टुरको मिति फेरिदा क्याम्पसका प्रमुखसहित ७ जना थुनिए
धरान । विभागीय प्रमुख र क्याम्पस प्रशासनले ‘फिल्ड भिजिट(टुर)’को समय तालिका हेरफेर गरेको भन्दै धरान ८ स्थित पुर्वाञ्चल इजिनियरीङ क्याम्पसका इलेक्ट्रोनिक्स तेस्रो बर्षका विद्यार्थीहरुले क्याम्पस प्रमुखसहित ७ जना शिक्षक एवं कर्मचारीहरुलाई थुनेका छन् ।
क्याम्पस प्रमुखको कार्यकक्षमा भएको तालाबन्दीले प्रमुख जितेन्द्र चौधरी, सहायक क्याम्पस प्रमुख डाँकबहादुर खड्का, शैक्षिक प्रमख रोहित दंगाल, कम्प्युटर विभागका उपप्रमुख शिखर भटराई, एग्रीकल्चर विभागका उपप्रमुख जीतेन्द्र शहनी र इलेक्ट्रोनिक्स विभागका शिक्षक तन्त्रनाथ झा थुनिएका थिए । क्याम्पस प्रशासन प्रवेश गर्ने मुख्य ढोका र प्रमुखको कार्यकक्षमा दिउँसो करिब एक बजे तालाबन्दी गरेका विद्यार्थीहरुले राती साढे ७ बजे मात्रै खोलिदिएका थिए । विद्यार्थीहरुले पहिल्येकै तालिका अनुसार फिल्ड भिजिटमा लैजानुपर्ने माग गर्दै विभागीय प्रमुखको कुर्सी जलाएका छन् भने क्याम्पसमा तोडफोडसमेत गरे । तालाबन्दी लम्बिदै जादा राती क्याम्पसमा प्रहरी पुगेको थियो र वार्ताको पहल भएपछि पुरानै तालिका अनुसार विद्यार्थी टुरमा जाने सहमतिमा मात्रै ताला खुलेको थियो ।

विद्यार्थीहरुका अनुसार इन्स्ट्रामेन्टेशन २ को फिल्ड भिजिट पोखरा जाने तय भएको थियो । यो बिषयको हालसम्म शिक्षक दरबन्दी नभएकोले पढाई नै नभएको उनीहरुको आरोप छ । फिल्ड भिजिटको १२ अंक हुने भएकोले तालिका फेर्न नहुने उनीहरुको अडान छ । शैक्षिक प्रमुख रोहित दंगालले क्याम्पसमा विद्यार्थीहरुको टुर(फिल्ड भिजिट)ले बर्षेनी समस्या निम्तिरहेको बताए । यो बर्ष मधेश आन्दोलन र नाकाबन्दीले गर्दा समयमै पठाउन नसकेकोले अहिले समस्या भएको उनले बताए । ‘यो क्याम्पसमा टुरको समस्या छ, एउटा हामी अघि जान पाउनुपर्छ भन्ने । अर्को गु्रप फेरि किन हामीभन्दा अघि गयो भन्ने भएर यो स्थिति भएको हो’–उनले भने–‘व्यावस्थापनको बैठक बसेर समस्या समाधान गरौं भन्यौं, विद्यार्थीहरु मानेनन् ।’ उनका अनुसार सिभिलको तालिका अघि सार्दा इलेक्ट्रोनिक्सका विभागीय प्रमुखले आफ्नो विद्यार्थीहरुलाई मनाउछु भनेअनुसार मनाउन नसक्दा समस्या भएको हो ।
क्याम्पसको मेकानिलक चौथो बर्षका विद्यार्थीहरु आइतबार(फागुन १६) टुर गइसकेका छन् भने कम्प्युटर तेस्रो बर्षका विद्यार्थी फागुन २१ गते जाने तालिका छ । शैक्षिक प्रमुख दंगालका अनुसार अहिले फाइनल परीक्षाको फारम भर्ने समय चलिरहेकोले तालाबन्दी जारी रहे असर पर्नेछ । चैत १६ गतेदेखि फाइनल परीक्षाको मिति तय भएको छ भने फारम भर्ने मिति फागुन २१ गतेसम्म छ ।
Comments
Post a Comment