फागुन ८ गते चौथो नेवा च्यारिटी रन

धरान । गोर्खा ज्वेलर्स(ब्रनाई युके नेपाल) चौथो नेवा च्यारिटी ८ के रनवाक आगामी फागुन ८ गते हुने भएको छ । आयोजक धरान रन समुहले बुधबार पत्रकार सम्मेलन गर्दै विभिन्न ४ क्याटोगरीमा स्पर्धा हुने जानकारी दिएको छ ।
करिब ८ किलोमिटर दुरीको दौडमा १५ सयले सहभागीता जनाउने अपेक्षा लिएको आयोजकको भनाई छ । भानुचौकबाट बिहान साढे ६ बजे दौड शुरु हुन्छ । धरानको विभिन्न चौक हुदै विजयपुर डाँडाबाट चीनीया चोक, देशीलाइन हुदै दौड पुनः भानुचौकमा टुंगिनेछ । स्पर्धामा १७ देखि ३७ बर्षभित्रको खुला दौडका प्रथम, दोस्रो र तेस्रो धावक तथा धाविकालाई क्रमशः जनही ३५ हजार, २५ हजार र १५ हजार नगद पुरस्कार दिइनेछ । यो क्याटोगरीमा पुरस्कार राशी जनही ५ हजार वृद्धि गरिएको हो ।
यस्तै, १३ देखि १६ बर्षसम्मका स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने धावक, धाविकालाई जनही क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार दिइनेछ । यसैगरि, ३८ बर्षदेखि माथि भेट्रान दौडमा पहिलो, दोस्रो र तेस्रो हुने धावक, धाविकालाई जनही क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद दिइनेछ । यसबाहेक धरानका स्थानीय धावक, धाविकालाई प्रोत्साहन स्वरुप पहिलो र दोस्रो हुने महिला र पुरुषलाई आर्कषक पुरस्कार दिइने समुहका अध्यक्ष मनिष तामाङले जानकारी दिए ।
विगतमा कुनै एक असहाय व्यक्ति तथा सामाजिक संस्थाको सहयोगार्थ च्यारिटी गरिएको भएपनि यसपटक कसैको नाममा भने छैन । कुनै एक व्यक्ति वा संस्थाई लक्षित नगरी ६ देखि १० जना असहाय व्यक्तिलाई सहयोग गर्ने लक्ष्य लिएको समुहका सल्लाहकार गोपाल राईले बताए । पहिलो संस्करणमा आयोजकले फरक क्षमताकी साहित्यकार लक्ष्मी राईको सहयोगार्थ २ लाख ५० हजार दिइएको थियो । दोस्रो सँस्करणमा दृष्टि नेपाल संस्थाको ह्यापी होमको लागि एक लाख ७५ हजार सहयोग गरिएको थियो भने तेस्रो सँस्करणबाट पोजेटिभ समुहमा रहेका संक्रमित बालबालिकाको शिक्षाको लागि १ लाख ५० हजार र बराह ज्वेलरीबाट थप ५० हजार गरि २ लाखको अक्षय कोष स्थापना गरिएको छ ।
समुहका सचिव रोमु राईका अनुसार दर्ता शुल्कबाट २ लाख ५० हजार संकलन हुने अपेक्षा गरिएको छ । यो संकलित रकम कतै पनि खर्च गरिने छैन । कार्यक्रमबाट बचेको रकम थप गरेर ७५ प्रतिशत सहयोग गरिने र २५ प्रतिशत समुहको कोषमा नै राखिनेछ । ‘पहिला संकलित सबै रकम बुझाउथ्यौ, यसले संस्थामा केही पनि नहुदा समस्या भयो । त्यसैले संस्थाको आफ्नै कोष पनि रहोस् भनेर २५ प्रतिशत राखेर ७५ प्रतिशत च्यारिटी गछौं’–उनले भने । सोही पत्रकार सम्मेलनमा धरान रनको एन्थम पनि सार्वजनिक गरिएको थियो भने आगामी शनिबार हुने धरान रनमा निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरिने जानकारी गराइएको थियो । विगत ४ बर्षदेखि हरेक शनिबार बिहान ठिक ७ बजे यलम्बर पार्कअघिबाट ३.५ किलोमिटर धरान रन निरन्तर जारी छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे