अमाहा पोखरीबाट सिचाई योजना

सुनसरी(भरौल)  । भरौल ५ स्थित ऐतिहासिक अमाहा पोखरी केही बर्षअघिसम्म लोप हुनै लागिसकेको थियो । सिमसार संरक्षणसँगै पर्यापर्यटनको विकास गर्ने उद्देश्यले अमाहा सामुदायिक वन उपभोक्ता समितिको पहलमा गत बैशाखमा स्थानीयले पोखरीलाई पुर्नजीवन दिएका थिए । गत बैशाख २२ गते उद्घाटन गरिएको सोही अमाहा सिमसार(पोखरी)बाट अहिले भरौलबासीलाई सिचाईको थप फाइदा पनि पुगेको छ ।
वन समितिको नेतृत्वमा करिब २७ लाख लागतमा पुर्नजीवन पाएको अमाहा पोखरीबाट भरौलबासीले सिचाई योजना उपहार पाएका छन् । सिमसार संरक्षणमा स्थानीयको अग्रसरताबाट प्रभावित सिचाई विभागले करोडौंको भरौल सिचाई योजना सञ्चालन गरेको छ । आकाशे पानीको भरमा खेती गरिरहेका भरौलबासीहरु सिचाई योजना आएपछि असाध्यै हर्षित छन् । ‘हामी आकाशे पानीको भरमा खेती गरिरहेका थियौं, सिचाई बन्ने भएपछि धेरे खुशी छौं’–स्थानीय तेजबहादुर गुरुङले भने–‘सिचाइ तयार भएपछि जुनसुकै मौसममा पनि खेती गर्न सक्छांै ।’
भरौल सिचाई योजना सिचाई विभागको मझौला सिचाई आयोजनाअन्र्तगतको योजना हो । योजनाको कुल स्वीकृत लगत इस्टिमेट ८ करोड २० लाख ७९ हजार भएपनि ३ करोड ७७ लाख १७ हजार ४ सय १८ मा ठेक्का सम्झौता भएको छ । सिचाई निर्माणको ठेक्का धरान १३ स्थित आशिष ÷स्वामीनारायण÷आर्शिवाद जेभीले पाएको छ । यसबाहेक सिचाई निर्माणमा ४३ लाख ५२ हजार २ सय ९५ जनश्रमदान हुनेछ भने जल उपभोक्ता समितिलाई ४६ लाख १८ हजार ९ सय ५२ रुपैया श्रमवापत भुक्तानी हुनेछ । गत असार ३० गते ठेक्का सम्झौता भएको योजना २०७४ कार्तिक ३ गते सम्पन्न भइसक्नुपर्नेछ । यो योजनाबाट भरौल वडा नम्बर १, २, ३, ५ र ६ वडाका ४ सय हेक्टर क्षेत्रफल सिंचित हुनेछ भने ५ सय ७९ घरधुरी लाभान्वित हुने सिचाई विकास भिडिजन सुनसरीले जनाएको छ ।
सिचाई विकास डिभिजन सुनसरीका ईञ्जिनियर रामसुन्दर चौधरीका अनुसार ठेकेदार कम्पनीले पानी नियन्त्रणको लागि हेड बक्स निर्माण गरिरहेको छ । त्यसपछि पोखरीदेखि सर्दु खोलासम्म ७५ मिटर साइफन बन्नेछ भने कुल ४ हजार ८ सय मिटर लामो नहर पनि निर्माण हुने इञ्जिनियर चौधरीले बताए । त्यसमध्ये ८ सय मिटर लाइनिङ(पक्की) हुनेछ भने बाँकी ४ हजार माटोको नहर हुने उनले खुलाए । हेड बक्सले अमाह खोला र ड्याङ्ग्रे खोलाको पानीलाई आवश्यकताअनुसार पोखरीमा संकलन गर्न मद्दत गर्नेछ भने साइफनले पोखरीबाट आवश्यक पानी नहरमा पठाउने काम गर्नेछ । ‘हेड रेगुलेटर एउटा, ड्रप स्टक्चर ५ वटा र १० वटा डिभिजन बक्स पनि बन्छ’–इञ्जिनियर चौधरीले भने ।
अमाहा वन क्षेत्रको २ सय ३ हेक्टरमध्ये ५२ हेक्टर सिमसार खण्ड छ । त्यसमध्ये डेढ हेक्टरमा अमाहा पोखरी छ । वन समुहका अध्यक्ष भोजराज रिली घलेका अनुसार ४० को दशकमा एडिबि र कृर्षि विकास बैंकको सहयोगमा बाँध बाधेर स्थानीयलाई सिचाईको सुविधा दिइएको थियो । तर, डेढ दशकअघि नजिकैको सर्दु खोलाको बाढीले भत्काइदिए पछि भरौलबासी मारमा परेका थिए । ‘बाध नै भत्किए पछि गाउँमा सिचाई भएन, र त्यसपछि कृर्षि उत्पादनमा ठुलो असर प¥यो । हामीले अमाहा पोखरीलाई पुर्नजीवन दिएपछि सिचाई विभागले सिचाईको योजना दिएको छ’–अध्यक्ष घलेले भने–‘अब कृर्षि उत्पादन बढ्छ, वेमौसमी खेती गछांै, विदेशबाट फर्किएका बेरोजगारहरुले पनि खेती गर्छन्, एक बाली मात्र धान हुन्थ्यो, अब दुई बाली हुन्छ । गाई बस्तुलाई पानी खुवाउन, नुहाउन र लुगा धुन पनि टाढा इनारबाट पानी ल्याइरहनु नपर्ने हुन्छ ।’





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे