गैरकानुनीरुपमा खोला उत्खनन्, स्काभेटर र दर्जन ट्रिपर प्रहरी नियन्त्रणमा

धरान । गैरकानुनीरुपमा सेउती खोला उत्खननमा प्रयोग भएको स्काभेटर र दर्जन ट्रिपरलाई बाँझगरा सामुदायिक वन समुहका उपभोक्ताहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइदिएका छन् । वन क्षेत्रको खोलामा जथाभावी स्काभेटर प्रयोग गरेर ठेकेदार कम्पनीले उत्खनन गर्न थालेपछि बुधबार बिहान उपभोक्ताहरुले एउटा स्काभेटर र १२ वटा ट्रिपर नियन्त्रणमा लिएका थिए । प्रहरीले चालकसहित ट्रिपर, स्काभेटर र चालकहरुलाई नियन्त्रणमा राखेको छ ।
प्रारम्भिक वातावरण प्रभाव मुल्यांकन(आई.ई.ई.) प्रतिवेदनबारे समुहलाई जानकारी नदिएको र स्काभेटर चलाउनेबारे पनि वन समुहसँग समन्वय नगरी तस्करले जस्तै उत्खनन गरेको उपभोक्ताहरुको भनाई छ । स्काभेटर प्रयोग गर्दा अनिवार्य जिविसका प्राविधिकको रोहबरमा हुनुपर्छ । तर, उपभोक्ताहरु पुग्दा प्राविधिक विना नै स्काभेटर प्रयोग भइरहेको वन समुहका अध्यक्ष राजन मोक्तानले बताए । ‘वन क्षेत्रको खोला ठेक्का लाग्यो भन्ने सुन्यौं तर आइ.इ.इ. प्रतिवेदनबारे कुनै जानकारी छैन, आज एक्कासी स्काभेटरले खन्न थाल्यो भनेर जानकारी आयो’–अध्यक्ष मोक्तानले भने–‘यो त तस्करी गरेजस्तै भयो । स्काभेटर र ट्रिपर नियन्त्रणमा लिएर सि.डि.ओ.सापलाई जानकारी दियौं, र प्रहरीमा बुझाइदिएका छौं ।’
अध्यक्ष मोक्तानका अनुसार बुधबार समितिको आकस्मिक बैठक बसेर जिल्ला प्रशासन कार्यालयलाई कारबाहीको लागि पत्राचार गर्ने निर्णय गरिएको छ । ‘ठेक्का लगाएको र स्काभेटरबारे आधिकारिक जानकारी छैन । जिविसले कहाँसम्म ठेक्का लगाएको हो? कहाँबाट कति परिणाममा झिक्न पाउने हो ? केही थाह नदिई उत्खनन् गरेकोले कारबाही गरिपाउ भनेर पत्र लेख्ने निर्णय भयो । भोली बिहिबार प्रशासनमा बुझाउछौं’–उनले भने । जथाभावी खोला उत्खनन् गरी ढुंगा, गिट्टी र वालुवा निकाल्दा बर्षायाममा बाढीले बर्षेनी वन क्षेत्र कटान गर्ने गरेको भन्दै वन समुहले सेउतीमा स्काभेटर प्रयोग गर्न निषेध गरेको छ । तर, जिविस सुनसरीले ठेक्का लगाएपछि ठेकेदार कम्पनीले जर्बजस्ती स्काभेटर लगाउदा वन समुह मारमा पर्ने गरेको छ । जिविसले ठेक्का लगाउने सेउती खोला वन क्षेत्रमा पर्छ भने कोशी राजमार्गअन्र्तगत सेउती पुल र हाल निर्माणाधिन धरान–पानवारी पुलको बीचमा पर्छ ।
स्काभेटर प्रयोग हुदा वन क्षेत्रलाई धेरै नोक्सानी पुगेको भन्दै बाँझगरा वन समुहको यही पुष ८ गते सम्पन्न १६ आंै साधारण सभाले पनि खोलामा स्काभेटर निषेध गर्ने प्रस्तावलाई अनुमोदनसमेत गरिसकेको छ । वन समुहका अनुसार गत बर्ष राष्ट्रपति चुरे संरक्षण क्षेत्रको नदी नियन्त्रण प्रणालीअन्र्तगतको बजेटबाट १० हेक्टर क्षेत्रफलमा १६ हजार विरुवा रोपिएको थियो । गत असार र भदौमा आएको बाढीले ६ हेक्टर जमिनसँगै ती विरुवाहरु कटान गरेर लगेको वन समितिकी सचिव मायादेवी राईले बताइन् । ‘सरकारकै एउटा निकायबाट राष्ट्रपति चुरे संरक्षणको बजेटमा वृक्षरोपण हुन्छ, अर्को निकायले ठेक्का लगाएर स्काभेटर लगाउन दिन्छ र वन क्षेत्र कटान हुन्छ’–उनले भनिन्–‘स्काभेटरले जथाभावी खनेर गहिरो बनाउछ, जमिन थर्काएर माटो कमलो बनाइदिन्छ, र बर्षामा बाढी आएर कटान हुन्छ ।’ उनका अनुसार जिल्ला वनमार्फत ६ लाख र अढाई लाख वन समितिको लगानीमा विभिन्न जातका १६ हजार विरुवा रोपिएको थियो ।
जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी पोषराज पोख्रेलले पुल नजिकैको र वनको क्षेत्रमा स्काभेटर लगाएको भन्ने खबर आएपछि नियन्त्रणमा लिइएको बताए । ‘उपभोक्ता समितिलाई पनि जानकारी रहेनछ, खोला उत्खनन्को अनुगमन समितिको संयोजक सिडिओ हुने भएकोले समन्वय गरेर प्रशासन कार्यालय पठाइछौं’–एसपी पोख्रेलले भने । प्रजिअ लोकराज पौडेलले भने गैरकानुनीरुपमा उत्खनन गरेको पाइए रोक लगाउने बताए । जिविस सुनसरीले चालु आर्थिक बर्षमा १ करोड २१ लख १ सय ११ रुपैयामा सेउती, सेहरा, पटनाली, कुमारखतलगायत खोला ठेक्का लगाएको छ । यो ठेक्का चतराका अर्जुनसिंह भण्डारीको नाममा रहेको पाथीभारा कन्स्ट्रक्सनले पारेको हो । तर, हर्ताकर्ता भने भीम पौडेल हुन् । पौडेलले भने जिविसले सम्झौता गर्दा मेशिनरी(स्काभेटर) प्रयोग गर्न दिने भन्ने उल्लेख गरेको दाबी गरे ।
उता, जिविसका वातावरण अधिकृत पुष्पनारायण चौधरीले स्वीकृत आइइइ प्रतिवेदनमा उल्लेख भएको स्थानमा मात्र स्काभेटर लगाउन पाउने भन्ने ठेक्का सम्झौता भएको बताए । स्काभेटर प्रयोग हुदा अनुगमन गर्न एक प्रविधिक समिति पनि गठन गरिएको र उक्त समितिले सेउतीमा तत्काल स्काभेटर नचलाउन भन्दा भन्दै ठेकेदारले चलाएको स्वीकार गरे । ‘बाँझगरासँग कुरा गर्न पनि बाँकी थियो, तत्काल १, २ दिन सेउतीमा नचलाउनुस् । अहिले सेहेरामा चलाउनु्, प्राविधिक समिति त्यहाँ आउछ भनेका थियांै तर ठेकेदार हतारिएर सेउतीमा स्काभेटर चलाएछ’–उनले भने ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे