६ महिनाभित्र वडा ११ र १७ मा पानी वितरण गरिने

धरान । भारतको अघोषित नाकाबन्दीको कारण इन्धन अभावले एडिबि सहयोगमा सञ्चालन भइरहेको धरानको वृहत खानेपानी आयोजना तीन महिना ढिलाई हुने अनुमान गरिए पनि अबको ६ महिनापछि धरान ११ र १७ वडामा भने खानेपानी वितरण हुने भएको छ ।
आयोजना कार्यान्वयन इकाई कार्यालयका अनुसार यी दुई वडामा ६ महिनाभित्र पानी विरतण गर्ने लक्ष्यका साथ तीब्र गतिमा काम अघि बढीरहेको छ । ‘रेल्वे सिस्टमको रिजर्ब वेयर निर्माण भइरहेको छ, योसँगै पाइपलाइन विस्तार पनि हुदैछ । अबको ४ महिनामा वेयर तयार हुन्छ । त्यसको तीन सातासम्म परीक्षण वितरण हुन्छ र बोर्डले शुल्क लिएर वितरण गर्न थाल्छांै’–आयोजनाका व्यावस्थापक एवं इञ्जिनियर राजु पोख्रेलले भने । खानेपानी संस्थानले पानी वितरण गर्न नसकेको यी वडालाई प्राथमिकता दिएर वितरण शुरु गरेपछि आयोजनाप्रति जनविश्वास बढ्ने अपेक्षा सरोकारवालाहरुको छ । आयोजनाप्रति शुरुदेखि नै संस्थान, केही साना राजनीतिक दल र जनसरोकार मञ्च नामको संस्थाले विरोध गर्दै आएको थियो ।
रेल्वे सिस्टमको लागि धरान ११ स्थित विष्णुचोकमा ५ लाख लिटर क्षमताको रिजर्ब वेयर निर्माण भइरहेको छ । हाल ड्रिलिङस्थल कुम्भीआहालबाट त्यहाँसम्म पानी ल्याउन र सर्वसाधारणको घरको लागि पनि पाइप विछ्याउने काम तीब्र गतिमा भइरहेको छ । परामर्शदाता कम्पनी बिडिएका निर्देशक नेपालका अनुसार गत जनवरी २७ यता तीन सातामा १२ किलोमिटर पाइपलाइन विछ्याउने काम सकिएको छ भने वडा ११ को ९० प्रतिशत घरमा पनि वितरण प्रणाली पुगिसकेको छ । वडा ११ र १७ मा करिब ५ हजार घरधुरी छन् । यस्तै, वडा ११, १७, १५, १४ र ८ गरी ५ वटा वडामा पनि पाइपलाइन विछ्याउने काम भइरहेको छ । आयोजनाले कुल ३ सय ८० किलोमिटर पाइप विछ्याउनुपर्ने हुन्छ । प्रतिमहिना उसले ३० किलोमिटर विछ्याउने लक्ष्य छ ।
ड्रिलिङस्थल कुम्भीआहालसँगै कुमारखत सामुदायिक वनबाट पाइपलाइन बिछ्याउन थालिएको छ । रेल्वे सिस्टमबाहेक धरान १५, ३ र १४ वडाको केही भागलाई लक्षित गरेर पिण्डेश्वर सिस्टमको लागि पनि रिजर्ब वेयर निर्माण जारी छ । पिण्डेश्वर विद्यापिठ हाताभित्र ९ लाख लिटरको रिजर्ब वेयर हुनेछ । यस्तै, ७ लाख लिटर क्षमताको फुस्रे सिस्टमको रिजर्ब वेयर पनि निर्माण शुरु भएको छ भने पञ्चकन्यामा पनि ६ लाख लिटरको वेयर बन्नेछ । संस्थान मातहतमा ३० लाख लिटर क्षमताको रिजर्ब वेयर छ । कुल ७ स्थानमा ड्रिलिङ गरेर आयोजनाले भुमिगत पानी सप्लाई गर्नेछ । ती मध्ये कुम्भी आहालमा २ वटा ड्रिलिङ सफल भइसकेको छ भने कुमारखत वन क्षेत्रमा एउटा ड्रिलिङ सफल भइसकेको छ भने २ वटा जारी छ ।
आयोजनाका परामर्शदाता बिडिएका निर्देशक अनिल नेपालका अनुसार सरकारबाट समयमै बजेट निकासा गरिदिए तोकिएको समयमा नै आयोजना सम्पन्न हुनेछ । तर, निर्माण कम्पनी तियाञ्जीन तुदी जेभीले तीन महिनाअघि नै विल पेश गरेको र त्यसमध्ये नेपाल सरकारबाट भुक्तान गर्नुपर्ने बजेट निकासा हालसम्म पनि नभएकोले भने समस्या भएको छ । ‘सरकारले बजेट खर्च भएन भन्छ, तर तीन महिनादेखि नै आयोजनाको रकम सरकारले निकासा गरेको छैन’–निर्देशक नेपालले भने–‘आयोजनालाई अहिले एकदमै समस्या भइरहेको छ, ढिलाई हुनगयो भने यही एउटा कारण हुनसक्ने देखेको छुँ ।’
उनका अनुसार नेपाल सरकारले आयोजनाको कुल खर्चमध्ये २४ प्रतिशत बजेट उपलब्ध गराउनुपर्ने हो । निर्माण कम्पनीले पेश गरेको करिब २० करोडमध्ये सरकारले ५ करोड जति रकम निकासा गर्नुपर्छ । तर, तीन महिनादेखि सरकारले आयोजनालाई रकम निकासा गरिदिएकै छैन । सम्झौताअनुसार २८ दिनभित्र निर्माण कम्पनीलाई भुक्तान नगरे थप विलम्प शुल्क तिर्नुपर्छ । तर, निर्माण कम्पनीले भने सदासयता देखाउदै अहिलेसम्म दाबी गरेको छैन । ‘सरकारले प्राथमिकतामा परेको ठुला आयोजनाहरुलाई निकासा रोक्नु हुदैन, समयमै निकासा गरिदियो भने यो प्रोजेक्ट तोकिएकै समयमा पुरा हुन्छ’–नेपालले भने ।
एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा सञ्चालनमा रहेको यो आयोजना सन् २०१७ जुलाईसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ । भ्याटसहित कुल एक अर्ब ४८ करोड लागत रहेको आयोजनालाई एडिबिले २६ प्रतिशत र नेपाल सरकारले २४ प्रतिशत अनुदान उपलब्ध गराउनेछ । यस्तै, नगर विकास कोषमार्फत ३५ प्रतिशत ऋण उपलब्ध हुनेछ भने १५ प्रतिशत बजेट धरान उपमहानगरपालिकाको सहभागीता हुने भनिएको छ । व्यावस्थापक पोख्रेलले भने निकासा ढिलाई हुदा समस्या भइरहे पनि सरकारकोतर्पmबाट चाडै रकम निकासा गर्ने आश्वासन पाएको पनि खुलाए ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे