धरान सडक उत्सव शुरु(फोटोफिचर)

धरान । घुम्न जाउ धरान भन्ने नारासहित १२ औं धरान सडक उत्सव शनिबारदेखि शुरु भएको छ । पर्यटन प्रर्वद्धन एवं विकास गर्ने उद्देश्यले होटल एशोसिएशन अफ धरानले उत्सव आयोजना गरेको हो । उत्सव तीन दिन १० गतेसम्म सञ्चालन हुनेछ ।
शनिबार एक समारोहबीच सँस्कृति, पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री वलबहादुर महतले उत्सवको उद्घाटन गरेका थिए । उत्सवस्थलमा विभिन्न प्रकारका ८२ वटा स्टलहरु राखिएका छन् । धरान १२ स्थित चतरालाइनमा रहको उत्सवस्थलमा धरानको उत्पादन, जातीय खानाको परिकार, घरायसी सामानको सस्तो बजार, फोटो प्रर्दशनी, पुस्तक, जडीबुटी औषधीलगायत स्टलहरु रहेको आयोजकले जनाएको छ । पर्यटनसम्बद्ध प्याराग्लाइडिङ, र्याफ्टिङको पनि जानकारीमुलक स्टल राखिएको छ भने त्यही बुकिङको सुविधा पनि दिइएको छ ।
उत्सवमा साँगीतिक तथा साँस्कृतिक कार्यक्रम हुनेछ भने उत्सवअवधिभर दौड प्रतियोगिता, विभिन्न खानेकुरा खाने प्रतियोगिता, पिउने प्रतियोगिताहरु पनि हुनेछन् । करिब अढाई लाख पर्यटकले अवलोकन गर्ने अपेक्षा गरिएको उत्सवको मुल संयोजक उमेश मास्केले बताए । उत्सव अवसरमा एशोसिएशनमा आवद्ध होटल व्यावसायीहरुले रेष्टुरेष्ट र लजमा पर्यटकहरुलाई बिशेष छुटको घोषणा गरेका छन् । एशोसिएशनका अध्यक्ष सुवर्ण श्रेष्ठका अनुसार पर्यटकहरुले लजमा २० प्रतिशत छुट पाउनेछन् भने रेष्टुरेष्टमा १० प्रतिशत छुटको घोषणा गरिएको छ । उनका अनुसार यो छुट फागुन ४ गतेदेखि नै लागु भएर १० गतेसम्मको लागि हो ।
र्याफ्टिङको मजा लिन चाहने पर्यटकहरुले उत्सव आयोजकमार्फत बुकिङ गराएमा १२ प्रतिशत छुट पनि पाउनेछन् । धरान र आसपासमा ९५ वटा होटल, २५ वटा लज र १९ वटा गेष्ट हाउस आवद्ध छ भने एक सय ९८ वटा रेष्टुरेष्ट, एउटा दोहोरी, ४ वटा गजल बार, ३ वटा पव र २ वटा डिस्को रहेको छ । सडक उत्सवमा आउने पर्यटकहरुलाई लक्षित गरेर आयोजकले धरान, आसपासका पर्यटकीय क्षेत्रसँगै इलाम जिल्लालाईसमेत समेटेर अढाई घण्टादेखि एक रात दुई दिनसम्मको प्याकेज तयार गरेको जनाएको छ ।
उत्सव उद्घाटन समारोमा नेपाली फुटबल टिमका राष्ट्रिय प्रशिक्षक राजुकाजी शाक्यलाई विभिन्न संघसंस्थाले सम्मान गरेको थियो । कार्यक्रममा होटल एशोसिएशन अफ धरान, सुनसरी उद्योग वाणिज्य संघ, धरान मनिहारी तथा उपहार व्यावसायी संघ, धरान रेडिमेट व्यावसायी संघ, रोटरी क्लब अफ धरानले सम्मान गरेको थियो । सोही कार्यक्रममा एशोसिएशनले पुर्वाञ्चल आसरा सुधार केन्द्रलाई भवन निर्माणार्थ एक लाख रुपैयाको चेक हस्तान्तरण गरेको थियो ।

















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे