्रा मुर्तिकार मध्ये एक हुन् । जापानमा उनको नाममा राजमार्ग र संग्रहालय नै छ । यति मुर्धन्य मुर्तिकारहरुलाई भेट्न पाउदा मन हर्षित भइरहेको थियो । सुगिमोतो नेपाल धेरै पटक आएका छन् । उनी नेपाललाई असाध्यै माया गर्छन् । भुकम्प पछि उनले नेपालीप्रति समर्पित गर्दै ‘नेपाल नेपाल नेपाल’ शिर्षकमा जापानमा मुर्तिकला प्रर्दशनी पनि गरेका थिए । प्रत्येक बेलुकी ताल तलैया समितिको कार्यालय परिसरमा नाचगान हुन्छ । भाई राजनका अनुसार तान्या र सुगिमोतो खुब रमाउछन् । बेलुकी पुर्वाञ्चल संगीत साधाना केन्द्रको टोली मादल, हार्मोनियम र गीत गुञ्जाउछन् ।
ताल तलैयाको नामाकरण हुदा ०५५ सालमा यो क्षेत्र जंगल थियो । जरुवा पानी भने प्रशस्तै । कोही कोही पिकनिक खान आइपुग्थे । खोल्सा खोल्सी धेरै थियो । जरुवा पानी बग्ने भएकोले किसानले बाँध बाधेर खेतमा पानी उपयोग गर्थे । बाँध बाधेपछि खोल्सा खोल्सी तालमा परिणत भएको हो । ०६० सालबाट भने पिकनिक खानेहरुको घुइचो लाग्न थाल्यो । ०६६ सालमा समिति बनेर अर्को बर्ष विधान दर्ता गरेपछि ताल तलैयाको व्यवस्थितरुपमा विकास हुन थाल्यो । यहाँको ७ वटा तालमध्ये एउटामा बोटिङको मज्जा लिन सकिन्छ । घोडा चढ्ने रहर पनि यही पुरा हुन्छ । केटाकेटीको लागि चिल्ड्रेन पार्क छ । ‘मिनि जु’ मा अजिंगर, मयुर, हुचिल, चित्तल, निगाले बाध, चरी बाध, दुम्सी, गिद्ध, स्याल, चिल, बाँदर, कछुवा जस्ता लोपोन्मुख थुप्रै जनावरहरु छन् । समितिका सदस्य जनक कार्कीका अनुसार वन उपभोक्ता सदस्यहरुले फेला पारेका वन्यजन्तुहरुलाई यहाँ संरक्षण गरि राखिएको हो । पुस्तकमा चित्र र टिभिमा दृष्यमा देखेका विद्यार्थीहरुलाई नजिकबाट हेर्ने अवसर मिल्छ । पिकनिक खान आउनेहरुलाई थुप्रै स्पट तयार छ ।
मंसिरदेखि माघसम्मको मुख्य सिजनमा समितिले एक सातामा सबै खर्च कटाएर कम्तीमा ६० हजार आम्दानी गर्छ । आसपास खुलेका डेढ दर्जन होटल, लज र साना पसलहरुको आम्दानीको स्रोत पनि ताल तलैयामा आउने पर्यटकहरु नै हुन् । खान बस्नको समस्या छैन । बाटोको सुविधा भएकोले सानो, ठुलो गाडी पुग्छ । निजी गाडी नभए सिटि सफारीले पनि पुर्याइदिन्छ । कार्यशाला पछि ताल तलैया कलाको केन्द्र बन्ने स्थानीयको आशा छ । यी मुर्तिहरु ताल तलैयाको प्रमुख आर्कषण बन्नेछ । मुर्तिहरुको उचित संरक्षण हुन जरुरी छ । यसतर्फ सबैको ध्यान पुगोस् ।
 । । । । । । । । । । । । । । । । । । । ।
धनबहादुर याक्खा(धनु)
मुर्तिकला विभाग प्रमुख, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान
ः झण्डै डेढ बर्षको प्रयासमा यो ऐतिहासिक कार्यशाला भइरहेको छ । यहाँ मुर्तिकलाको खुला संग्रहालय बन्छ, सर्वसाधारण जनताको लागि सजिलै पहुच हुनेछ । ताल तलैया जैविक विविधता र पर्यवरणले धनी छ, यी मुर्तिले दिगो पर्यटन विकासमा थप टेवा पुग्छ भन्ने आशा छ । यी मुर्तिकला विश्व मुर्तिकलामा भावी पुस्ताको लागि अमुल्य निधी हुनेछ, सम्पदा हुनेछ । मुर्तिकलाको अध्ययनको थलो पनि बन्नेछ ।
.................................................
जनक कार्की, सदस्य 
ताल तलैया विकास तथा संरक्षण समिति
ः यहाँको आर्कषण भनेकै ताल, प्रकृति हो । पिकनिक खान पनि धेरै आउछन । अहिले ढुंगाको मुर्तिकला कार्यशाला हुदैछ । यी मुर्ति पनि यहाँको प्रमुख आर्कषणकोरुपमा थपिदैछ । यहाँ जम्मा ७ वटा ताल छ । त्यसमध्ये यो कार्यालय ठिक अघिको ठुलो क्षेत्र ओगटको ताललाई अझ व्यवस्थित गरेर पुर्वको मिनि फेवाताल बनाउने तयारी हुदैछ । यसको लागि इटहरी उपमहानगरपालिकाले छुट्टै गुरुयोजना बनाएको छ । यसको लागत साढे ६ करोड अनुमानित छ । अर्को, घुमाउने तालको बीचमा टापु छ । त्यो टापुलाई उपयोग गरेर पर्यटक आकर्षित गर्न डुंगा थपेर त्यहाँसम्म पुग्ने व्यवस्था हुन्छ । टापुमा पनि रिसोर्ट वा टावर के बनाउने भनेर अध्ययन हुदैछ ।
.........................................
तान्या, इजरायलकी विश्व प्रसिद्ध मुर्तिकार
ः यहाँ आएर काम गर्न पाउदा धेरै राम्रो खुशी छुँ । हामीले बनाएको यी मुर्तिलाई तपाईहरु आफैले आँखाले हेर्ने र महसुस गर्ने हो । हुन त मैले ढुंगाको मुटू बनाउदै गरेको हो । यो नेपालीको मुटू हो । यो ढुगाको भएपनि नेपालीको मुटू कोमल छ । सधै हासिरहन्छन्, नेपाली असाध्यै मनपर्छ ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे