सरकार कालोबजारीले चलाएको आरोप

धरान । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पुर्वअध्यक्ष पशुपति शम्सेर जबराले वीरगञ्जबाहेक सबै नाका सहज हुदा पनि आपुर्ति व्यवस्था सहज गर्न नसक्नु सरकारको असफलता भएको आरोप लगाएका छन् । पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्धारा आयोजित तीन दिने पुर्वाञ्चल क्षेत्रीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता जबराले मुलुक सरकारले नभई कालोबजारीले चलाईरहेको पनि बताए ।
भुकम्पको नौ महिना बितिसक्दा पनि सरकारले पुननिर्माण कार्य नगर्नु सरकारको अर्को असफलता भएको उनको भनाई थियो । ‘वीरगञ्जबाहेक सबै नाका खुलेको छ, तरपनि सरकारले आपुर्तिलाई सहज गर्न सकेको छैन । यो सरकारको नाटकिय असफलता हो’–नेता जबराले भने–‘सरकार कालोबजारीको सामु आत्मसर्मपण गरेको छ, सरकारले होइन देश कालोबजारीले चलाइरहेको छ ।’ भुकम्पको नौ महिना बितिसक्दा पनि पुर्ननिर्माण प्राधिकरणको सिइओ कस्लाई बनाउने भनेर ठुला दल अल्मलिएको भन्दै उनले जनता हिउ र चिसोले कठ्याग्रिदा पनि सरकार के हेरेर बसेको भन्दै आक्रोश व्यक्त गरे ।
आफ्नो पार्टीले संविधानसभा चुनावको बेलादेखि नै मधेशमा २ प्रदेशको पक्षमा रहेको जिकिर गर्दै उनले मधेशको भुखण्डलाई संवैधानिक मुलधारमा नल्याई संविधान कार्यान्वयन सफल गर्न नसकिने दाबी गरे । ‘तीन खण्डमध्ये एक खण्ड बासिन्दा रहेको मधेशलाई अलग गरेर संविधान सफल गर्न सक्दैनौं, मधेशलाई जुनसुकै अवस्थामा पनि मुलधारमा समाहित गनैंपर्छ र मात्रै संविधानको कार्यान्वयन सफल हुनसक्छ’–उनले भने ।
संविधान संशोधनमार्फत मधेशको धेरै माग सम्बोधन भएपनि सिमांकनबारे गठन हुने आयोगको क्षेत्राधिकारको झिनो कुरामा राजनीति अड्किएको उनको भनाई थियो । नेपालको राजनीतिक नेतृत्वले यति सामान्य कुरा पनि मिलाउन नसकेको भन्दै उनले ठुला दलप्रति कटाक्ष पनि गरे । नाकाबन्दी खुल्नु मात्रै मधेशको समाधान नभएको भन्दै नेता जबराले मधेश आन्दोलनलाई वेवास्ता गर्नै नमिल्ने धारणा राखे । ‘हामीले पठाएको मन्त्रीलाई श्रम र वाणिज्य मात्रै हेर्ने होइन, मधेश र भुकम्प पीडितको समस्या समाधान गर्न पनि भुमिका निर्वाह गर भनेर भनिरहेको छौं । यो सरकारमा हाम्रो आलोचनात्मक सहभागीता हो’–उनले थपे । आफ्नो पार्टी मधेशी जनताको पक्षमा पनि भएकोले मधेशमा कार्यक्रम लिएर जान उनले १६ जिल्लाकै नेताहरुलाई निर्देशन पनि दिए । मधेशको कार्यक्रममा आफु उपस्थित हुने पनि प्रतिवद्धता जनाए ।
मधेशमा सम्भव नभएपनि सरकार सम्भव भएको ठाउँमा स्थानीय निकायको चुनाव गराउने तयारीमा रहेको भन्दै नेता जबराले जिल्ला नेताहरुलाई चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । पार्टी एकताले नेता, कार्यकर्ताहरुमा उत्साह ल्याएको भन्दै उनले प्रत्येक जिल्लामा केन्द्रीय सदस्य खटाएर संगठनलाई सक्रिय बनाउने योजना खुलाए । ‘सक्रिय सदस्यताको अभियानलाई गाउँ, वडा तहसम्म लैजान्छौं । जहाँ सम्भव छ, त्यहा स्थानीय निकायको निर्वाचन हुन्छ । त्यसैले तपाईहरु गाउँ, नगर कहाँ कुन पदमा उम्मेदवारी दिने हो, त्यसको तयारीमा लाग्नुस्’–उनले भने । चुनाव एक्लै लड्ने नभई ठाउँ, र परिस्थिति हेरेर अन्य दलसँग तालमेल पनि गरेर अघि बढ्ने योजना पनि उनले खुलाए । वृहत एकताको लागि महामन्त्री बुद्धिमान तामाङ्गको संयोजकत्वमा वार्ता टोली गठन गरेर राप्रपा नेपालसँग वार्ता भइरहेको उनको भनाई थियो । तीन दिने प्रशिक्षणमा पुर्वाञ्चलको १६ जिल्लाका अध्यक्ष, सचिव र एक महिला प्रतिनिधि सहभागी छन् ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे