नाम्जेमा सम्यक मेघा प्रोजेक्ट


धरान । छात्रवृद्धिमार्फत विपन्न बालबालिकाहरुमा शिक्षाप्रति रुचि जगाउने उद्देश्यले सञ्चालनमा रहेको सम्यक मेघा प्रोजेक्ट कार्यक्रम पर्यटकीयस्थल धनकुटाको भेडेटारस्थित नाम्जे गाउँमा सम्पन्न भएको छ । शिक्षा क्षेत्रमा कार्यरत सम्यक शिक्षा समुहअन्र्तगतको कार्यक्रम यही माघ २२ र २३ गते विविध कार्यक्रम गरि आयोजना गरिएको थियो ।
मेघा प्रोजेक्टअन्र्तगत नाम्जेमा सम्यक छात्रवृत्ति वितरण गर्नुका साथै विधालयलाई आववश्यक सामग्री वितरण, जनचेतनामुलक फ्लेक्स पोष्टरिङ, सुचनाको हक, बैंकिङ क्षेत्रबारे जानकारी लगायत विविध कार्यक्रमहरु आयोजना गरिएको समुहका पुर्वअध्यक्ष एवं परियोजनाका निर्देशक सन्दिप शाक्यले जानकारी दिए । उनका अनुसार नाम्जेस्थित ग्रामिण जनता उच्चमाविका १५ जना अनाथ एवं आर्थिकरुपमा कमजोर बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
विद्यार्थीहरुलाई छात्रवृत्तिकोरुपमा स्कुल ब्याग, टिफिन बक्स, टुम्लेट, कापी, कलम, इरेजर, सापनरजस्ता शैक्षिक सामग्रीका साथै रुमाल, टुथपेष्ट, साबुन पनि वितण गरिएको निर्देशक शाक्यले बताए । यसैगरि, विद्यालयलाई २ थान डस्टविन पनि वितरण गरिएको थियो भने भेडेटारदेखि नाम्जेसम्म विभिन्न जनचेतनामुलक फ्लेक्स पोष्टरिङ्ग पनि गरिएको थियो । कार्यक्रममा समुहकी सल्लाहकार विद्या शाक्यले नैतिक शिक्षा सम्बन्धि प्रस्तुती प्रस्तुत गरेकी थिइन् भने सचिव आशिषराज यादवले सुचनाको हक सम्बन्धी जानकारीमुलक प्रस्तुती गरेका थिए ।
यस्तै, कोषाध्यक्ष हरिकृष्ण श्रेष्ठले बालबालिका र अभिभावकको भूमिकाबारेमा सचित्र प्रस्तुती गरेका थिए । समुहकी सदस्य आयुष्मा शाक्यले बैकिङ्ग क्षेत्रको महत्वबारेमा स्थानीयलाई बुझाएकी थिइन् भने सदस्य सुस्मिता खड्काले सामुदायिक विकासमा समुदायले निर्वाह गर्नुपर्ने भूमिकाबारेमा प्रष्ट्याएकी थिइन् । विद्यायका प्रअ टंक भुजेलले विद्यालयको गतिविधिबारेमा जानकारी दिएका थिए ।
सिएनएनले विश्वको उत्कृष्ट ग्रामिण गन्तव्यमा छनौट गरेको नाम्जेमा समुहका टोलीले होम स्टेको पनि अनुभव लिएको थियो । मगर जातिको बाहुल्य रहेको गाउँमा हुर्रा नृत्यमा टोली रमाएको थियो । हुर्रा नाच पुर्वका मगरहरुको मौलिक सँस्कृति हो । अभिभावक तथा बालबालिकामा नैतिक, व्यवहारिक ज्ञान बाँड्नुका साथै कार्यक्रमले स्थानिय पर्यटनको प्रवद्र्धन पनि भएको अध्यक्ष अमृत शाक्यले बताए । उनका अनुसार स्थानीयलाई भविष्यमा सुखमय जिवनको लागि आर्थिक बचत गर्नु पर्छ भन्ने भावना जगाउन पनि कार्यक्रम सफल भएको थियो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे