इराकमा नेपाली युवती अलपत्र

धरान । श्रीमान्सँग सम्बन्ध बिच्छेद गरेपछि हसुनपुर ४, भोजपुरकी १९ बर्षीय मनिषा राई भविष्य सुनिश्चत गर्न कतार वा दुबईमध्ये कुनै एक देशमा जान चाहन्थिन् । वैदेशिक रोजगार कम्पनीको चक्कर लगाउदै गर्दा उनी मानव तस्करी गर्ने गिरोहको फन्दामा परिन् ।
काठमाण्डौंको मिराकल म्यानपावर कम्पनीका एजेण्ट बमबहादुर गुरुङले मनिषालाई सित्तैमा विदेश पठाइदिने प्रस्ताव गरे । तर मनिषाले चाहेको देश दुवई वा कतार होइन, कुर्दिस्तान । शुरुमा त मनिषाले इन्कार गरिन् । सबै खर्च एजेण्ट आफैले व्यहोरिदिने, पासपोर्ट पनि बनाईदिने र २ बर्षमा ११ लाख कमाई हुने प्रलोभन देखाएपछि मनिषा राजी भइन् । गत असोज १३ गते कुर्दिस्तान भनेर दिल्ली उडेकी मनिषा अहिले इराकमा अलपत्र परेकी छिन् । दिल्लीबाट पुनः अर्को देश उड्ने बेला अभिभावकसँग सम्पर्कमा आएकी मनिषाको त्यसपछि भने कुनै खबर आएन । ‘छोरी दिल्लीबाट उडेपछि कहाँ गई, कुन अवस्थामा छ, केही पत्तो थिइन । एक पटक फोन आयो र ममी भनेपछि काटियो’–आमा ताराले भनिन्–‘फेरि दशैंको टिकाको दिन फोन आयो, मालिकले बेस्कन कुटेछ । प्लीज ममी नेपाल झिकाउनुस् । मलाई ५ लाखमा बेचेको हो भन्दैछ, भनि ।’
भर्खर पाँच दिनअघि मात्रै छोरी इराक भन्ने देशमा अलपत्र परिन् भन्ने खबरले अहिले आमा तारा र बुबा जयकुमार चिन्तित छन् । छोरीको सकुशल उद्धारको पहल गरिदिन भन्दै उनीहरु अधिकारवादी संस्थाहरुलाई गुहार्न धरान आइपुगेका छन् । आमा ताराका अनुसार एयरपोर्टमा मनिषालाई लिन आउने एजेण्टको मान्छे प्रेमिका तामाङले ५ लाख मागेकी थिइन् । यातना धेरै भएपछि पुष १७ गते काम गर्ने घरबाट भागेको र साथीमा छु भन्दै आमालाई फोन गरिन् । त्यतिबेलासम्म पनि मनिषाले आफु कुन देशमा छु भनेर आमा बुबालाई भनेकी थिइनन् ।
‘छोरीले काम गर्ने घरबाट भागे भनेपछि एजेण्टलाई भेट्न काठमाण्डौ पुग्यौं, उसले मनिषा सहीसलामत छ । घर फर्काउने हो भने माघ १६ गतेसम्म ५ लाख तयार गर्नु भनेको थियो । हामीले त्यत्रो पैसा कहाँबाट ल्याउनु ?’–आमा ताराले भनि–‘एजेण्टले त ५ घण्टा मात्रै डिउटी हो, आरामको काम छ भन्थ्यो । तर, बिहान ७ बजेदेखि राती १ बजेसम्म काम गरेको गर्यै गर्नुपर्ने रैछ, पानीमा १ पिस माछा मात्रै पकाएर दिन्थ्यो रे ।’ उनका अनुसार मनिषा सिन्धुपाल्चोक घर भएकी युवतीको साथमा छन् । ती युवतीको पनि काम नभएकोले धेरै समस्या भइरहेको मनिषाले आमासँग बताएकी थिइन् । मनिषालाई एजेण्ट गुरुङले दिल्लीसम्म पुर्याएका थिए भने त्यहाँबाट रोशन नाम गरेका एजेन्टले दुबईका सुवास भन्ने व्यक्तिकोमा पठाइदिएका थिए । दुबईका रोशनले प्रेमिकासम्म पुर्याईदिएका थिए ।
छोरी इराकमा अलपत्र परेपछि तारा र जयकुमारले धरानमा भएका आफन्तको सहयोगमा सामुदायिक प्रहरी सेवा केन्द्रको सम्पर्कमा आए । त्यसपछि उनीहरुले छोरी सकुशल फर्काइदिन र एजेण्टलाई कार्वाही गराउन पहल गरिदिन भन्दै पौरखी नेपालको जिल्ला शाखालाई निवेदन हालेका छन् । प्रहरीमा पुगेको थाह पाएपछि एजेण्ट गुरुङले प्रहरीमा जोहरी नदिन आग्रह गर्दै विना पैसा छोरी फर्काइदिने आश्वासन दिएको छ । ‘पुलिस केस नगर्नु, मनिषा फकाईदिन्छु भन्दैछ । तर, हामीलाई विश्वासै छैन । हामीलाई सम्पत्ति केही चाहिएन, छोरी सकुसल ल्याइदेउ भनेको छु’–बुबा जयकुमारले भने । एजेण्ट गुरुङको मोवाइल नम्बरमा सम्पर्क गर्दा भने उनी सम्पर्कमा आउन चाहेनन् ।
....................

कुर्दिस्तान भन्दै युवती इराक बेचिदै

केही बर्षअघिसम्म नेपाली युवतीहरुलाई खाडी मुलुक लैजान सक्रिय गिरोहहरु पछिल्लो समय कुर्दिस्तान भन्दै द्धन्दग्रस्त मुलुक इराक लैजान थालेका छन् । दलालहरु गाउँ गाउँमा पुगेर विपन्न अवस्थाका युवतीहरुलाई धेरै तलबको प्रलोभन देखाउदै अवैधतरिकाले लैजाने गरेको पाइएको छ ।
वैदेशिक रोजगारमा गएका महिलासम्बन्धी कार्यरत पौरखी नेपालकी सुनसरी शाखा अध्यक्ष चेतना श्रेङका अनुसार यो बर्ष मात्रै १० जना युवतीको घटना आफ्नो संस्थामा आइपुगेको छ । ती मध्ये कुर्दिस्तान जान ठिक्क परेका धरानको सुकुम्बासी वस्तीका ५ जना युवतीहरुको पासपोर्ट दलालबाट फिर्ता गराउन संस्था सफल भएको थियो । यस्तै, एजेण्ट पक्राउ गरेर इराकमा दुःख पाइरहेका धरान १३, चतरा र चक्रघटीको गरी ३ जना युवतीलाई घर फकाइएको उनले बतान् । ‘पहिला साउदी, कुवेत लैजाने भन्दै दलालहरु युवतीहरु खोज्थे, अहिले त्यसो भन्न छाडेका छन् । किर्गिस्तान सुरक्षित छ, इराकमा पनि सजिलै छिर्न सकिन्छ र कमाई राम्रो हुन्छ भन्दै लैजाने गरेको छ’–पौरखीकी श्रेङले भनिन ।
उनका अनुसार दलालहरुले गाउँका र शहरबजारकै पनि निम्न आर्थिक अवस्था भएका युवतीहरुलाई मासिक तलब डेढ लाख हुन्छ भन्दै प्रलोभनमा पर्ने गरेको छ । दलालले नै पासपोर्ट बनाईदिने र खर्च पनि व्यहोरिदिने गर्छन् । दिल्लीमा भिषा हालेर सेटिङ मिलाएर दलालहरुले लैजाने गरेको श्रेङको भनाई छ । ‘यस्तो घटनामा राज्य संयन्त्र दह्रो नभईदिदा कारबाही फिलतो हुन्छ । प्रहरीमा उजुरी दिन गयो भने प्रहरी नै अन्यौलमा पर्छन्’–उनले भनिन् ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे