कुपन र मिलेमतोले पेट्रोल वितरणमा तनाव

धरान । पेट्रोल भर्न रातभर लाममा गाडी राखेका सर्वसाधारणलाई वेवास्ता गर्दै धरान ७ स्थित राजेश पेट्रोल पम्पले गिलेन र पानीको जारमा पेट्रोल दिनथालेपछि पत्रकार दिनेश गजमेरलाई एक व्यक्तिले धम्की दिदै बिहिबार बिहानै आक्रमणको प्रयास गर्यो । पत्रकारहरुले इलाका प्रहरी कार्यालयमा ठाडो निवेदन दिएपछि धम्की दिने दिपक तामाङ पक्राउ परे । पक्राउ परेका तामाङसँग प्रशासनको सिफारिश वा कुपन केही थिएन, तर पनि १५ लिटर पेट्रोल सहजै पाएको स्वीकारे ।
उनका अनुसार पेट्रोल पम्पका कर्मचारी उनको घरमा भाडामा बस्ने गर्छन् । अरु घण्टौं लाममा बसिरहदा तिनै कर्मचारीहरुले तामाङलाई भने नियमितरुपमा सहजै पेट्रोल उपलब्ध गराउथे । पम्पका कर्मचारीसँगको सेटिङमा पेट्रोलको कालोबजारी भइरहेको आशंका गरको छ । तर, पक्राउ परेका तामाङ भने कर्मचारी घरभाडामा बस्ने भएकोले आफ्नो २ वटा स्कुटीको लागि मात्रै सहजरुपमा पेट्रोल लिएको दाबी गरे । तर, इलाका प्रशासन कार्यालयका सहायक प्रमुख जयराम श्रेष्ठले भने घटना लगत्तै बुझ्दा तामाङले ३, ४ पटक पेट्रोल भर्दै, खन्याउदै गरेको स्थलगतरुपमा बुझ्दा थाह पाएको बताए । ‘घटना लगत्तै बुझ्ने काम गरे, ३, ४ पटक पेट्रोल गिलेनमा लैजादै, खन्याउदै गरेको रहेछ’–श्रेष्ठले भने–‘पम्पकै कर्मचारीहरुको पनि फट्याई छ ।’
पम्पका सञ्चालक र कर्मचारीहरुको भने आफ्नो छुट्टै गुनासो छ । सर्वसाधारणहरु घण्टौं लाममा बसिरहदा प्रशासनले जथाभावी बाडेको कुपनले आफुहरु हैरान हुनुपरेको उनीहरु बताउछन् । पहुच र दबाबको भरमा कुपन र गिलेन बोकेर पहुचवालाहरु पम्पमा पुग्छन् र घण्टौं लाममा बसेकाहरुको अघिबाटै सजिलै पेट्रोल लिएर जान्छन् । यस्तो दृष्यले पेट्रोल वितरण भइरहदा पम्पमा तनावसमेत हुने गरेको छ । ‘प्रशासनले जो पायो त्यहीलाई कुपन दिएको छ, कुपन लिएर आएपछि नदिई पनि हुन्न । अनि, लाम लागेकाहरु भने हामीलाई मिलेमतो गर्यो भन्दै कराउछन्’–राजेश पम्पका कर्मचारी लक्ष्मण श्रेष्ठले भने । बिहिबार पनि राजेश पम्पमा गिलेनको लाम लागेपछि घण्टौं पालोमा पर्खिएकाहरुले विरोध गर्दा केही समय वितरण रोकिएको थियो ।
भारतीय नाकाबन्दीले पेट्रोल अभाव भएपछि प्रशासनले अत्यावश्यक सेवाको गाडी, अस्पताल, बैक, स्कुल, कलेजका गाडीलाई निश्चित परिमाणको कुपन वा सिफारिश दिएर पेट्रोल उपलब्ध गराइरहेको छ । तर, पहुचको भरमा विभिन्न संस्थाले मात्रै होइन, व्यक्तिहरुले पनि कुपन वा सिफारिश लिएर पम्प पुग्ने गर्छन् । धरान क्षेत्रमा रहेको ५ वटा पेट्रोल पम्पको लागि धरानस्थित इलाका प्रशासन कार्यालयले पेट्रोल र डिजेलको लागि कुपन वा सिफारिश दिने गर्छ । प्राथमिकता नहेरी नै वितरण गरिएको कुपन लिएर सरकारी कर्मचारी, प्रहरी निजी संस्थाहरु, खेलाडी, पहुचवाला व्यक्ति पम्पमा धाउछन् । यसबाहेक राष्ट्रिय अनुसन्धान क्षेत्रीय कार्यालय धरानले पनि आफ्ना कर्मचारीहरुलाई तेलको सिफारिश दिने गरेको छ भने पत्रकारहरुलाई पत्रकार महासंघले कुपन वितरण गर्छ ।
पम्प सञ्चालकहरुका अनुसार १० देखि ५० लिटर पेट्रोलको कुपन र सिफाशि लिएर संस्था,व्यक्ति आउने गर्छन् । कुपन र सिफारिशको कतिसम्म दुरुपयोग भएको छ भने इलाका प्रशासन कार्यालयले डिजेलको कुपनमा डटपेनले पेट्रोल लेखेर पठाएको छ । तर, इलाका सहायक प्रमुख श्रेष्ठ भने ४०/४५ वटा भन्दा बढी कुपन वा सिफारिश वितरण नभएको दाबी गर्छन् । जबकी एउटै पम्पमा सय भन्दा बढी कुपन लिएर विभिन्न व्यक्तिहरु पुगेका हुन्छन् । ‘यो हप्ता त धेरै कम कुपन दिएको हो, अर्को हप्ता देखि कडाई गछौं । गिलेनलाई पुर्णरुपमा निषेध गछांै र बैंकहरुलाई कुपन दिदैनौं’–उनले भने । अघिल्लो साता धरानमा ६४ हजार पेट्रोल वितरण भएको थियो भने बिहिबार बेलुकीसम्म ५२ हजार लिटर पेट्रोल वितरण भएको उनले बताए । गाडीधनीहरुले पेट्रोल धेरै जगेडा राखिदिनाले समस्या भएको उनले बताए ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे