तनावको बीचमा पत्रकार महासंघको साधारणसभा सम्पन्न

धरान । तनाव र केही पत्रकारको आचरणविपरीत व्यवहार प्रर्दशनकोबीचमा मंगलबार नेपाल पत्रकार महासंघ सुनसरीको १० आंै साधारणसभा इटहरीमा सम्पन्न भएको छ । बन्दसत्रमा आर्थिक प्रतिवेदन माथिको छलफलमा साधारण सदस्यहरुले प्रश्न उठाउने क्रममा कोषाध्यक्षले आचरणविपरीत व्यावहार प्रर्दशन गरेपछि निक्कैबेर सभा विथोलिन पुगेको थियो
कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन चित्तबुझ्दो नभएको साधारण सदस्यले कुरा उठाउन थाले पछि विवाद उत्पन्न भएको थियो । सांगठनिक वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि उब्जिएको प्रश्नको संयमतापुर्वक जवाफ दिनुको साटो जिम्मेवार पदाधिकारी आक्रमणमा उत्रिएका थिए । यो घटनाले राज्यको चौथो अंग भनिएको जिम्मेवार पत्रकारहरुको साधारणसभामा उठेको गम्भीर बिषयहरुलाई ओझेलमा पार्यो । बन्द सत्रमा साधारण सदस्यहरुले समानुपातिक प्रतिनिधित्व, पुरस्कार वितरणमा भएको मनोपली, आर्थिक मुद्दा, पुरस्कार मापदण्डलगायत विविध बिषयमा प्रश्न उठाएका थिए । साधारण सदस्यमाथि भौतिक आक्रमण भएपछि बन्दसत्रमा उठेका जिज्ञासाहरु सम्बोधन हुन नपाउँदै सभा टुङ्गिएको थियो ।

बन्दसत्रका अतिथिरहेका महासंघका केन्द्रिय सदस्य तथा पुर्वाञ्चल सह–संयोजक गणेश लम्सालले आर्थिक प्रतिवेदन केन्द्रिय कार्यालयमा रहेको लेखा समितिलाई अध्ययन गराई प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएपछि मात्रै बन्दसत्र सुचारु भएको थियो । तनाव र विवादको बीचमा साधारणसभा टुंगिएपनि सुनसरीका पत्रकारहरुबीचमा भने बन्दसत्रको घटनाको चर्चा सेलाइसकेको छैन । जिम्मेवार पदाधिकारीबाट प्रर्दशन भएको गैरव्यावसायिक, पत्रकार आचारणविपरीत व्यावहारलाई लिएर अनेक टिकाटिप्पणीहरु भइरहेको छ ।
महासंघका केन्द्रीय महासचिव उजिर मगर प्रमुख अतिथि रहेको उद्घाटन सत्रमा सचिव वावुराम सुवेदीले साँगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । शाखाका पुर्वअध्यक्ष कृष्ण विनोद लम्सालले सम्मान तथा पुरस्कार नीति ०७२ को मस्यौदा पनि प्रस्तुत गरेका थिए । महासंघका केन्द्रिय महासचिव उजिर मगरले राज्य र नागरीकले पत्रकारहरुबाट ठुलो आशा बोकेको भन्दै जिम्मेवार र उत्तरदायिपुर्ण पत्रकारीता गर्न जोड दिएका थिए । त्यस्तै महासँघका पुर्वाञ्चल सह सँयोजक गणेस लम्सालले पत्रकारलाई आफुखुसी पुरस्कृत गरि प्रलोभनमा पार्ने काम भइरहेको भन्दै यसमा महासँघ र प्रेस काउन्सिल नेपालको गम्भिर ध्यानाकर्षण भएको बताए ।

                                             १० बुँदे घोषणापत्र जारी


साधारण सभाको बन्द सत्रले साधारण सदस्यहरुबाट उठेका जिज्ञासाहरुलाई संकलन गरि १० बुँदे घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रमा संविधान निर्माणसँगै अहिले कार्यान्वयनको क्रममा रहेकोमा संघिय संरचना अनुसार पत्रकारको क्षमता अभिवृद्धिसँगै विभिन्न विधामा तालिम सञ्चालन गर्नको लागि प्रदेश नम्बर १ मा अघिल्लो सरकारले निर्णय गरेकै कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठान मार्फत काम थाल्न सरकारसँग जोडदार माग गरेको छ । त्यस्तै अघिल्लो सरकारले नेपाल पत्रकार महासंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराईको नाममा स्थापना गर्ने निर्णय गरेको कृष्णप्रसाद भट्टराई आम सञ्चार प्रतिष्ठानको नाम कायमै राखेर प्रतिष्ठानको कार्यालय सुनसरीमा स्थापना गर्न पनि जोडदार माग गरेको छ ।
घोषणा पत्रमा न्युनतम श्रमजिवी पत्रकार ऐन लागू गराउन जिल्लामा रहेका सञ्चार संस्थाहरुलाई महासंघ शाखाले दवाव दिने, जिल्लामा पत्रकारिता शुद्धिकरण अभियान महासंघले सञ्चालन गर्ने, निस्क्रियलाई साधारण सदस्यबाट हटाइने घोषणापत्रमा उल्लेख छ । दलित, महिला, आदिवासी, जनजाति, अल्पसंख्यक, मुस्लिम, पिछडा वर्ग लगायतलाई तालिममा प्राथमिकताका साथ अवसर दिइने, पुरस्कार अक्षय कोष स्थापना गरेर मात्र पुरस्कार प्रदान गरिने, जिल्लाका पत्रकारलाई आपतविपत पर्दा सहयोग गर्न महासंघ जिल्ला शाखाले अलगै अक्षय कोष राख्ने घोषणा पत्रमा उल्लेख छ । महासंघको विधान मुलुकको संरचना अनुसार समयानुकुल संसोधन गर्न केन्द्र समक्ष माग गरिएको छ । साथै, पूर्वका नारदमनी थुलुंगले पहिलो पटक रेडियो सञ्चालन गरेको बारेमा सत्यतथ्य खोजी गरी सुनसरी शाखाको अगुवाइमा उनको बारेमा कृति प्रशासन, प्रशारण गरिने उल्लेख छ ।


                                    १७ जना पत्रकार पुरस्कृत

कार्यक्रममा सुनसरीमा रहेर सक्रिय पत्रकारीता गर्ने १७ जना पत्रकारलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा १५ हजार १ रुपैया राशिको तारानिधी धनमाया स्मृती पुरस्कारबाट पत्रकार महासँघ सुनसरीका पुर्व अध्यक्ष कृष्ण अधिकारी छन् । त्यस्तै जनही रु २५ हजार राशिको इटहरी उपमहानगरपालिकाले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट एभिन्युज टेलिभिजनका पुर्वाञ्चल ब्युरो प्रमुख सचिन पोख्रेल र सुचना र संचार साप्ताहिककी सम्पादक शुभद्रा प्याकुरेल पुरस्कृत भएकी छिन् । रु ५ हजार राशिको वेदनिधि कृषि पत्रकारीता पुरस्कारबाट पत्रकार आशिश विक पुरस्कृत भए । ११ हजार १ सय ११ राशिको चन्द्र बहादुर, लक्ष्मिदेवी पत्रकारीता पुरस्कारबाट विविसी नेपाली सेवामा कार्यरत धरानकी पत्रकार सीता मादेम्वा पुरस्कृत भएकी छिन् । ५ हजार राशिको तेजनारायण स्मृती पत्रकारीता पुरस्कारबाट माहाप्रतिभा साप्ताहिककी अनिता रसाइली पुरस्कृत भएकी छिन् । १० हजार राशिको डम्बर बहादुर स्मृति पत्रकारीता पुरस्कारबाट इनरुवाका पत्रकार अजित झा पुरस्कृत भएका छन् ।
त्यस्तै इटहरी स्थित सीटि हेल्थ क्लबले स्थापना गरेको १० हजार रा्िशको स्वास्थ्य पत्रकारीता पुरस्कारबाट इटहरी एफएम तथा मकालु टिभमा कार्यरत पत्रकार उमेश घिमिरे, जनही १२ हजार ५ सय राशिको लोकमान विष्णुमाया प्रधान पत्रकारीता पुरस्कारबाट धरानका पत्रकार शन्तोष काफ्ले र इनरुवाका पत्रकार फुलचन मेहेता पुरस्कृत भएका छन् । १० हजार राशिको इनरुवा नगरपालिकाको पत्रकारीता पुरस्कारबाट ताविन अन्सारी र लुकमान अन्सारी पुरस्कृत भएका छन् । १० हजार राशिको धरान उपमहानगरापालिकाको पत्रकारीता पुरस्कारबाट गोविन्द बस्नेत र ममता चौधरी पुरस्कृत भएका छन् । जिविस सुनसरीले प्रदान गर्ने १५ हजार राशिको पुरस्कारबाट धरानका पत्रकार जनकश्रृषि राई, इनरुवाका पत्रकार राजन निरौला र इटहरीका पत्रकार अमर खड्का पुरस्कृत भएका छन् ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे