हिसान खेलकुद सप्ताह हुदै

धरान । उच्च माध्यमिक विद्यालय संघ नेपाल(हिसान) सुनसरीको ५ औं बार्षिक खेलकुद कार्यक्रमअन्र्तगत हिसान खेलकुद सप्ताह आइतबारदेखि शुरु हुने भएको छ । संघले शुक्रबार धरानमा पत्रकार सम्मेलन गर्दै माघ १६ गतेदेखि २१ गतेसम्म सप्ताहव्यापी विविध खेलकुदका कार्यक्रमहरु आयोजना गरिने जानकारी दिएको हो ।
विद्यार्थीहरुमा रहेको प्रतिस्पर्धी क्षमताको विकास गर्न तथा प्रतिभा प्रर्दशनको अवसर प्रदान गर्न खेल सप्ताह आयोजना गरिएको संघले जनाएको छ । ‘विद्यार्थीलाई नियमित पढाईमा मात्र केन्द्रीत गरेका छैनौं, उनीहरुको चौतर्फी विकासको लागि अतिरिक्त क्रियाकलापमा सहभागी गराउन पनि हामी सचेत छौं’–संघका अध्यक्ष मुकुन्द घिमिरले भने–‘हिसान खेलकुद सप्ताह त्यसैको एउटा उदाहरण हो, यो कार्यक्रमले जिल्लाको उच्चमाविहरुमा रौनक छाएको छ । खेलकुद गतिविधिहरु बढेको छ र उत्सवकोरुप लिएको छ ।’ सामुदायिक विद्यालयका विद्यार्थीहरुले पनि सहभागीताको लागि आग्रह गरेको उल्लेख गर्दै उनले आगामी बर्ष केही विधाहरुमा सामेल गराउन छलफल गरिने बताए ।
संघमा सुनसरी जिल्लाका २४ वटा उच्चमाविहरु सदस्य छन् । ती मध्ये अधिकांशले खेलकुद सप्ताहमा भाग लिनेछन् । सप्ताहको आइतबार इटहरीस्थित कोसी सेन्ट जेम्स माविमा उद्घाटन भएर माघ २१ गते धरानको पुर्वाञ्चल इञ्जिनियरीङ कलेजको खेलमैदानमा विधिवत समापन हुनेछ । इटहरीको कोसी सेन्टमा आयोजना हुने सामुहिक लोकनृत्य प्रतियोगितामा १६ वटा टिम भाग लिनेछ भने धरानको इञ्जिनियरीङ कलेजको मैदानमा हुने फुटबलमा १८ वटा टिम सहभागी हुने आयोजकले जनाएको छ । फुटबलमा धेरै टिम भएकोले शनिबारदेखि नै शुरु हुने संघका संचार विभाग प्रमुख सागर भट्टराईले बताए ।
यस्तै, इटहरीको डिवियम स्कुलमा हुने क्रिकेटमा १८ टिम सहभागी हुनेछ भने डिपो उच्चमाविको कोर्टमा हुने बास्केटवलमा १२ टिमले भाग लिने संघले जनाएको छ । साथै, धरान उच्चमाविमा हुने हाजिरी जवाफमा २० टिम र इटहरीको चामुण्डा उमावि हुने बुद्धिचालमा १२ टिम सहभागी हुने आयोजकले जानकारी दिएको छ । ‘खेलकुदले विद्यार्थीहरुलाई धेरै पाठ पनि सिकाउछ । हारले फेरि कसरी जित्ने र जितले त्यसलाई कसरी कायम राख्ने भन्ने सिकाउछ’–खेलकुद विभाग प्रमुख एवं युरेका आवासिय उमाविका प्रिन्सिपल राजेन्द्र गुरुङले भने । प्रतियोगिताका विजेता खेलाडी र विद्यालयलाई ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने आयोजक संघले जनाएको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे