व्यावसायीको मृत्युपछि बन्धकी राखेको गहना र नगद जोखिममा

धरान । भरौल १ कालाबञ्जारस्थित भरौल सुनचादी पसलका सञ्चालकको अचानक मृत्यु भएपछि त्यसक्षेत्रका सय भन्दा बढी सर्वसाधारणहरुले बन्धकी राखेको गरगहना र नगद लगानी जोखिममा परको छ । व्यवसायी उमेश बिकको गत साउन तेस्रो साता मृत्यु भएपछि उनको पसलमा गरगहना बन्धकी राखेको र ब्याज पाउने आशामा नगद लगानी गरेकाहरु अहिले विचल्ली झै बनेका छन् । आफ्नो नगद र गहना कसरी उकास्ने भनेर उनीहरु चिन्तित छन् ।
उमेशको मृत्युपछि लालबहादुर सिगौरे नाम गरेका उनका जेठानले बन्धकी राखेको गरगहना उकासिदिने भन्दै विल र नगदसमेत लगेर गायब बनेको पीडितहरुको भनाई छ । ज्वाई उमेशको मृत्यु पछि लालबहादुर भरौल आएर बहिनी मिना(मृतककी श्रीमति) को साथमा एक महिना पसलमा बसेको र त्यसबीचमा थुप्रैको सामान उकासिदिने भन्दै पैसा र विल उठाएर गायब बनेको उनीहरुको आरोप छ । लालबहादुरको इटहरीस्थित विराटनगरलाइनमा सुनचादी पसल नै छ । ‘उमेशको के कसरी मृत्यु भयो हामीलाई केही थाह छैन, एक्कासी लाश आएपछि मात्र थाह पायौं’–स्थानीय कमला कार्कीले भनिन्–‘त्यसपछि उमेशको जेठान आएर महिनादिन जति पसलमा बसेको थियो, उनले हामीलाई चिन्ता नगर्नुस् ज्वाईले एकै ठाउँमा सामान राखेको रहेछ, सबैको एकैचोटि उकासिदिन्छांै भनेर विल र पैसा लियो । पछि त एकाएक गायब भयो ।’
पीडित कार्कीले पसलमा ५.९२ ग्रामको गहना राखेर ८ हजार लगेकी थिइन् । विकको मृत्युपछि ३ सय सामान हात लागेपछि दिने सर्तमा ८ हजार ५ सयसहित विल जेठान सिगौरेलाई बुझाएकी थिइन् । तर, न सामान हात लाग्यो, न साथमा पैसा नै रह्यो । भरौल ४ रामझोडाकी कल्पना कटवालले पनि सिक्री, चुरा, औठी, हसुली राखेर ५७ हजार झिकेकी थिइन् । उकास्नको लागि ६० हजार बुझाइन् तर सामान दिएनन् । घरबाट सधै पसल धाउन नसकेपछि उनले ४५ हजार थप बुझाएर हसुलीवाहेक अरु सामान लगिन्, पछि ४५ हजार पनि फिर्ता दिने सर्तमा । अहिले पसल बन्द गरेर उमेशकी श्रीमति मिना र उनका दाजु गायब बनेपछि ४५ हजारसँगै हसुली पाउन उनी भौतारिरहेका छन् । ‘अस्ति लालबहादुरलाई भेट्न गए, उल्टै झुटो आरोप लगाउने भन्दै हप्काएर पो पठायो’–उनले भनिन् ।
मृतकका जेठान सिगौरे भने आफुले कसैको पनि पैसा लिएर फरार नभएको दाबी गर्छन् । ज्वाईले आफ्नो २० लाख रुपैया चलाएको र आफु स्वयम पनि पीडित भएको बेला भरौलका केही मान्छेहरुले बेइज्जत हुने गरी आरोप लगाएको उनले बताए । ‘म स्वयम पनि पीडित छु, एक त ज्वाईको मृत्यु भएको छ, र मेरो लगानी पनि त जोखिममा प¥यो’–सिगौरेले भने–‘न म भरौल गएर ज्वाईको पसलमा बसेको छुँ, न मैले विल र पैसा नै उठाएर गायब भएको छुँ ।’ पीडित भनिएका १० जना स्थानीयले भरौलस्थित प्रहरी चौकीमा निवेदन दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो । तर, उनले ४ घण्टाको समय मागेर वकिल साथीको सहयोगमा जिल्ला अदालत सुनसरीबाट तत्काल पक्राउ नगर्न भन्ने आदेश ल्याएका थिए । ‘मलाई नचाहिदो आरोपमा पक्राउ गर्न खोजेपछि सत्यतथ्य पत्ता लागोस र सही फैसला होस भनेर अदालत गुहारे’–उनले भने । सिगौरेले अदालतको सहारा लिएर उम्केपछि पीडित भनिएकाहरु पनि उनीविरुद्ध ठगी मुद्दामा कानुनी कारबाहीको प्रक्रियामा जाने तयारीमा छन् । मृतक बिक इमान्दार र विश्वासिलो व्यक्ति भएको तर उनका जेठानले बेइमानी गरेको पीडितहरुको भनाई छ । मृतककी श्रीमति मिना बिकसँग सम्पर्क प्रयास गर्दा सम्पर्क हुनसेकन ।
स्थानीयका अनुसार पसलमा गहना राख्ने र पैसा लगानी गर्नेहरुको संख्या यकिन छैन । अहिलेसम्म भरौल र बक्लौरीबाट गरि सयको हाराहारीमा पीडितहरु जुटेका छन् । यतिको संख्यामा नै करोड बढीको गरगहना र नगद जोखिममा परेको देखिएको छ । पसलमा व्यक्तिसँगै सामाजिक संस्था र सहकारीको लगानीसमेत रहेको थियो । करिब पचास जनाले त बन्धकीको सामान उकास्न भनेर विल र पैसा बुझाइ सकेका थिए । ‘सबैभन्दा धेरै मैले नगद ६ लाख २० हजार र सुन २ तोला ४ आना फिर्ता पाउनुछ, अहिलेसम्म पीडितहरुको संख्या हेर्दा एक करोड बराबरको देखिन्छ । तर, विस्तारै संख्या बढ्दै छ, कतिलाई त उमेश मृत्यु भएको भर्खर थाह पाउदैछन्’–श्याम कार्कीले भने । ब्याजको आशमा भरौल ५ तिनकुनेकी आशा लिम्बुले श्रीमान् विदेश हुदा पठाएको २ लाख र बाह्रआनी पनि दिएकी थिइन् । मृतक बिकले सहिछाप गरिदिएको कागज उनीसँगै छ । श्रीमान् घर आएर त्यसको हिसाब खोजिरहेकोले उनी तनावमा छिन् । ‘श्रीमान् आएर पैसा के ग¥यौं भनेर सोधिरहनु भएको छ, यो सब थाह पाउनुभयो भने त बर्वाद नै हुन्छ’–उनले भनिन् ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे