गुडमर्निङ विजयपुर गढी(फोटोफिचर)
दिनभरीको दौडधुप । राती अबेरसम्म जागै । र, भोलीपल्ट बिहानै न्यानो ओछ्याउन छोड्नु कम्ता गाह्रो हुदैन । तर, इच्छाशक्ति हुदा जस्तै कठिन कार्य पनि सहज हुन्छ । कहिले कही त मध्यराती १२ बजेतिर घर पुगिन्छ । त्यो बेला पनि बिहान ५ बज्नुअगावै उठ्ेर घरबाट निस्कन्छु । साढे ५ बजेसम्म छाताचोकमा साथीभाई जम्मा हुने, र सिंहदेवी चोकदेखि ठाडो उकालो चढ्ने । यो दैनिकी हुनथालेको पनि निकै भइसक्यो । समुहमा कहिले ३ जना मात्रै पनि हुन्छ, त कहिले ६÷७ जना । अरुले बोलीचालीको भाषामा ‘मर्निङ वाक’ भन्लान्, तर हाम्रो लागि हरेक बिहान ऐतिहासिक विजयपुर गढीमा हाइकिङ गएको भन्दा कम छैन ।
लिम्बुवानको राजधानी भनिदै आएको विजयपुर गढी आफैमा ऐतिहासिक महत्वको ठाउँ हो । यहाँ पौराणिक महत्व बोकेको मठमन्दिरहरु पनि छन् । यही सेरोफेरोमा एक बिहान करिब ७ किलोमिटर हिड्नु निक्कै रमाइलो अनुभूति हुन्छ । दिनभर फ्रेस बनाइदिन्छ । समुहमा सन्तोष काफ्ले, भोजराज श्रेष्ठ, गोविन्द बस्नेत, दिनेश गजमेर, विनय प्रधान र म नियमित देखिने अनुहार हुन् । कुनै दिन केही अनुहार घट्छ भने अरु नयाँ अनुहार पनि थपिन्छ । कहिले कोही हुन्नन् । सबै पत्रकारिताका सहकर्मीहरु । आफ्नो स्वास्थ्यको लागि हिड्न थालेका ।
मिर्मिरे उज्यालोमै हाम्रो यात्राको शुरुवात धार्मिक मनबाट हुन्छ । सिंहदेवी मन्दिरलाई बाहिरैबाट दर्शन गरेर अघि बढ्छौं । निर्माणधिन बालगोपाल मन्दिरसम्म सिढीको उकालो । पर्यटन विकास गर्ने उद्देश्यले उपमहानगरपालिका र विभिन्न दाता मिलेर सिंहदेवी मन्दिरदेखि वालगोपालसम्म चिटिक्कको सिढी बनाइदिएको छ । त्यसपछि, ढुंगा बिछ्याएर बनेको चौडा बाटो छ । केही परर्तिर बाटो छेउमा दुई धारे । बजारमा पानीको हाहाकार हुदा यहाँको धारामा निरन्तर पानी झरिरहन्छ । तिर्खा लागे एक छिन अडिएर पानी पिउने । हातमुख सफा गर्ने । दुई धारेबाट दोबाटो आउछ । एउटा ढुंगे बाटो अघि बढ्छ, जुन विजयपुरको मुख्य चोकमा पुग्छ । अर्को बाटोमा पुनः सिढी चढ्नुपर्छ । हामी सिढीबाट उकालिन्छौं ।
उपमहानगरले टायल र रेलिङ राखेर नयाँ सिढी बनाउनु अघि पनि यहाँ इटा विछ्याएको सिढी नै थियो । अहिले बीचमा टहरा पनि निर्माण भएको छ । थकान महसुस भए त्यहा एकछिन सुस्ताउने । जति उकालो चढ्दै गयो, बजारको कोलाहल र गाडीको चर्काे ध्वनीबाट टाढिदै गएको लाग्छ । जंगल भएकोले बिहानीमा चराचुरुङ्गीहरुको आवाजले मनलाई आनन्दित बनाउछ । बिहानै पनि यो सिढीमा ओहोरदोहोर गर्नेहरु थुप्रै हुन्छन् । त्यसो त छाताचोक हुदै जिरोप्वाइन्ट फुस्रेसम्म मर्निङ वाकमा जानेहरुको ताती लाग्छ । विजयपुर गढीतिर भने कमै जान्छन् ।
यो सिढी पक्की सडकमा ठोकिएर टुंगिन्छ । सडकमा उभिदा ठ्याक्कै अघिल्तिर पौराणिक महत्वको दन्तकाली मन्दिरको दर्शन हुन्छ । हिन्दुधर्मको शक्तिपिठहरुमध्ये यो एक महत्वपुर्ण हो । यहाँ हिन्दुधर्मको स्वास्थानी ब्रतकथामा आधारित सतिदेवीको दाँत पतन भएको स्थान मानिन्छ । सतिदेवीको दाँतको प्रतिकस्वरुप एउटा कालो प्रस्तर राखेर यहाँ पुजाआजा हुन्छ । दशैंमा यहाँ नौरथा मेला लाग्छ । दन्तकालीबाट थोरै ओरालो उत्तरतर्फ भ्यु प्वाइन्ट छ । धरान नगरपालिकाले ०६७ सालमा स्थापनाको स्वर्ण महोत्सव मनाउदा यो उद्घाटन गरिएको थियो । यहाँबाट धरान बजारको सुन्दर दृष्य हेर्न सकिन्छ । फलामे कुर्सीमा युवायुवतीको जोडीहरु गफिदै गरेको, पृष्ठभुमिमा धरानलाई राखेर फोटो खिच्दै गरेकाहरु थुप्रै हुन्छन् ।
पचास मिटर उत्तर हिडेपछि विजयपुर चोकमा बडेमानको फुटबल छ । यसले मिनि ब्राजिल धरानको परिचय दिलाउछ । चोकमा पार्क भएपनि प्रवेश निधेष छ । पार्कभित्रको रंगीचंगी फुलबारीलाई बाहिरबाट हेरेर रमाउने । पार्कभित्र कलाकार, सहित्यकारहरुले श्रष्टा विभुति स्मारक बनाएका छन् । पार्क बाहिर भने पर्यटन सम्बद्ध कार्यालयले फलामे कुर्सीहरु राखिदिएको छ । त्यहाँबाट उत्तरतिरको पक्की सडकतिर लाग्छौं । भर्खरै सकिएको पत्रकार महासंघ सुनसरीको साधारण सभा, साग फुटबलमा स्वर्ण पदक विजेता नेपाली टोलीका प्रशिक्षक राजुकाशी शाक्य र प्रकाश बुढाथोकीको चर्चा चल्छ । सागको फाइनलमा भारतसँग १ गोलले पछि परेको अवस्थामा विश्वस्तरीय फ्रिकिक प्रहारबाट प्रकाशले गोल गर्दै सारा नेपालीलाई असिम खुशी दिलाए । प्रशिक्षक शाक्य र प्रकाश दुवैको घर धरान । दुवैलाई शनिबार भव्य सम्मान हुदैछ ।
छिटो हिड्ने भोजराज जीलाई भेट्न आफुले पनि पाइला छिटै चाल्नुपर्छ । पक्की सडक मानव वस्ती हुदै सालघारी(जंगल)भित्र हुदै पञ्चकन्या र पाथीभारा युमा मन्दिरको प्रांगणमा पुगेर विलाउछ । चारैतिर हरियाली, शान्त वातावरण । मन त्यसै रमाउछ । हिन्दुधर्ममा पाँच कन्याकोरुपमा अहिल्या, द्रौपदी, तारा, कुन्ती र मन्दोदरीलाई मानिन्छ । मन्दिरकी पुजारी मालती राईका अनुसार मन्दिरभित्र यही उत्पत्ति भएका पाँच कन्या(सिला) छन् । पञ्चकन्या करिब १७ सय तिर सेनवंशी राजाकै पालामा स्थापना भएको हो भने पाथीभरा मन्दिर स्थापना भएको भर्खर मात्र हो ।
धरानको शिर हो, विजयपुर गढी । अहिले वडा नम्बर १४ मा पर्छ । धरानको एउटा वडामा खुम्चिए पनि विजयपुर गढीको इतिहास भने ज्यादै फराकिलो छ । पञ्चकन्या मन्दिरदेखि उत्तर घना जंगल छ । त्यही जंगल हुदै किराती राजा बुद्धिकर्ण रायको दरबारको भग्नवशेष भएको ठाउँसम्म पुग्न ढुंगा बिछ्याएको बाटो तयार छ । विराट क्षेत्र पर्यटन विकास समितिले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन केही लगानी गरेको छ । तर, पर्याप्त देखिदैन । दरबार भएको ठाउँ पुग्दा मन खिन्न हुन्छ । बीचमा काडेतारले घोरा हालेबाहेक केही देखिदैन । राज्यले इतिहास जोगाउन कुनै चासो दिएको छैन । न त किराती समुदायले च्याब्रङ, साकेला नाच्नुबाहेक यसको संरक्षण, संर्वद्धनमा केही गरेका छन् । मनभित्रै अनेक प्रश्न उब्जिन्छ । यो जंगललाई धरान उपमहानगरले पञ्चकन्या नेचुरल पार्क बनाउने भनेपनि माखो मारेको छैन । यतिकै पनि यो क्षेत्र रमणीय छ । दरबारको पुनरोत्थान गरे, पार्क बनाउन सके सबैको ध्यान केन्द्रीत हुन्थ्यो होला ।
पाल्पाका सेनवंशी राजाले राज्य विस्तारको क्रममा विजयपुर गढी स्थापना गरेको मानिन्छ । यो सामरिक हिसाबले महत्वपुर्ण किल्लाकोरुपमा थियो । सेनवंशी राजा विजयनारायणले स्थापना गरेकोले गढीको नाम पनि विजयपुर रहन गएको पनि भनिन्छ । विजयपुरका सेनवंशी राजाका सेनापति मुरेहाङ थिए । उनलाई मृत्यु दण्ड दिइएको थियो । त्यसको वदला उनका छोरा बाजाहाङले लिम्वूवानका सेना उठाएर विजयपुर कव्जा गरेको र पछि वुद्धिकर्ण राय राजा हुदा गोर्खाका शाह राजाले सन्धि गरेर विजयपुर पनि कब्जा गरेको इतिहास छ । वि.स.१८३१ मा तत्कालीन गोर्खाली राजा र लिम्बुबीच सम्झौता भई नेपालमा विलय हुनुपुर्व विजयपुर गढीको स्वतन्त्र अस्तित्व रहेको किरात इतिहासकार इमानसिंह चेम्जोङको किरात इतिहास पुस्तकमा उल्लेख छ । विजयपुरमा सेनकालीन राज्यको दरबार थियो भन्ने जनाउ दिने थुप्रै ढुंगाईटा र दुईवटा तोप समेत भएको बुढापाकाहरु बताउछन् । तर, ती पुरात्तात्विक महत्वका सम्पदाहरुको संरक्षणमा कसैले पनि ध्यानै दिएनन् । तत्कालिन वडाहाकिम भुपालमानसिंह कार्कीले वि.सं. २०१० सालतिर विजयपुरको तोप र सेनकालिन केही ढुंगाहरु मोरङको रंगेली लगेका थिए रे । गुमनाम विजयपुरको इतिहासलाई जगाउन सके पर्यटनले पनि गति लिनेथियो ।
बुद्धिकर्ण रायको दरबारक्षेत्रबाट फर्कदा बुढासुब्बा मन्दिर निस्कन्छौं । मुर्ति नभएको अचम्मको मन्दिर । भित्र माटोको दुईटा ढिस्को छ । त्यसैलाई पुज्नुपर्ने । त्यो ढिस्को के हो ? अनेक किवंदन्ती छन् । कसैले बुढा सुब्बा र सुब्बेनीको समाधि भन्छन् त कसैले बुद्धिकण रायको सधाधि भन्छन् । कुखुरा, अण्डा, वंगुर, फुलपाति र रक्सी पनि चढ्छ । कुखुरा मार हानेपछि मुटु कलेजोबाट त्यहीका एक बुढा मगर पुजारीले जोखाना पनि हेरिदिन्छन् । यहाँ पुजाआर्चना गरे मनोकांक्षा पुरा हुने जनविश्वास छ । मन्दिर परिसरमा टुप्पो विनाका बाँसका भ्mयाङ छन् । यो बुढा सुब्बा र सुब्बेनीको धनु काडबाट उम्रेको बाँस भएकोले टुप्पो नभएको भन्ने किंवदन्ती पनि छ । दशकअघिसम्म ती बासमा प्रेमी प्रेमिकाको नाम खोप्ने चलन थियो । त्यसो गरे प्रेम सफल हुन्थ्यो रे । अहिले बाँसमा नाम खोप्न पाइदैन । अचेल जोडीहरुले बाँस जोगाउन बारेको तारजालीमा डोरो बाँध्छन् ।
विजयपुर गढीकै अर्को पौराणिकस्थल पिण्डेश्वर मन्दिर पुग्दा थकित भइसक्छौं । पिण्डेश्वर हिन्दुहरुको लागि महत्वपुर्ण तीर्थस्थल मानिन्छ । स्कन्ध पुराणमा यस क्षेत्रलाई रुद्राक्षरष्य क्षेत्र पनि भनिएको छ । रुद्राक्षको उत्पत्ति थलो हो पिण्डेश्वर क्षेत्र । समुन्द्र मन्थनको बेला निस्किएको कालकुट बिष पिए पिएका महादेवको पीडा यहाँ आएपछि शान्त भएको र आँशु खस्दा रुद्रक्ष उत्पत्ति भएको विश्वास गरिन्छ । यस्तै, अमृतको छोक्रा पिण्ड बनाई पिण्डेश्वर शिवलिङ्ग स्थापना गरिएको मानिन्छ । मन्दिरमा जंगबहादुर र भिमसेन थापाले चढाएको घण्टा छ । मन्दिर नजिकै सरस्वती सरोवर छ । अचम्म त डाँडामा इनार छ । साउन महिनामा बोलबम मेला लाग्छ । सप्तकोशीबाट ल्याएको पानी चढाउने भक्तजनहरुको घुइचो लाग्छ । प्राकृतिक, धार्मिक एवं ऐतिहासिक सम्पदाले भरिएको विजयपुर गढी डुल्दा बिहानको तीन घण्टा बितेका पत्तै हुन्न । पर्यटनमा धरानले केही गर्न खोजी रहेको छ, विजयपुर गढी महत्वपुर्ण पर्यटकीय गन्तव्य हुन् । यहाँका पर्यटन सम्बद्ध होटल व्यावसायी, ट्राभल एजेन्सीहरुले पर्यटकहरुलाई पैदल यात्रा अथवा गाडीबाट भएपनि प्याकेजमा घुमाउने व्यवस्था गरे पर्यटन विकासमा कोसेढुंगा हुनेछ ।
Comments
Post a Comment