बीपी प्रतिष्ठानमा फेरि आन्दोलन, आकस्मिकबाहेक सबै सेवा ठप्प

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कर्मचारीको एक समुहले आन्दोलन चर्काएको छ । एक सातादेखिको आमरण अनसनमा प्रहरी हस्तक्षेप भएको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीको एक समुहले मंगलबारदेखि आकस्मिक र आइसियु बाहेकका सम्पुर्ण सेवा ठप्प बनाएका छन् ।
 पुर्व घोषणाविना ओपिडी सेवा ठप्प भएपछि सयौ विरामी उपचार विना घर फर्कनुपरेको थियो । विभिन्न पाँच सुत्रिय माग राखेर कर्मचारी किरण भटराई एक सातादेखि आमरण अनसनमा छन् । उनको स्वास्थ्य स्थिति खराब हुदै गएपछि सोमबार साँझ अस्पताल प्रशासनको आग्रहमा प्रहरीले आकस्मिक उपचार कक्षमा लैजान खोज्दा तनाव भएको थियो । प्रहरी हस्तक्षेप भएको भन्दै आन्दोलनरत कर्मचारीहरुले मंगलबार बिहानैदेखि ओपिडी सेवा सञ्चालनमा आउन दिएनन् ।
सोमबार अनसनकारीलाई उठाएर उपचार कक्षमा लैजान खोज्दा तनाव हुदा कर्मचारी हेमबहादुर बस्नेत पनि घाइते भएका छन् । मेरुदण्डका विरामी बस्नेतलाई प्रहरीले उचालेर भुईमा छोड्दा स्वास्थ्य थप गम्भीर भएको आन्दोलनकारीको भनाई छ । अनसन बसेका भटराई र घाइते बस्नेतलाई प्रतिष्ठानले गठन गरेको चिकित्सकको एक टोलीले अनसनस्थलमा नै पुगेर स्वास्थ्य जाँच गरिरहेको छ । चिकित्सकका अनुसार अनसन बसेका भटराईको रगतमा चिनिको मात्रा कम भएको बताए ।
अत्यावश्यक सेवा सञ्चालन ऐन र प्रतिष्ठानको नियमावली दुवैले अत्यावश्यक सेवा प्रभावित हुने गरी बन्द, हड्ताल गर्न निषेध गरेको छ । आन्दोलनमा सर्वसाधारणको स्वास्थ्य उपचारबाट बञ्चित भएको भन्दै परेको रिटमा गएको आन्दोलनको क्रममा नै सर्वाेच्च अदालतले बन्द, हडताल नगर्न, नगराउन आदेश दिएको थियो । तर, अदालत, ऐन र नियमावलीसमेतको धज्जी उडाउदै प्रतिष्ठानमा विभिन्न समुहले आन्दोलन गर्न भने छाडेका छैनन् । अहिले आन्दोलित कर्मचारी समुहले कोठा भाडा तुरुन्त हटाउन, सरकारले तोकेको दरमा विजुलीको शुल्क लिनुपर्ने, स्वास्थ्य विमा निःशुल्क गर्नुपर्ने, तलब कट्टा फिर्ता गर्नुपर्ने, र कार्यवधि, योग्यताको आधारमा आन्तरिक बढुवा गर्नुपर्ने माग राखेको छ ।
आन्दोलनले प्रतिष्ठान अस्तब्यस्त हुदै गएपछि कर्मचारीहरुको माग सम्बोधन गर्न अघिल्लो सिनेट बैठकले सभासद तथा पुर्व उपकुलपति डा.शेखर कोइरालाको संयोजकत्वमा उच्चस्तरीय तलवमान आयोग गठन गरेको थियो । त्यही आयोगको सुझावको आधारमा कर्मचारीको तलब वृद्धि गर्नुका साथै विभिन्न आर्थिक, प्रशासनिक सुधारको काम थालेको प्रतिष्ठान व्यवस्थापनको भनाई छ । ‘सबैले प्रतिष्ठानलाई दुहुनो बनाउन मात्रै खोजिरहेका छन्, जस्ले जे माग गर्दा पनि हुन्छ भन्ने गलत प्रवृत्ति बढीरहेकोले कडाई गर्ने प्रयास गरिरहेका छौं’–उपकुलपति डाक्टर बीपी दासले भने–‘कर्मचारीकै मागवमोजिम तलबमान आयोग बन्यो, र आयोगकै सिफारिश कार्यान्वयनमा ल्याएका हौं । आर्थिक संकट हुने खालको मागहरु पुरा गर्न सकिदैन ।’
अनसन शुरु भएपछि प्रतिष्ठानले कार्यकारिणी सदस्य डाक्टर गुरु खनालको संयोजकत्वमा वार्ता टोली र मेडिकल टिम गठन गरेको थियो । दुवै पक्षबीच वार्ता भए पनि सफल हुन सकेन । उपकुलपति दासले आन्दोलन फिर्ता लिन पत्र पठाएको र सरकार, प्रहरी प्रशासनसँग पनि समन्वय भइरहेको बताए । ‘काममा फर्कन पत्र पठाइसकेका छौं, अटेर गरे नियमानुसार कार्वाही गछौं’–दासले भने ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे