धरानमा पहिलो पटक मुस्लिम महिलाहरु तालिममा सहभागी

धरान । निकाह भएपछि धरानबाट इनरुवा पुगेकी २४ बर्षीय इसरत अन्सारी मंगलबार असाध्यै खुशी थिइन् । कारण, उनी अध्यक्ष भएको मुस्लिम महिला एकता समाजले धरानमा मुस्लिम महिलाहरुमा चेतना अभिवृद्धि तालिम दिदै थियो ।
गत साउन ९ गते गठन भएको समाज धरानका मुस्लिम महिलाहरुको पहिलो संस्था हो । समाजको अध्यक्ष भएपछि मुस्लिम महिलाहरुलाई संविधान र कानुनले दिएको हकअधिकार बारे जानकारी दिलाउन उनी अरोरात्र खटिएकी थिइन् । जसको प्रतिफल स्वरुप मंगलबार धरान ३ स्थित सरस्वती बालआश्रममा आयोजित तालिममा 4० भन्दा बढी विभिन्न उमेर समुहका मुस्लिम महिलाहरु सहभागी भए । धरानमा सार्वजनिक कार्यक्रम तथा तालिम, गोष्ठीमा यतिको संख्यामा मुस्लिम महिलाहरु सहभागी भएको यो पहिलो हो । अन्सारीलाई तालिममा महिला सहभागी जुटाउन धेरै गाह्रो भएको थियो । बाहिर किन निस्कने ? डुल्ने वहाना मात्र हो भन्ने जस्ता भनाईहरु पनि उनले खेप्नु प¥यो । ‘चार, पाँच महिनादेखिको मेहनत हो यो, सबैलाई सम्झाउन, बुझाउन सक्यौं’–अध्यक्ष अन्सारीले भनिन्–‘आज म धेरै खुशी भएको छुँ, मुस्लिम महिलाहरुले समाजलाई पनि बुझ्ने, चिन्ने मौका पाएका छन् ।’
मुस्लिम समाज महिलाप्रति अनुदार भएको(बन्द समाज)कोरुपमा लिने गरिन्छ । सामाजिक, राजनीतिकलगायत विभिन्न क्षेत्रमा मुस्लिम महिलाको उपस्थिति पनि ज्यादै न्युन छ । पुरुषहरुको थुप्रै संस्था छन् । ती संस्थाहरुमा महिलाहरुलाई राखिएको हुन्न । घरपरिवारमा मात्रै सिमित मुस्लिम महिलाहरुलाई पनि समाजमा उपस्थित गराउन संस्थाले प्रयास गरेको अध्यक्ष अन्सारीले बताइन् । ‘मुस्लिम महिलाहरु पनि बाहिर आउन सकुन्, आफ्नो संविधान कानुनले दिएको हकअधिकार र सुविधाहरुबारे सचेत होस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको हो’–उनले भनिन्–‘पहिला शिक्षाको कमीले महिलाहरु घरभित्रै सिमित थियो, अब युवा पुस्ता शिक्षा पाएर विस्तारै खुला हुदै गएका छन् ।’ उनी आफै पनि धरानको महेन्द्र बहुमुखी क्याम्पसमा बि.एड.अध्ययरत हुदा नै एक बोर्डिङ स्कुलमा पढाउथिन् । समाजको अध्यक्ष भइसके पछि उनका निकाह भएर इनरुवा पुगिन् । अब सक्षम महिलालाई अध्यक्ष पद हस्तान्तरण गर्ने उनको योजना छ ।
मंगलबार तालिममा मोहन श्रेष्ठले व्यक्तित्व विकासबारे मुस्लिम महिलाहरुलाई प्रशिक्षण दिएका थिए भने पुर्णकला राईले संविधान र कानुनमा महिला अधिकारबारे प्रशिक्षण दिइन् । यस्तै, सविता राईले महिला हिंसाविरुद्धको कानुनबारे मुस्लिम महिलाहरुलाई जानकारी गराइन् । विराटनगर मस्जिदबाट आएका जुल्फकार अलीले पनि इस्लाम धर्मले महिलाहरुबारेको धारणाबारे जानकारी गराए । ‘मुस्लिम महिलाहरुलाई मात्र प्रशिक्षण दिएको मेरो पनि पहिलो अनुभव भयो, उहाँहरुले एकदमै चासो दिएर सुन्ने र जिज्ञासा पनि राख्नु भयो’–प्रशिक्षक पुर्णकला राईले भनिन्–‘अवसर पाउने हो भने मुस्लिम महिलाहरु पनि समाजमा अघि बढ्न र आफ्नो पहिचान बनाउन सक्छन् ।’ धरान उपमहानगरपालिकाकोे समाज विकास शाखाकी जेसि कोर्डिनेटर(महिला डेस्क प्रमुख) हेमा थलङले पनि मुस्लिम महिलाहरुको कार्यक्रमबाट उत्साहीत हुदै भनिन्–‘उहाँहरुको पहिलो सहभागीता हो । जान्न चाहने र केह ीगर्ने इच्छाशक्ति छ । मात्र अवसरबाट बञ्चित भएको हो ।’
२०६१ सालदेखि शिक्षण पेशामा रहेकी नुरानी खान शिक्षाको कारणले मुस्लिम समाज पनि विस्तारै परिवर्तन हुदै गएको बताउछिन् । श्रीमतिको कमाई खान हुन्न भन्ने सोचलाई नयाँ पुस्ताले तोड्दै लगेको उनको भनाई छ । ‘यो राम्रो कामको शुरुवात भएको छ, संस्थाले अब निरन्तर कार्यक्रम गर्नुपर्छ र सबैले प्रोत्साहन पनि दिनुपर्छ’–उनले सुझाइन्–‘शिक्षाकै कारण नयाँ पुस्ताका महिलाहरु समाजमा विस्तारै खुल्दैछन्, कमाइ गर्न पनि थालेका छन् ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे