तीन दिन धरान सडक उत्सव हुने

धरान । पर्यटन प्रर्वद्धन तथा आतिथ्य व्यावसाय(होटल)को प्रर्वद्धन गर्ने उद्देश्यले १३ औं धरान सडक उत्सव २०७३ आयोजना हुने भएको छ । घुम्न जाउ धरान भन्ने नारासहित उत्सव माघ ८, ९ र १० गते तीन दिनसम्म चल्नेछ । उत्सवमा यो पटक साहसिक खेल पर्यटनसँगै धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यहरुको टुर प्याकेज बिशेष आकर्षण रहनेछन् ।
उत्सव अवधिमा होटल तथा लजहरुले पर्यटकहरुलाई बिशेष छुटको पनि घोषणा गरेका छन् । ‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने अवधारणा लिएर होटल एशोसिएशन अफ धरानले विगत १३ बर्षदेखि सडक उत्सव आयोजना गरिरहेको छ । यो बर्ष पनि धरान १२ स्थित चतरालाइनमा उत्सव सञ्चालन हुनेछ । ‘उत्सवमा करिब सय वटा स्टलहरु हुनेछ,जहाँ जातीय साँस्कृतिक परिकार, विभिन्न खानाहरुको स्टल, निःशुल्क स्वास्थ्य परीक्षण, यो क्षेत्रको औद्योगिक र व्यावसायिक उत्पादनहरु हुनेछन्’–उत्सव मुल संयोजक श्याम पोख्रेलले भने–‘र्याफ्टिङ, प्याराग्लाइडिङ, साइक्लिङ, जंगल सफारीलगायतको प्रचारात्मक स्टलहरु पनि हुनेछन् ।’
उत्सवको उद्घाटन नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशीको प्रमुख आतिथ्यिमा हुनेछ । तीन दिनको उत्सव अवधिमा धरानका होटल व्यावसायीहरुले पर्यटकहरुलाई खानाको आइटममा २० प्रतिशत छुट दिने घोषणा गरेका छन् । यस्तै, पर्यटकहरुले बास बस्दा लजमा १५ प्रतिशतको छुट पनि पाउनेछन् । यो छुटको व्यवस्था होटल एशोसिएशनमा आवद्ध होटल, रेष्टुरेष्ट तथा लजहरुमा मात्र लागु हुने अध्यक्ष सुर्वण श्रेष्ठले बताए । उनका अनुसार एशोसिएशनमा एक सय पचासको हाराहारीमा होटल, रेष्टुरेष्ट तथा लजहरु आवद्ध छन् । ‘पर्यटकहरुको तीन दिनसम्म धरानमै बास होस भन्ने उद्देश्यले यो छुटको घोषणा गरेका हौं । उत्सव अवधिमा मनोरञ्जनको विभिन्न गतिविधि र प्रतियोगिताहरु पनि आयोजना गछौं’–अध्यक्ष श्रेष्ठले भने–‘टुर अपरेटरहरुलाई प्याकेजमा छुट दिन पनि आग्रह गरिएको छ । गन्तव्यहरुको प्याकेज बनाएर प्रर्वद्धन गर्न पनि आग्रह गरेका छौं ।’
प्याराग्लाइडिङ, ¥याफ्टिङ, साइक्लिङ, जंगल सफारी, फुटसलमा रमाउन चाहने पर्यटकहरुलाई उत्सवअवधिमा बुकिङ गरेमा बिशेष छुट दिने पर्यटन व्यावसायीहरुले घोषणा गरेका छन् । प्याराग्लाइडिङ उड्न एक जनाले ७ हजार शुल्क तिर्नुपर्नेमा उत्सव अवधिमा ४ हजार ५ सयमा उड्न पाउनेछन् भने ¥याफ्टिङमा ३ हजार ५ सय तिर्नुपर्नेमा उत्सव अवधिमा बुकिङ गरे २ हजार ५ सयमा नै मजा लिन पाउनेछन् । यस्तै, जंगल सफारी गर्न ७ जनाले ५ हजार तिर्नुपर्नेमा उत्सवको बेला बुकिङ गरे ३ हजारमा नै सफारी गर्न पाउने पनि व्यावसायीहरुले जनाएका छन् । यस्तै, फटसलमा सरदर एक घण्टाको एक हजार ५ सय तिर्नुपर्नेमा एक टिमले यो अवधिमा एक हजार मात्र शुल्क तिर्नुपर्ने पनि छुट सुविधा दिइएको छ । उत्सवको आधिकारिक ट्राभल्सकोरुपमा सेक्ष ट्राभलिङ, तीन थुंगा ट्राभल र अमना ट्राभल्स छन् । ‘उत्सवमा रमाउन आउने र प्याकेजमा धरान र धरान आसपास घुम्न चाहने पर्यटकहरुलाई निराश बनाउने छैनौं । हामीसँग २ घण्टादेखि दिनभरिको टुर प्याकेज छ । उत्सवको बेला बिशेष छुटमा उपलब्ध गराउछौं’–सेछ ट्राभलिङका वासुदेव बरालले भने ।
तीन दिनको उत्सवमा ३१ लख ५० हजार खर्च हुने अनुमान गरिएको छ । यो अवधिमा एक करोड बढीको कारोबार हुने र एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटकहरु सहभागी हुने आयोजकको अनुमान छ । उत्सवमा भारतीय पर्यटकहरुलाई भित्र्याउन सिमावर्ती शहरहरुसम्म प्रचारप्रसार गर्न जाने एशोसिएशनका अध्यक्ष श्रेष्ठले जानकारी दिए । उत्सवमा साइक्लिङ प्रतियोगिता, म्याराथुन, रस्सीतान र साँगीतिक तथा साँस्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिने उनले जनाए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे