पिण्डेश्वर मन्दिरमा दलित बटुकसहित सामुहिक ब्रतबन्ध

धरान । दलित समुदायका चार जना बटुकलाईसमेत सहभागी गराएर बिहिबार धरानमा समावेशी सामुहिक ब्रतबन्ध गरिएको छ । नेपाली समाजमा व्याप्त जातीय भेदवात एवं छुवाछुत प्रथालाई तोड्न धरान १४ स्थित पिण्डेश्वर मन्दिर परिसरमा दलित वटुकलाई सहभागी गराउदै ब्रतबन्ध गराइएको हो ।
दलित बटुकलाई समावेश गराएर सामुहिक ब्रतबन्ध गराइएको पुर्वमै यो पहिलो हो । तर, करिब ७० बर्षअघि नै स्वर्गीय पण्डित छविलाल पोख्रेलले धरानका दलित समुदायलाई शिक्षा दिने, घरमा पुजापाठ र ब्रतबन्ध गरेर समाज सुधारको अभियान थालिसकेका थिए । ब्राह्मण सेवा समाज धरान नगर समितिले आयोजना सामुहिक ब्रतबन्धमा ४ जना दलित बटुकसँगै ब्राह्मण, क्षेत्री, नेवारलगायत समुदायका कुल ४१ जना बटुकहरु सहभागी थिए । उनीहरुलाई पण्डित हरिप्रसाद पौडेलले हिन्दु धार्मिक विधि अनुसार ब्रतबन्ध गराएका थिए । दलित समुदायका प्रियन विश्वकर्मा, पिन्चु विश्वकर्मा, सन्जोग विश्वकर्मा र सौगात विश्वकर्माको पनि सामुहिक ब्रतबन्ध गरिएको थियो ।
ब्राह्मणलगायत उच्च जाति भनिएका बटुकसँगै दलित बटुकको पनि ब्रतबन्ध गरिने चर्चाले सबैले सामुहिक ब्रतबन्धलाई उच्च चासो लिएका थिए । ब्राह्मण समाजले स्थानीय पत्रपत्रिकामा सामुहिक ब्रतबन्ध गर्ने भन्दै सम्पर्कको लागि सुचना प्रकाशन गरेपछि दलित समुदायका ४ जना बुटकले पनि नाम दर्ताको लागि पुगेका थिए । यसबिषयमा दुई दिनसम्म ब्राह्मण समाज र दलित उत्थान समन्वय समितिबीच निरन्तर छलफल र बहस भएको थियो । ब्राह्मण समाजले लामो अन्तरिक छलफल पछि बुधबार मात्रै दलित बटुकलाई पनि सामुहिक ब्रतबन्धमा समावेश गराउने निर्णय गरेको थियो ।
दलित समुदायले ब्रह्मण समाजको निर्णय ऐतिहासिक भएपनि आंशिकमात्रै उपलब्धीकोरुपमा लिएको प्रतिक्रिया दिएको छ । ‘धार्मिक, साँस्कृतिक, सामािजकरुपमा विभेदमा रहेको समुदाय आज धार्मिकरुपमा अन्तरघुलित भयौं, यो आंशिकरुपमा भएपनि सकरात्मकरुपमा लिएका छौं’–दलित उत्थान समन्वय समितिका अध्यक्ष दिलबहादुर रामदानले भने–‘हामी समाजिक, सँस्कृतिरुपमा पनि सबैसँग अन्तरघुलित हुनचाहन्छौं ।’ धार्मिक अन्तरघुलन शहरबाट शुरु भएपनि ठुलो समस्या गाउँमा रहेकोले अभियान चलाएर संकिर्णतालाई तोड्ने उनको भनाई छ । छुवाभुद तथा भेदभाव अन्त्यलाई नीतिगतरुपमा स्वगत गरिएपनि व्यावहारमा भने लागु गराउन निक्कै कठिन भइरहेको उनले बताए ।
ब्रह्मण सेवा समाजका केन्द्रीय उपाध्यक्ष डिल्लीराम उप्रेतीले दलित बटुकलाई पनि सामुहिक ब्रतबन्धमा सहभागी गराउनु ज्यादै सकरात्मक भएको र अन्यत्र पनि अभियानकैरुपमा अघि बढाउनुपर्ने बताए । ‘यो त ज्यादै खुशीको कुरा हो, हामी सबै एउटै हौं । कामको हिसाबले मात्रै छुटिएको हो, जातले होइन । भेदभाव पनि जातले भएको थिएन, गुण र कर्मले थियो । तर, यसको अन्त्य हुनैपर्छ’–उनले भने । सामुहिक ब्रतबन्धका पण्डित हरिप्रसाद उप्रेतीले पनि समयअनुसार परम्परा, रितिथितीलाई बदल्दै अघि बढ्नुपर्ने बताए । संविधानले नै भेदभाव र छुवाछुतलाई अन्त्य गरिसकेकोले संकीर्ण सोच पालेर कसैले पनि बस्न नहुने उनको भनाई थियो । वि.स.१९९० सालको मुलुकी ऐनलाई संशोधन गरेर २०२० सालमा नै जातको आधारमा भेदभाव वा छुवाछुत गर्न नहुने कानुनी व्यवस्था भएपनि अझैसम्म व्यावहारमा लागु हुन सकेको छैन । जातकै आधारमा दलित भनिइएका समुदायलाई घरभित्र पस्न नदिने, छोएको नखाने, मठमन्दिरमा प्रवेश नदिइने जस्ता अमानवीय घटनाहरु बेला बेला सार्वजनिक हुने गरेको छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे