मुन्धुम साँझमा सुगम संगीत र कविता

धरान । मुन्धुम बुटिक एण्ड मेख्ली हाउस धरान ८ की प्रोपाइटर मुनु मिभकलाई गीत,संगीतमा त्यति रुचि थिएन । कामको सिलसिलामा दुई बर्षअघि काठमाण्डौं पुगेकी उनी आफन्तहरुसँग एक सांगीतिक कार्यक्रममा पनि सहभागी भइन् । उनले त्यहाँ गायक गणेश रसिक र सुगम गीत,संगीत सुन्ने मौका पाइन् ।
त्यो मौकाले उनलाई सुगम गीत, संगीतप्रति असाध्यै मोहित तुल्यायो । त्यसपछि उनलाई लाग्यो, यस्तो गीत र संगीत त अरुलाई पनि सुनाउनुपर्छ । अहिले उनी त्यही अठोट पुरा गर्ने तरखरमा छिन् । सिमित स्रोताहरुमा लोकप्रिय सुगम संगीतको प्रर्वद्धनको लागि उनले आगामी माघ २२ गते धरानमा मुन्धुम साँझ आयोजना गर्दैछिन् । उक्त सांगीतिक कार्यक्रममा लोकप्रिय गायक गणेश रसिकसँगै मुन्धुमी गीत, संगीतमा गहिरो अध्ययन गरेकी गायिका झुमा वनेमको लाइभ प्रस्तुती रहनेछ भने अर्का चर्चित कवि उपेन्द्र सुब्बाको पनि कविता वाचन हुनेछ ।
सुगम संगीतले नेपाली मौलिकता बोकेको र यसको छुट्टै बिशेषता पनि भएकोले कार्यक्रम आयोजना गर्न लागेको मिभकले बताइन् । ‘म गीत,संगीतमा त्यति रुचि भएको मान्छे होइन, तर जब काठमाण्डौंमा गणेश दाईको गीतहरु सुने, असाध्यै प्रभावित बने । यस्तो गीत त अरुलाई पनि सुनाउनुपर्छ भन्ने लाग्यो, र अहिले कार्यक्रमको तयारीमा जुटेको छुँ’–शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले भनिन्–‘समय र सबैको साथ रह्यो भने हरेक बर्ष निरन्तर कार्यक्रम गर्दै जानेछु ।’ कार्यक्रममा गायिका वनेमले आफ्ना मौलिक मुन्धुमी गीत, संगीतको प्रस्तुती दिने उनले बताइन् ।
गायक गणेश रसिकले कलाकारहरुको लागि यस्तो कार्यक्रम ठुलो अवसर भएपनि आयोजकलाई आर्थिकरुपमा चुनौतीपुर्ण हुने बताए । सुगम गीत, संगीतका स्रोताहरु सिमित हुने भएकोले कार्यक्रम गर्नु जोखिमपुर्ण भए पनि मुनु मिभकले साहस गरेको भन्दै प्रसंसा पनि गरे । ‘यस्तो कार्यक्रम गायकहरुले गर्न सम्भव छैन, किनभने आर्थिकरुपमा पनि नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । तर, उहाँले चुनौतीलाई स्वीकार्दै साहस गर्नुभएको छ, यो हामी जस्ता कलाकारको लागि ज्यादै खुशीको कुरा हो’–गायक रसिकले भने–‘सुगम गीत, संगीत सुन्नबाट बञ्चित स्रोताहरुले लाइभ सुन्ने अवसर पाउनुहुनेछ ।’
गायक रसिक कुनै समयको चर्चित लेकाली समुहको संस्थापकमध्येका एक हुन् । हाल उनी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव छन् । उनको २०५८ सालमा पहिलो एकल साँझ भएको थियो भने हालसम्म देश विदेशमा गरि एक दर्जन एकल सांगीतिक प्रस्तुती दिइसकेका छन् ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे