आजदेखि धरान सडक उत्सव

धरान । पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आज(शनिबार)देखि धरानमा तीन दिने १३ औं धरान सडक उत्सव २०७३ शुरु हुदैछ । घुम्न जाउ धरान भन्ने नारासहित शुरु हुने उत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजक होटल एशोसिएशन अफ धरानले जानकारी दिएको छ ।
एशोसिएशनले पत्रकार सम्मेलन गर्दै धरान १२ स्थित चतरालाईनमा हुने उत्सवमा ९० वटा स्टल रहने जानकारी दिएको छ । ती मध्ये ३५ वटा स्टलमा सामाजिक क्षेत्र, पर्यटन सम्बद्ध संघसंस्था, जातीय परिकार तथा निःशुल्क स्वास्थ्य शिविरजस्ताको स्टल रहने एशोसिएशनका महासचिव तथा उत्सव मुल संयोजक श्याम पोख्रेलले बताए । उनका अनुसार यो बर्ष विगतको भन्दा धेरै वृहत र भव्यरुपमा उत्सव आयोजना हुनेछ । ‘यो पटक विविधता हुनेछ । सबै क्षेत्रलाई समेट्ने प्रयास गरेका छौं’–उनले भने–‘इलामबाट त्यहाँको उत्पादनको स्टलहरु पनि हुन्छ, दुग्ध उत्पादन, जीवन विमा, मोवाइल, ल्यापटप, खानपिन सबैको सहुलियतमा स्टल हुनेछ ।’
विगतका बर्षहरुमा आयोजना भएको सडक उत्सवमा खानाको स्टलहरु धरै हुन्थ्यो । यो पटक र्याफ्टिङ, प्याराग्लाइडिङ, साइक्लिङ, जंगल सफारीलगायतको प्रचारात्मक स्टलहरु हुनेछ भने सुनसरी उद्योग वाणिज्य संघले जिल्लाको बेसारलाई प्रर्वद्धन गर्न पनि स्टल राख्नेछ । केन्द्रीय प्रविधि क्याम्पसका विद्यार्थीहरुले सचेतनामुलक स्टल राख्नेछन् भने फोटो प्रर्दशनी पनि हुनेछ । माघ १० गतेसम्म सञ्चालन हुने उत्सवको उद्घाटन नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले शनिबार गर्नेछन् । उद्घाटन समारोहमा विभिन्न  जातीय साँस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
उत्सव अवधिमा एक करोड बढीको कारोबार र डेढ लाखको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु सहभागी हुने आयोजकको अनुमान छ । आयोजकको एक टोली उत्सव प्रचार प्रसार गर्न काकडभिट्टा हुदै पानीटंकी र जोगवनी हुदै काटियार बसपार्कसम्म पुगेको थियो । उत्सवमा साइक्लिङ प्रतियोगिता, म्याराथुन, रस्सीतान र साँगीतिक तथा साँस्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिनेछ ।
उत्सवमा साहसिक खेल पर्यटनसँगै धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यहरुको टुर प्याकेज पनि पर्यटन व्यावसायीहरुले सहुलियतमा पर्यटकहरुलाई उपलब्ध गराउने घोषणा गरेका छन् भने होटल तथा लजहरुले पर्यटकहरुलाई उत्सव अवधिभर बिशेष छुट दिने जनाएको छ । उत्सवको आधिकारिक ट्राभल्सकोरुपमा सेक्ष ट्राभलिङ, तीन थुंगा ट्राभल र अमना ट्राभल्स छन् । एशोसिएशनका अध्यक्ष सुवर्ण श्रेष्ठका अनुसार तीन दिनको उत्सव अवधिमा धरानका होटल व्यावसायीहरुले पर्यटकहरुलाई खानाको आइटममा २० प्रतिशत छुट दिनेछन् भने पर्यटकहरुले बास बस्दा लजमा १५ प्रतिशतको छुट पनि पाउनेछन् । एशोसिएशनमा एक सय पचासको हाराहारीमा होटल, रेष्टुरेष्ट तथा लजहरु आवद्ध छन् ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे