ब्याडमिन्टन खेलाडीको विदाई


धरान । भारतमा आयोजना हुने १२ औं दक्षिण एसियाली खेलकुद(साग) मा भाग लिने ब्याडमिन्टन खेलाडीले व्यक्तिगत विधामा पदक जित्ने पहिलो खेलाडीले नगद पुरस्कार पाउने भएका छन् । सुनसरी जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको खेलाडी तथा प्रशिक्षकहरुको विदाई कार्यक्रममा संघका अध्यक्ष एवं केन्द्रीय सदस्य चन्द्रशेखर लामाले पुरस्कारको घोषणा गरेका हुन् ।
उनले सागमा व्यक्तिगत स्पर्धातर्फ सबैभन्दा पहिला पदक जित्ने एक खेलाडीलाई नगद ५१ हजार प्रदान गर्ने घोषणा गरेका हुन् । ‘खेलाडीहरुको मनोवल उच्च बनाउन जसले व्यक्तिगत विधामा पहिलो पदक जित्छ, ती खेलाडीलाई नगद ५१ ह्जार पुरस्कार दिने प्रतिवद्धता जनाउदछु’– पुर्व क्षेत्रीय बहुउद्देश्यीय भवन(कवर्ड हल)मा उनले भने । नेपालले ब्याडमिन्टनमा नवौं सागदेखि सहभागीता जनाउदै आएको हो । त्यसयता नेपालले सागमा महिला र पुरुष टिम स्पर्धामा निरन्तर काँस्य पदक जित्दै आएको छ भने दशौं सागमा सुमिना श्रेष्ठले व्यक्तिगत विधामा कास्य जितेकी थिइन् । १२ औं साग माघ २३ गतदेखि फागुन ४ सम्म भारतको सिलोङ र मेघालयमा हुदैछ । मंगलबार विदाई भएपनि ब्याडमिन्टनका प्रशिक्षक र खेलाडी बुधबार भारततर्फ प्रस्थान गर्नेछन् ।
सागको तयारीको लागि ब्याडमिन्टनको बन्द प्रतिक्षण गत पुष २१ ग्तेदेखि धरानमा गरिएको थियो । प्रशिक्षणको लागि तीन प्रशिक्षकसहित १४ खेलाडी धरान आएका थिए । महिना दिनको प्रशिक्षण र स्थानीयबासीबाट पाएको निरन्तरको हौसलाले उच्च मनोवलका साथ भारत जान लागेको प्रशिक्षक मेघराज कठायतले बताए । ‘प्रशिक्षण धेरै राम्रो भएको छ, धरानबासी र संघसंस्थाहरुले पनि खेलाडीहरुलाई निरन्तर हौसला बढाइदिने काम गर्नुभएको छ । यो पटक फाइनल पुग्ने लक्ष्यसहित सागमा जादैछौं’–उनले भने । उनका अनुसार यसपाली व्यक्तिगत स्पर्धामा पनि खेलाडीले पदक जित्ने आशा छ ।
सागमा भाग लिने पुरुष खेलाडीमा दिपेश धामी, विकास श्रेष्ठ, रञ्जित तामाङ्ग, नविन श्रेष्ठ, सुदिप सेढाई, विष्णु कटुवाल र साजनकृष्ण ताम्राकार छन् भने महिलातर्फ सरादेवी तामाङ्ग, नङ्सलदेवी तामाङ्ग, अमिता गिरी, शिक्षा श्रेष्ठ, जेसिका गुरुङ्ग, मेघा चन्द र अनुमाया राई छन् । यस्तै, मुख्य प्रशिक्षकमा रजनीमौया श्रेष्ठ, प्रशिक्षकद्धयमा जयन्त श्रेष्ठ र मेघराज कठायत छन् । सोही विदाई कार्यक्रममा खेलाडी तथा प्रशिक्षकहरुलाई एक थान टि सर्ट र किट ब्याग पनि वितरण गरिएको थियो । साथै, मेहर्स कलेक्सनका प्रबन्ध निर्देशक मेहरलाल श्रेष्ठले भोजपुरमा ब्याडमिन्टन कवर्ड हल निर्माणको लागि सहयोगार्थ नगद १० हजार ५ सय राष्ट्रिय खेलाडी बिक्रम श्रेष्ठलाई प्रदान गरेका थिए ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे