प्रकाश बुढाथोकीलाई पटनालीमा सम्मान(फोटोफिचर)
धरान । नेपाललाई २३ बर्षपछि साग फुटबलमा स्वर्ण पदक दिलाउन महत्वपुर्ण भुमिका खेलेका राष्ट्रिय खेलाडी प्रकाश बुढाथोकीलाई आइतबार उनको गाउँ धरान २७ स्थित पटनालीमा भव्य सम्मान गरिएको छ । आइतबार घर पुगेका प्रकाशलाई वडा नागरिक मञ्च, विष्णु स्पोर्टिङ क्लब, ज्वालामुखी माविसँगै गाउलेहरुले संयुक्तरुपमा अबिर, फुलमाला लगाएर सम्मानसहित गाउँ परिक्रमा गराए ।विष्णु स्पोर्टिङले उनलाई नगद १० हजारसमेत प्रदान गरेको थियो । उनको आमा बुबा, दिदी बहिनीलाई पनि गाउँलेबाट उतिकै सम्मान गरिएको थियो । गाउँ परिक्रमा पनि उनलाई सम्मान पत्र पनि प्रदान गरिएको थियो । अरु बेला उनी तत्कालीन विष्णुपादुका गाविसको पटनालीस्थित घरमा आउनु जानु समान्य हुन्थ्यो । उनको परिचय एक फुटबल खेलाडीकोरुपमा मात्रै थियो । केही दिन यता भने अभिभावकसँगै पुरै गाउँलाई उनको आगमनको तीब्र प्रतिक्षा थियो । प्रकाश घर आउने खबरले आइतबार गाउँमा रौनक छायो ।
बिहानैदेखि गाउँलेहरु उनको स्वागतमा ब्यानर, फुलमाया र अबिर बोकेर तम्तयार थिए । घरको आँगन टेक्नै नपाई बुढाथोकीलाई छरछिमेक र गाउँलेहरुले भव्य स्वागत गरे । ‘आफ्नै गाउँमा यस्तो स्वागत, सम्मान पाउदा ज्यादै खुशी छुँ । यही ठाउँबाट मैले फुटबल खेल्न थालेको हो’–घर नजिकैको स्कुलको मैदानतर्फ इंगित गर्दै बुढाथोकीले भने । उनको घर धरान बजारबाट करिब ४ किलोमिटर पश्चिम वडा नम्बर २७ मा पर्छ । विष्णुपादुका गाविस गत बर्ष समायोजन भएपछि पटनाली पनि धरान उपमहानगर भएको हो ।१२ औं दक्षिण एसियाली खेलकुद(साग) फुटबलको फाइनलमा दर्शनीय फ्रिकिक गोल गर्नुका साथै बुढाथोकीको पासमा नवयुगले दोस्रो गोल गर्दै नेपाललाई २३ बर्ष यता स्वर्ण दिलाएपछि प्रकाशसँगै यो गाउँ चर्चाको शिखरमा छ । कुनै समय फुटबल मात्रै खेलेको देखेर छोरा बिग्रिने भो भनेर चिन्ता लिने आमा बुबालाई पनि यतिबेला गौरव महसुस भइरहेको छ । नेपाली सेनाबाट अवकाश पाइसकेका कमल र सुशिला बुढाथोकीका एक्लो छोरा हुन् प्रकाश । साग पछि छोराको कारण दुवैलाई बधाईको ओइरो छ । ‘खुशीको सिमा नै छैन । बधाई आको आएकै छ । चिनजान नभए पनि तपाईको छोराले देशकै गौरव बढायो भन्दै बधाई दिइरहनुभएको छ’–खुशी हुदै आमा सुशिलाले भनिन् ।
मोजा(जुराफ)को फुटबल खेल्थे प्रकाश
प्रकाशको घरको आगन र उनी पढ्ने ज्वालामुखी माविको मैदान सँगै थियो । त्यही मैदानमा मोजाको वल खेल्दै प्रकाश हुर्किएका थिए । कक्षा ८ सम्म ज्वालामुखीमा पढेका प्रकाशको पढाईमा भन्दा ध्यान फुटबल खेल्नुमा जान्थ्यो । विद्यालयका प्रअ एवं प्रकाशका मामा भरत अधिकारीका अनुसार त्यतिबेला प्रकाश मोजाको वल बनाएर खेल्ने गर्थे । ‘थोत्रो मोजा देख्नै नहुने, भाञ्जा बटुल्न थालिहान्थ्यो’–अधिकारीले विगतको स्मरण गर्दै भने–‘क्लासमा केही सर नआउदा मोजाको वल झिकेर खेल्न थालिहाल्ने । एक पटक त अति नै भएर झापु नै हानिदिए ।’बुबा कमलका अनुसार करिब ४ बर्षको उमेरदेखि नै प्रकाश फुटबल खेलप्रति असाध्यै लगाव थियो । छोराले जतिबेला पनि गोल मात्रै खेलेको देखर जिन्दगी यतिकै बिताउने भो भन्दै उनी चिन्तित बन्थे । तर, जति गर्दा पनि फुटबलबाट टाढिन नसकेपछि उनले छोरालाई फ्रि छोडिदिए । ‘स्कुलको मैदान आगनमै थियो, जतिबेला पनि गोल मात्रै खेलिबस्थ्यो’–बुबा कमलले भने–‘कैले कही त राती ३, ४ बजे नै उठेर पनि खेल्न थाल्थ्यो । पछि केही नलागेर फ्रि छोडिदिए ।’
घरै थर्किने गरी उफ्रियौ

साग फुटबलको फाइनल खेल हुदै गर्दा प्रकाशको घरमा छरछिमेक सबै जम्मा भएर हेर्दै थिए । भारतले एक गोल गरेपछि सन्नटा छायो । नेपालको फ्रिकिकको मौका पाउदा प्रकाशको प्रहार गोलमा परिणत हुनुअघि कमल र सुशिला दुवैको मुटु ढक्क रोकियो । तर, जब भारतको गोलकिपरलेसमेत भेउ नै नपाउने गरी जाली चुम्यो, घर नै थर्किने गरी सबै उफ्रिए । ‘त्यो फ्रि किक त गजबै लाग्यो । हामी कोठामा थुप्रै जना बसेर हेरिरहेका थियौं । गोल भएपछि त घरै थर्किने गरी उफ्रियौ’–प्रकाशले फ्रिकिकबाट गोल गरेको क्षण सम्झदै कमलले भने । त्यो गोल भएपनि बराबरी मात्रै भएकोले नेपालले जित्छ कि जित्दैन भन्ने चिन्ता थियो । जब प्रकाशकै पासमा नवयुगले गोल गरे, त्यसपछि मात्रै नेपालले जित्छ भनेर आशा पलाएको उनले बताए ।
सानैमा वेष्ट प्लेयर
प्रकाशले फुटबलमा सानै उमेरदेखि सम्भावना देखाएका थिए । उनको खेल सानैमा पनि राम्रो थियो । ज्वालामुखीका प्रअ अधिकारीका अनुसार धरानका इन्द्र मानन्धरको सहयोगमा प्राविस्तरीय धीरेन्द्रनाथ तरफदार स्मृति फुटबल आयोजना हुन्थ्यो । प्रकाशलाई खेलप्रति रुचि जगाइदिन त्यो प्रतियोगिताको महत्वपुर्ण हात छ । प्रकाशले कक्षा ३ देखि ५ सम्म पढ्दा खेलेको सबै प्रतियोगिता जितेका थिए भने प्रत्येक खेलका म्यान अफ दि म्याच र उत्कृष्ट खेलाडीको पुरस्कार पनि पाउथे ।सानैदेखि राम्रो खेल भएर उनी जिल्लास्तरको प्रतियोगिताहरुमा खेल्ने मौका पाए । ए डिभिजन क्लब फ्रेण्डस क्लबमा ट्रायल दिएर ०६७ मा लिग खेल्दा उनको उमेर मात्र १७ बर्षको थियो । उनी अहिले थ्री स्टार क्लबमा आवद्ध छन् । ‘म एक दिन फुटबलमा राम्रो खेलाडीकोरुपमा चिनिन चाहन्थे, अहिले सबैबाट बधाई पाइरहेको छु । खुशी छु । अझै फुटबलमा धेरै गर्नु बाकी छ’–२२ बर्षे प्रकाशले भने ।







Comments
Post a Comment