युवा संघका इञ्चार्ज घाइते,तरुण दलका उपसभापति पक्राउ, पत्रकारमाथि पनि कुटपिट

आक्रमणमा परी गम्भीर घाइते भएका दिवस राई ।
धरान । एक साताअघि युवाहरुबीच भएको झगडा मिलाउने क्रममा आइतबार राती एमाले उपमहानगर कमिटि सदस्य तथा युवा फाँटका इञ्चार्ज दिवस राई गम्भीर घाइते भएका छन् । कांग्रेस निटक तरुण दलका जिल्ला उपसभापति सन्तोष बिकसहितको समुहले धारिलो हतियार प्रहार गरी राईलाई गम्भीर घाइते बनाएका हुन् ।
कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका बिकलाई आइतबार राती नै नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भनिएका अन्य युवाहरु भने फरार छन् । गम्भीर घाइते रहेका राईलाई प्रहरीले उद्दार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गरिएको थियो । सोमबार थप उपचारको लागि उनलाई काठमाण्डौं लगिएको छ । हातको नशा काटिएकोले चिकित्सकको सल्लाह अनुसार उनलाई काठमाण्डौं लगिएको युवा संघले जनाएको छ । संघका केन्द्रीय सचिवालय सदस्य हिमाल लिम्बुका अनुसार खतरामुक्त भएपनि घाइतेको स्वास्थ्य अवस्था गम्भीर छ ।
घटना आइतबार राती करिब साढे ७ बजे धरान १८ स्थित शिवमार्गमा भएको हो । धारिलो हतियारले टाउको, नाक, दुवै हात र शरीरको विभिन्न अंगमा गम्भीर चोट पुगेको छ । उनी युवा संघका जिल्ला सचिवालय सदस्य तथा नगर इञ्चार्जसमेत हुन् । सोही घटनामा सामान्य घाइते भएका मिलन राईले बिकसहित ५ जनाको नाममा ज्यान मार्ने उद्योगमा इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । बिकसँगै अन्दाजी ३५ बर्षीय कान्छा भन्ने प्रदिप राई, २८ बर्षीय सेते भन्ने नरसिंह राई, २९ बर्षीय अनिल रसाइली र ३१ बर्षीय राजेश गुरुङकोविरुद्ध किटानी जाहेरी परेका छ भने अन्य नचिनेका २० जना जति युवाहरुलेसमेत आफुहरुलाई आक्रमण गरेको उनले जाहेरीमा खुलाएका छन् ।

मुख्य आरोपी तरुण दलका उपसभापति सन्तोष बिक
जाहेरीकर्ता राईका अनुसार माघ १० गते राती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताको टक्सन फुड कर्नरमा सुमित तामाङ र मनोज राईबीच झगडा भएको थियो । मनोज नातामा भाञ्जा पर्ने भएकोले आइतबार उक्त घटनाबारे छलफल गर्न भन्दै दिवसलाई पटक पटक खबर गरेपछि दुवै जना शिवमार्ग पुगेको उनको भनाई छ । ‘मनोज हाम्रो भाञ्जा पनि हो, त्यसैले सम्झाउनको लागि पनि गएका थियौं’–नाताले दिवसको फुपुका छोरासमेत रहेका उनले भने–‘उनीहरु त हतियार लिएर तयारी अवस्थामा रहेछन्, एकछिन कुरा हुदाहुदै आक्रमण भइहाल्यो ।’ बिक त्यही(शिवमार्ग)को बासिन्दा भएकोले पनि शिवमार्ग बिक र उनको समुहको पकड क्षेत्र(एरिया) मानिन्छ ।
घाइतेको तर्फबाट किटानी जाहेरी आइसकेकोले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढीसकेको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । राती नै पक्राउ परेका बिकलाई ४ दिनको म्यान थप भएको छ भने अन्य फरारहरुको खोजी तीब्र पारिएको उनले बताए । ‘मुद्दा दर्ता भइसक्यो, सन्तोष बिकलाई ४ दिनको म्यान थप पनि भइसक्यो । फरारहरुको खोजी गरिरहेका छौं’–डिएसपी ढकालले भने । उनका अनुसार पक्राउ परेका बिकको यसअघि पनि ज्यान मार्ने उद्योगको मुद्दा अदालतमा विचाराधिन छ । केही महिनाअघि पनि मालिङ्गोमा ग्राहकमाथि नै आक्रमण गरेपछि ज्यान मार्ने उद्योगमा दर्ता भएको थियो । घटनालगत्तै फरार भएका थिए भने पछि ४५ हजार धरौटीमा छुटे पनि मुद्दा अझै विचाराधिन छ । यस्तै, अर्का आरोपि प्रदिप राईको पनि ज्यान मार्ने उद्योगको मुद्दा अदालतमा विचाराधिन अवस्थामा छ ।
पत्रकार सम्मेलनमा युवा संघका नेताहरु 
राजनीतिको आडमा ठेक्कापट्टा र गुण्डागर्दी गर्ने युवा प्रवृत्तिले धरानमा एमाले, कांग्रेस, माओवादी, लिम्बुवानलगायत दलका युवा समुहबीच बेला बेला झडप हुने गरेको छ । एक समय डन भनेर चिनिएका दिवस धेरै पटक कानुनी झमेलामा फसेपछि पछिल्लो आफुलाई यस्ता विवादहरुबाट टाढै राख्ने प्रयासमा थिए । हिजोआज उनी धेरै जसो समय पार्टीको गतिविधिमा सक्रिय थिए । यस्तै, लिम्बुवान पृष्ठभुमिबाट राजनीतिमा छिरेका बिक ठेक्कापट्टा, गुण्डागर्दी र पैसा असुलीमा त्यतिबेलै परिचित नाम हो । कांग्रेसमा प्रवेश गरेपछि सत्ता र राजनीतिको आडमा उनको गुण्डागर्दी बढ्दो छ । शिवमार्गमा बुढासुब्बा फुटसल र पुतलीलाइनमा मालिङ्गो रेष्टो एण्ड बार खोलेर व्यावसायीको छवि बनाउने प्रयास गरेपनि उनी विवादमा फसिरहन्छन् ।
यसैबीच, सोमबार दिउँसो युवा संघ जिल्ला कमिटिले पत्रकार सम्मेलन गर्दै राईमाथि अपराधिक समुहबाट हमला भएकोले पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ । साथै, संघले फरारहरुलाई पक्राउ गर्न तीन दिनको अल्टिमेटम दिएको घोषणासमेत गरेको छ । धरानस्थित एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष गौरीमान परियार घाइते राईलाई राज्यकोतर्फबाट उपचारको प्रबन्ध गर्नसमेत माग गरे । ‘आक्रमण गर्ने अपराधिक समहलाई पक्राउ गरी कारबाही गर्न तीन दिनको अल्टिमेटम दिएका छौं, प्रहरीले नगरे हामी आफै खोजी गर्न अघि सछौं, तर हाम्रो तरिका फरक हुन्छ’–उनले चेतावनी दिदै भने ।

पत्रकारमाथि पनि कुटपिट 

घटनालगत्तै दिवस राई र मिलन राईलाई उपचारार्थ बीपी काइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा लगिएको थियो । घटनाबारे थाह पाएपछि समाचार संकलन गर्न पत्रकारहरु पनि आकस्मिक कक्षमा पुगेका थिए । आकस्मिक कक्षमा घाइतेका परिवारजन, एमालेका नेता तथा युवा संघका नेता, कार्यकर्ताहरु ठुलो संख्यामा एकैछिनमा जम्मा भए ।
धरानबाट प्रकाशित ब्लाष्ट टाइम्सका प्रमुख संवाददाता चन्द्रमणी कट्टेल घाइतेको फोटो खिच्न र घटनाबारे जानकारी लिन पुगेका थिए । घटना र परिस्थितिबारे संवेदनशील नभई प्रश्न गरेपछि आकस्मिक कक्षमा पत्रकार कटेल र युवाहरुबीच तनाव उत्पन्न भयो । केही घटना होला कि भनेर एमाले नेताहरुले उनलाई बाहिर निकाले । त्यहाँ पनि आक्रोशित हुदै पत्रकार कटेल कराउन थालेपछि भने युवाहरुले आक्रमण गरेको प्रत्यक्षदर्शीहरुको भनाई छ ।
युवा संघका नेता राजेन्द्र राईका अनुसार पत्रकार कटेल त्यसबेला मदिरासमेत पिएका थिए भने घटनाबारे पीडित पक्षले बताउदा उल्टै उनले खासमा कुरा यस्तो हो भन्दै आरोपित बिकको गुणगान गाएपछि स्थिति खराब बनेको थियो । पीडित पक्षले सबै थाह रहेछ त, आफै न्युज लेख्नुस न भन्दा पत्रकार कटेल आक्रोशमा आएर समाचार लेख्न मलाई सिकाउने भन्दै कराउन थालेका थिए । त्यसपछि आक्रोशमा आएका युवाहरुले उनीमाथि जथाभावी आक्रमण शुरु गरेको प्रत्यक्षदर्शी एवं आकस्मिक कक्षका एक सुरक्षा गार्डले जानकारी दिए । आक्रमण शुरु भएपछि कट्ेल भाग्दै आकस्मिक कक्षभित्रको प्रहरी बिटतिर भागेका थिए । त्यहाँ पनि युवाहरुबीच घोरिएपछि थप आक्रमणको शिकार भएका थिए । प्रहरी, गार्ड, केही नेताहरुले उनलाई जोगाउदै प्रहरी बिटभित्र हुल्न सफल भएपछि मात्र उनी जोगिएका थिए ।
पत्रकार कटेलमाथि हातपात(आक्रमण) भएको यो नै पहिलो घटना भने होइन । केही महिनाअघि बीपी प्रतिष्ठानकै आकस्मिक कक्षमा सुरक्षा गार्डसँग उनको झगडा भएको थियो । त्यसबेला पनि उनले मादक पदार्थ नै सेवन गरेका थिए । केटिएम सेक्युरिटीका ब्राण्ड एम्बासडर सन्तोष पन्त, प्रोपाइटर रामेश्वर साहले महिला गार्डमाथि भएको यौन दुव्र्यवहार प्रकरण मिलाउन मुख्य भुमिका खेलेको रहस्य सार्वजनिक भएपछि कटेलसँगै समग्र पत्रकारिता आलोचनाको शिकार भएको थियो । 

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे