गैरकाननुनी सफारीलाई राजनैतिक संरक्षण

धरान । जथाभावी चलेको अटोरिक्सा(सिटी सफारी)लाई दर्ता प्रक्रियामा लैजान आग्रह गर्दै तीन दिन अभियान चलाउनु र त्यसपछि अटेर गरे प्रक्रियागतरुपमा सञ्चालनमा पुर्णरुपमा रोक लगाउनु भन्ने निर्देशनसहितको पत्र पुर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीबाबाट धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आयो ।
यो परिपत्र प्राप्त भएपछि जिल्ला कार्यालयले फागुन पहिलो साता ट्राफिक ऐन, नियम मिचेर जथाभावी गुडिरहेको सफारीलाई सम्झाई बुझाई गर्ने र अटेर गर्नेलाई नियन्त्रणमा लिन थाल्यो । तर, फागुन ६ गते दिउसो एक्कासी कोशी राजमार्ग जोडिएको धरान ८ स्थित जिल्ला ट्राफिक कार्यालयमा सफारीहरु जम्मा भएर राजमार्ग नै अवरुद्ध पार्यो । लगत्तै, मजदुर राजनीतिबाट उदाएका एमाले कोशी अञ्चल समन्वय कमिटिका सदस्य मोतिराज सुनुवार आएर चर्को भाषण गरे । पछिल्लो समय उनी संयुक्त सिटी सफारी मजदुर व्यावसायी समितिका अध्यक्ष बनेका छन् । चक्का जाम भएको केहीबेरमा चालकको लाइसेन्स लिने र सफारी दर्ता प्रक्रियामा जाने सहमति गर्दै सफारी चालकहरु फिर्ता भए ।
नियम कानुनको धज्जी उडाउदै राजमार्गमा सिटी सफारी जथाभावीरुपमा गुडिरहे पनि राजनैतिक संरक्षण भएकै कारण ट्राफिक प्रहरीले कारबाही गर्न वा सञ्चलानमा रोक लगाउन नसक्नुको एउटा उदाहारण यो घटनालाई लिन सकिन्छ । कुनै पनि सवारी चलाउन चालकले सवारी चालकको अनुमति पत्र(लाइसेन्स) अनिवार्य लिनुपर्छ । तर, धरानसँगै पुर्वका मुख्य शहरहरुमा गुडिरहेको सफारीका एक जना पनि चालकसँग लाइसेन्स छैन । यातायात व्यवस्था कार्यालयमा रुट परमिटसहित दर्ता भएर मात्रै सवारी सञ्चालन हुनुपर्ने भएपनि यो कानुनी प्रक्रिया पुरा नै नगरी बग्रेल्ति सफारी गुडिरहेको छ । सामान्य ट्राफिक नियमको ज्ञान नभएका बालकदेखि वृद्धलेसमेत सफारी गुडाइरहेका छन् ।
धरानमा शुरुदेखि नै विभिन्न राजनैतिक दलका स्थानीय नेताहरु कुनै न कुनै रुपमा सफारीसँग जोडिन पुगे । जसले गर्दा रुट कायम गरि दर्ता सिफारिश गर्ने निकाय उपमहानगरपालिकाले तोकेको निश्चित कोटाभन्दा बढी आयात भई सञ्चालनमा आएपनि प्रतिबन्ध लगाउन सकेन । पहिलो पटक सफारी भित्र्याउदा नै मजदुर मार्ने काम गरेको भन्दै टेम्पो र रिक्सा चालक, व्यावसायीहरुबाट एमाओवादी नेताहरु सुर्दशन श्रेष्ठ, मनोज भटराई, कांग्रेसका तत्कालीन नगरसभापति किसोर राईलगायतले विरोधको सामान गर्नुपरेको थियो । नेताहरु नै लगानीकर्र्ता भएकोले ट्राफिक प्रहरीले पनि ऐन, नियम मिचेर जथाभावी गुडेको सफारीलाई कडाईका साथ कारबाही वा सञ्चालनमा रोक लगाउन सकेन । अहिले अनियन्त्रितरुपमा गुडेको सफारीकै कारण दुर्घटना बढ्दो छ भने ट्राफिक व्यावस्थापनमा चुनौती बनेको छ । ‘सबै सफारीहरु नेताहरुकै लगानी र संरक्षणमा चलेको छ । त्यसैले हामीले चाहदैमा केही हुदैन । कडाई गरेर कारबाही थाल्यो कि अनेक प्रेसर आउछ’–जिल्ला ट्राफिक प्रहरी कार्यालयका एक जुनियर अधिकृतले भने ।
राजनैतिक दबाबबारे ट्राफिक जिल्ला प्रमुख प्रहरी निरीक्षक मेघराज अधिकारी नखुले पनि ट्राफिक नियम उल्लंघन गरेका सफारीलाई कारबाही गर्न भने नसकिएको स्वीकार गर्छन् । साथै, ट्राफिक व्यावस्थापनमा सिटी सफारी मुख्य चुनौती भएको पनि उनले बताए । ‘रुटसहित यातायातमा दर्ता गर्ने, विमा गर्ने, लाइसेन्स लिने काम केही भएको छैन । राजमार्गमा चलाउदै नपाउने हो । स्पष्ट नीति विना नै भित्रिएर यस्तो भएको हो । सफारी ट्राफिक व्यावस्थापनमा मुख्य समस्या भएको छ’–अधिकारीले भने । उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा भने शुरुदेखि नै राजनीतिक दलको संलग्तना भएकोले कडाई गर्न सहज नबनेको स्वीकार गर्छन् । स्थानीय निकायमा राजनीतिक संयन्त्रलाई बाइपास गरेर निर्णय गर्ने आँट कर्मचारीले गर्दैन । एमाले उपाध्यक्ष नारायण सुवेदी भने नियम, कानुन विपरीत सफारी गुडाउने पक्षमा पार्टी नभएको दाबी गर्छन् ।

                                           दर्ता विना नै जथाभावी बिक्री 

सिटी सफारीलाई नियमन तथा कारबाही गर्ने निकायहरु मौन रहेपनि सफारी बिक्री केन्द्र(डिलर)हरु पनि धमाधम खुल्न थाले । ती डिलरहरुले दर्ता नगरी नै जथाभावी सफारी बिक्री गरे । जसले गर्दा शहरले सवारी चाप थेग्नै नसक्ने गरी सफारी गुडेका छन् । उपमहानगरपालिकाले यो बर्ष ७० वटा सफारीलाई मात्रै रुट कायम गरी दर्ताका लागि सिफारिश गर्ने निर्णय गरेको थियो । तर, अहिले धरानमा कानुनी प्रक्रिया पुरा नगरेका करिब ५ सयको हाराहारीमा सफारी गुड्छन् । उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले पछिल्लो समय बिक्रेताहरुलाई दर्ता प्रक्रिया गरेर मात्रै बिक्री गर्न निर्देशन दिएको बताउछन् । नगर प्रहरी परिचालन गरेर जथाभावी बिक्री नगर्न सचेत गरिरहेको पनि उनको भनाई थियो ।

                         सफारी गुडाउन रिक्साको व्यापार


उपमहानगरपालिकाले ७० वटालाई मात्रै दर्ता सिफारिशको निर्णय गरेकोले अहिले सफारी बिक्रेताहरु रिक्साको साटोमा सफारी गुडाउने र रिक्साको नम्बर दिलाउने भन्दै सफारी बिक्री गराउन थालेका छन् । अहिले सफारी डिलरहरु रिक्साको संख्या वमोजिम नै सफारी गुड्न पाउनुपर्ने माग गर्दै उपमहानगरपालिकालाई दबाब दिइरहेका छन् । उनीहरुले रिक्सा मालिकबाट धमाधम रिक्सा खरीद गरेर महंगोमा रिक्सा नम्बर र ब्लु बुक बिक्री गरिरहेको पनि पाइएको छ । ‘एक जना सफारी चालकले त रिक्साको नम्बर प्लेट मात्रै ४० हजारमा किनेको भन्थे, अहिले कमाउनकै लागि जे पनि गर्ने सोचले समस्या झनै विकराल हुदैछ’–जिल्ला ट्राफिक प्रहरी प्रमुख अधिकारीले भने ।
धरानमा नगरपालिकामा दर्ता भएको रिक्साको संख्या ४ सय २६ वटा छ । नेपाल रिक्सा चालक मजदुर युनियन, अखिल रिक्सा चालक मजदुर युनियन र लिम्बुवान रिक्सा चालक मजदुर युनियन मिलेर संयुक्त सिटी सफारी मजदुर व्यावसायी समिति गठन गरेका थिए । यो समितिले रिक्साको मुल्य ९ हजार कायम गरेर रिक्सा चालकहरुलाई बित्तिय संस्थाबाट सफारी उपलब्ध गराउन थालेको छ । आफुहरुले रिक्सा मजदुरको रोजीरोजी जोगाउन मध्यस्तकर्ताको काम गरेपनि अन्य व्यावसायीहरुले भने गलत ढंगले व्यापार गरेको एमाले नेता एवं समितिका अध्यक्ष मोतिराज सुनुवारको भनाई छ । ‘हामीले ९ हजार कायम गरेर रिक्सा मजदुरलाई सफारी दिलाउछौं, तर अरुले ब्लु बुक सस्तोमा लगेर २०, ३० हजारमा पनि बिक्री गरेको सुन्यौं । यसलाई नियन्त्रण गर्नुपर्छ’–उनले भने । आफुहरुले रिक्साको संख्या बराबर नै सफारी दर्ता गरेर चलाउन दिने र आयातमा तत्कालै कडाई गरेर भित्रि सडकहरुमा रुट कायम गर्ने हो भने सफारीको व्यावस्थापन सहज हुने उनको भनाई छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे