धरानको एयरपोर्ट निर्माण प्रक्रिया पुनः सुरु

धरान । नगरबासी र उपमहानगरपालिकाले उच्च प्राथमिकता दिएपनि एक दशकदेखि थाती रहेको धरान १७ डाँडाघोपास्थित धरान एयरपोर्ट निर्माणको प्रक्रिया अघि बढेको छ । सरकारले यहाँको एयरपोर्टको लागि दुई करोड बजेट विनियोजन गरेपछि नागरिक उड्यान प्राधिकारणले प्राथमिकता दिदै प्रक्रिया अघि बढाएको हो । यसअघि ट्विनअटर विमान मात्र उडान र अवतरण गर्नसक्ने क्षमताको स्टल एयरपोर्ट निर्माण गर्न अध्ययन भएको थियो अब भने एटिआर ४२ सम्मको विमान उडान र अवतरणको लागि एयरपोर्ट बनाउन अध्ययन शुरु हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार आर्थिक बर्ष २०७३/०७४ मा नेपाल सरकारले धरान एयरपोर्टको लागि दुई शिर्षकमा बजेट विनियोजन गरेको छ । उक्त बजेटमध्ये डिटेल सर्वे गर्न ५० लाख हो भने एयरपोर्टको वातावरणीय प्रभाव मुल्यांकन(इआइए)लगायत अन्य आवश्यक निर्माणको काम गर्न डेढ करोड रुपैया विनियोजन भएको हो । प्राधिकरणले ईआइएको लागि तालुक मन्त्रालयमा ‘टिओआर एण्ड स्कोपिङ डकुमेन्ट’ पेश गरिसकेको छ भने डिटेल सर्वेको काम चाडै शुरु गरिने प्राधिकरणको एरोड्रोम इञ्जिनियरीङ विभागका ईञ्जिनियर पुष्पराज न्यौपानेले जानकारी दिए । ‘इआइएको लागि मन्त्रालयमा टिओआर एण्ड स्कुपिङको डकुमेन्ट पेश भइसकेको छ, त्यो स्वीकृत भएपछि इआइएको काम शुरु हुन्छ’–एयरपोर्टबारे उपमहानगरसँग छलफल गर्न धरान आएका इञ्जिनियर न्यौपानेले भने–‘इआइएको लागि मन्त्रालयको स्वीकृत पर्खिनु परेपनि डिटेल सर्वेको काम चाडै शुरु हुन्छ ।’
करिब ५ बर्षअघि पनि धरानको एयरपोर्ट निर्माणको लागि डिटेल इञ्जिनियरीङ सर्वे भएको थियो । उक्त सर्वे ट्विनअटर जस्ता साना विमान उडान र अवतरणको क्षमता भएको एयरपोर्टको लागि थियो । तर, अहिले स्थानीयस्तरबाट नै ठुलो क्षमताको विमानस्थलको माग भएको र त्यो भविष्यको लागि पनि उपयोगी तथा लाभदायी हुने भएकोले पुनः डिटेल सर्वे गरिन लागेको प्राधिकरणको भनाई छ । ‘यहाँ जग्गा उपलब्ध हुन्छ, ठुलो क्षमताको विमान चल्न सक्यो भने जनतालाई सस्तो पनि हुने भएकोले भविष्यको लागि लाभदायी पनि हुन्छ’–इञ्जिनियर न्यौपानेले भने–‘प्राधिकरण सकरात्मक छ, र प्रक्रिया पनि अघि बढीरहेकै छ । धरानबासीहरुले धैर्यता राख्नुपर्छ ।’ यसअघिको सर्वेमा ७ सय ५० मिटर लम्बाई र २३ मिटर चौडाईको रनवे थियो । यसमा १६, १७ जना यात्रु बोक्ने क्षमताको ट्विनअटर विमान मात्र उडान र अवतरण हुनसक्छ । अब भने कम्तीमा ४२ जना यात्रु क्षमता भएको एटिआर ४२ विमान उडान र अवतरण गर्नसक्ने क्षमताको एयरपोर्ट बनाउन सर्वे हुन लागेको हो । यसअघिको सर्वेबाट ट्विनअटरको लागि १९ विघा जग्गा आवश्यक भएको देखिएको थियो भने ठुलो जहाजको लागि कम्तीमा ४० विघा जमिन आवश्यक पर्नेछ । त्यसको लागि कम्तीमा १२ सय मिटर लम्बाई र ३० मिटर चौडाईको रनवे चाहिन्छ ।
प्राधिकरणले एयरपोर्ट निर्माणको प्रक्रियालाई प्राथमिकता दिएसँगै उपमहानगरपालिकाले पनि सुचना अधिकृत भक्तिराज शर्मालाई एयरपोर्ट योजनाको सम्पर्क व्यक्ति तोकेको छ भने प्राविधिकतर्फ इञ्जिनियर देशकुमार राईलाई जिम्मेवारी दिइएको कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । ‘एयरपोर्ट धरानको विकासको प्रमुख खुट्किलो हुन्छ भन्ने ठानेर प्राथमिकता दिएका छांै । प्राधिकरणले पनि एयरपोर्ट बनाउन बाधक छैनौं, साधक नै हुन्छौ भनेकोले आशावादी छौं’–उनले भने–‘परिषद सकेपछि स्थानीय जनता, जग्गावालाहरुसँग सार्वजनिक सुनुवाई पनि गछौं ।’ उपमहानगरपालिकाले प्राधिकरणलाई उपलब्ध गराउनुपर्ने ७ बिघा जग्गा विनासर्त दिन सर्वदलीय सहमति भइसकेको पनि उनले खुलाए । यतिको स्वामित्वमा भएको जग्गा, नम्बरी जग्गा र सुकुम्बासी बसेको जग्गाको उचित व्यवस्थापनको लागि पनि पहल भइरहेको कोइरालाले बताए ।
धरान नगरपालिकाले २०६० सालदेखि नै सार्वजनिक निजी साझेदारी अवधारणाअन्र्तगत यति इन्कर्पोरेट प्रालिसँग मिलेर एयरपोर्ट बनाउने प्रक्रिया थालेको थियो । यसको लागि तत्कालीन नगरपालिकाको रोहबरमा धरान १७, डाँडाघोपाका स्थानीयले ६ महिनाभित्र एयरपोर्ट निर्माण कार्य शुरु नभए किनेकै भाउमा जग्गा फिर्ता गर्ने सर्तमा यतिलाई सस्तो मुल्यमा जग्गा बिक्री गरेका थिए । त्यहाँ यतिको ७ बिघा साढे ३ कट्टा साढे ५ धुर जग्गा छ । तर, सरकारले यतिलाई एयरपोर्ट बनाउन स्वीकृति दिएन । पछि नगरपालिका र नगरबासीको चर्को दबाबमा प्राधिकरण आफै धरानमा एयरपोर्ट बनाउन कस्सियो । डिटेल सर्वे भएपछि त्यसको आधारमा २०६९ बैशाख १७ गते जग्गा लगायत अन्य प्रावधानहरु पुरा गर्ने गरी विमानस्थल निर्माणको सैद्धान्तिक स्वीकृति प्रदान गर्ने मन्त्रीस्तरीय निर्णयसमेत भएको थियो ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे