बोरिङको पानी रिजर्ब वेयरमा,एक महिनाभित्र वितरण गरिने

धरान । सम्झौता अवधि सकिन ७ महिना मात्र बाँकी छदा धरानको बहुप्रतिक्षित खानेपानी आयोजनाको रेल्वे सिस्टमअन्र्तगत जंगलमा बोरिङ गरिएको पानी रिजर्व वेयरमा जोडिएको छ । धरान १७ उदय सामुदायिक वन क्षेत्रमा बोरिङ गरिएको भुमिगत पानीलाई आयोजनाले धरान ११ विष्णुचोकस्थित रिजर्ब वेयरमा पु¥याउन सफल भएको हो ।
तोकिएको समयअवधिमा नगरबासीलाई खानेपानी वितरण गर्ने चुनौती रहेपनि आयोजनाले भने रेल्वे सिस्टमको सफलतालाई ठुलो उपलब्धी मानेको छ । आयोजनाका अनुसार अहिले रिजर्ब वेयर र विछ्याइएको पाइपलाइन सफा गर्ने काम भइरहेको छ । सफाईको यो काम सकिएपछि फेब्रुअरी पहिलो सातादेखि रेल्वे सिस्टमअन्र्तगतका उपभोक्ताहरुलाई ट्रायलकोरुपमा आयोजनाले खानेपानी वितरण शुरु गर्नेछ । सम्झौताअनुसार आयोजना ५ जुलाई २०१७ भित्र सम्पन्न भइसक्नुपर्ने चुनौती छ ।
आयोजनाका परामर्शदाता कम्पनी विल्डिङ डिजाइन अथोरोटिज(बिडिए)का निर्देशक अनिल नेपालका अनुसार विष्णुचोकस्थित रिजर्ब वेयर ५ लाख लिटर क्षमताको हो । कुम्भीआहालस्थलमा ३ ठाउँमा बोरिङ गरिएको छ । त्यहाँबाट करिब ३ किलोमिटर दुरी(उत्तर)मा अवस्थित रिजर्ब वेयरसम्म ८ इञ्चको पाइपबाट पानी पु¥याइएको हो । बोरिङस्थलबाट रिजर्ब वेयर रहेको स्थान १ सय ४० मिटर उचाईमा छ । ‘केमिकल हालेर घर घरमा लैजाने पाइप सफा गछौं, यो काम सक्न १५, २० दिन लाग्छ’–बिडिएका निर्देशक नेपालले भने–‘चाइनाबाट मिटर आउदैछ, त्यसलाई उपभोक्ताको घरमा जोडेपछि पानी सप्लाई हुन्छ ।’
आयोजनाका अनुसार रेल्वे सिस्टमको लागि ३ ठाउँमा बोरिङ गरिए पनि २ वटा मात्र बुस्टर पम्प चल्नेछ । एउटा बोरिङको पम्प भने ‘स्टेण्ड वाई’ रहन्छ । बोरिङस्थलमा ५० हजार लिटर क्षमताको एउटा कलेक्सन च्याम्बर पनि निर्माण गरिएको छ । रेल्वे सिस्टमअन्र्तगत धरानको १७ नम्बर पुरै वडा र ११ वडाको आधा जनसंख्यालाई खानेपानी वितरण हुनेछ । जसअन्र्तगत ३ हजार ५ सय घरधुरी एवं १५ हजार जनसंख्या छन् । हालसम्म १ हजार ५ सय घरमा कनेक्सन भइसकेको छ । यो सिस्टमअन्र्तगत १४ लाख ५५ हजार लिटर प्रतिदिन पानीको माग छ । उत्पादन भने प्रतिदिन २२ लाख २७ हजार लिटर छ । यो क्षेत्रमा प्रतिसेकेण्ड २६.५ लिटर पानी आवश्यक भएपनि प्रतिसेकेण्ड ४०.५ लिटर पानी उत्पादन छ ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले रेल्वे सिस्टमको महिनादिन भित्र परीक्षण सुचारु भए अन्य वडाबासीलाई पनि खानेपानीमा राहत पुग्ने बताए । ‘अहिले संस्थानबाट वितरण हुदै आएको वडा १७ पुरै र वडा ११ को आधा जनसंख्यालाई यो सिस्टमबाट पानी दिन थालेपछि संस्थानलाई लोड कम हुन्छ, र त्यो सिस्टमको पानी अरु वडालाई वितरण गर्न पुग्छ’–कार्यकारी अधिकृत कोइरालाले भने । आयोजनाअन्र्तगत धरानलाई विभिन्न ५ क्षेत्रमा विभाजन गरिएको छ । ती क्षेत्रमा ४ वटा नयाँ रिजर्ब वेयर निर्माण गर्नुपर्नेमा ३ वटा बनिसकेको छ भने पञ्चकन्या जंगल क्षेत्रमा रुख काट्नुपर्ने भएकोले स्वीकृति पाएपछि मात्र निर्माण हुने आयोजना कार्यान्वयन इकाई प्रमुख राजु पोख्रेलले बताए ।
..................................

                                                         ५६ प्रतिशत काम पुरा

एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा सञ्चालिन धरानको खानेपानी आयोजना लगानीको हिसाबले दोस्रो ठुलो आयोजना हो । यसको कुल लागत एक अर्ब ४८ करोड रहेको छ । आयोजना ५ जुलाई २०१७ भित्र सक्ने गरी ठेकेदार कम्पनी तियाञ्जिन तुदी जेभीले सम्झौता गरेको छ । सम्झौता अवधि सकिन ७ महिना मात्र बाँकी रहदा आयोजनाको काम भने ५६ प्रतिशत मात्र पुरा भएको छ ।
आयोजना प्रमुख राज पोख्रेलका अनुसार ३ सय ४५ किलोमिटरमध्ये २ सय २० किलोमिटर पाइपलाइन बिछ्याउने काम सकिएको छ भने मुल पाइप २० किलोमिटर विछ्याउने काम सकिएको छ । अब १० किलोमिटर विछ्याउन बाँकी छ । निर्माण गरिनुपर्ने ४ नयाँ रिजर्ब वेयरमध्ये एउटा बनाउन बाँकी नै छ । पाँच बर्षअघि आयोजनाको सर्वे डिजाइन भएपछिका बर्षमा धरानमा थप नयाँ सडकहरु बनेको छ । पछिल्लो पटक सर्वे हुदा ५० किलोमिटर थप सडकमा पाइप विछ्याउनुपर्ने भार पनि आयोजनालाई छ । पाइपलाइन विछ्याउदा उपभोक्ताहरुलाई हाउस कनेक्सन पनि आयोजनाले निःशुल्क उपलब्ध गराएको छ ।
आयोजना प्रमुख पोख्रेल भने प्रत्येक महिना ८ प्रतिशतको दरका काम भएमा तोकिएको समयमा लक्ष्य पुरा हुने दाबी गर्छन् । ‘अहिलेसम्म ५६ प्रतिशत काम सकिएको छ, अब प्रतिमहिना ८ प्रतिशतले काम गर्दा समयमै काम सम्पन्न हुन्छ’–पोख्रेलले भने–‘विगतमा कुनै महिना १० प्रतिशतले पनि काम भएकोछ, बैठकमा ठेकेदार कम्पनीले पैसा समयमै निकासा हुदा लक्ष्यअनुसार काम सक्छौं पनि भनेको छ ।’
................

                                               म्याचिङ फण्ड जुटाउनै समस्या

एक अर्ब ४८ करोड लागत रहेको आयोजनामा धरान उपमहानगरपालिकाले पनि कुल २५ करोड म्याचिङ फण्ड जुटाउनु पर्ने छ । तर, आन्तरिक आयस्रोत न्युन रहेको धरान उपमहानगरपालिकालाई यो म्याचिङ फण्ड जुटाउन हम्मे परिरहेको छ । हालसम्म १० करोडको हाराहारीमा मात्र उपमहानगरले म्याचिङ फण्ड जुटाउन सकेको छ । अब तोकिएकै अवधिमा काम सक्नुपर्ने हो भने यो बर्ष(जुलाई २०१७ सम्म) उपमहानगरपालिकाले थप १५ करोड म्याचिङ जुटाउनु पर्छ । ‘आयोजनालाई समयमै सम्पन्न गर्ने क्रममा म्याचिङ फण्ड जुटाउन र खानेपानी संस्थानको सम्पत्ति मुल्यांकन गरी बोर्डमा हस्तान्तरण गर्ने प्रक्रियाले समस्या सृर्जना गरेको छ’–कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले भने–‘यो बर्षमा काम सक्ने हो भने हामीले अब १५ करोड जुटाउनु पर्छ, यो समस्या छ ।’
सरकारले धरान खानेपानी व्यवस्थापन बोर्ड गठन गरिसके पनि खानेपानी संस्थानको सम्पत्ति तथा दायित्व मुल्यांकन र हस्तान्तरणको प्रक्रिया ढिलाई हुदा पनि आयोजनाले थप समस्या झेलिरहेको छ । संस्थानका केही कर्मचारीहरुले शुरुवातदेखि नै आयोजनाको विरोध गरिरहेको छ । सम्पत्ति हस्तान्तरण नहुदा खानेपानीको आम्दानी संस्थानले नै उपभोग गरिहेको छ । ‘संस्थानको सम्पत्ति बोर्डमा हस्तान्तरण गर्न ढिलाईले पनि म्याचिङ फण्ड जुटाउन समस्या छ, सम्पत्ति बोर्डमा आउने हो भने प्रतिमहिना ५० लाख देखि एक करोड उपभोक्ताबाट आम्दानी हुन्छ र त्यो म्याचिङमा लगाउन सकिन्छ’–कार्यकारी अधिकृत कोइरालाले भने ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे