किरात जनसभाको लागि प्रचारात्मक अभियान


धरान । पुर्वी नेपालको १६ जिल्लालाई किरात राज्य घोषणाको माग गरिरहेको किरात राई यायोक्खाले यही असोज २ गते धरानमा गर्न लागेको वृहत किरात जनसभाको लागि शान्तिपुर्ण प्रचारात्मक कार्यक्रमहरु सार्वजनिक गरेको  छ । संविधानमा पहिचान र अधिकार सुनिश्चितताको लागि देशभर हिंसात्मक आन्दोलन भइरहदा यायोक्खाले भने किरात राज्यको लागि दबाबमुलक रचनात्मक एवं प्रचारात्मक कार्यक्रम मात्रै गर्ने जनाएको छ ।
जनसभाअघि हुने प्रचारात्मक कार्यक्रमबारे जानकारी दिन शुक्रबार धरानमा आयोजित पत्रकार सम्मेलनमा यायोक्खाले माग पुरा गराउन आफुले कहिल्यै बन्द,हडताल नगरेको जिकिर गर्दै भविष्यमा पनि नहुने बताएको छ । ‘पहिचान र अधिकारको आन्दोलनलाई स्थापित गर्नकै लागि वृहत किरात जनसभा धरानमा गर्न लागेका हौं । हामी पुर्वका १६ जिल्लालाई किरात राज्य बनाउनुपर्छ भन्ने पक्षमा हौं, तर यो माग पुरा गर्न बन्द, हडताल गर्दैनौं र गरेका पनि छैनौं’–यायोक्खाका जिल्ला अध्यक्ष शुभचन्द्र राईले भने–‘त्यसको विकल्पमा रचनात्मक कार्यक्रमहरु गरेर जनमत सृर्जना गछौं ।’
जनसभाको प्रचार विभागका अनुसार भदौ २७ गते विष्णुपादुकास्थित वाबु(चिण्डो) डाँडाबाट किरात प्रदेश हेर्दा कार्यक्रम आयोजना गरिने जनाएको छ । धरानलाई समग्र किरात प्रदेशकोरुपमा परिकल्पना गरेर कवि, साहित्यकार र चित्रकारहरुले सृर्जना गर्ने प्रचार विभाग प्रमुख हिन्दुहाङ राईले बताए । उनका अनुसार धरानबाट पत्रकार, चित्रकार, साहित्यकारको टोली पदयात्रा गर्दै वाबु डाडा पुग्नेछन् र एक रात त्यही बिताउनेछन् । यसैगरि, भदौ २८ गते किरात प्रदेशमा रहेका पत्रकार र किरात राई विद्यार्थी संघबीच मैत्रीपुर्ण फुटबल खेल हुने प्रचार विभागले जनाएको छ भने भदौ २९ गते किरात राई साँस्कृतिक कलाकार संघको साँस्कृतिक कार्यक्रम, भदौ ३० गते यायोक्खा अन्र्तगत विभिन्न भातृ संगठनबीच भाले जुधाई हुनेछ भने भदौ ३१ ग्ते किरात राई पत्रकार संघ र राई कलाकार संघबीच मैत्रीपुर्ण बास्केटवल प्रतियोगिता र भदौ ३१ गते किरात जनसभा आयोजक समितिले अन्तिम पत्रकार सम्मेलन गर्ने जानकारी दिएको छ ।

यायोक्खा पुर्वी नेपालमा बसोबास भएको राई जातिको छाता संगठन हो । यसले आफ्नो छैठौं सम्मेलन मार्फत पुर्वी नेपालको १६ जिल्लालाई किरात स्वायत्त राज्य घोषणा गर्नुपर्ने राजनैतिक निर्णय गरेको थियो । त्यसयता आफ्ना जिल्ला समिति, भातृसंगठनहरुमाझ किरात राज्यबारे गहन छलफल र विभिन्न स्थानमा सभा, सम्मेलन गरेर जनस्तरमा प्रचार अभियान चलाउदै आएको छ । किरातमा सभ्यता, वृहत जाति र भुगोल पनि भएकोले सबै जाति, समुदाय समेटिने यायोक्खाको धारणा छ । किरात राज्यअन्र्तगत नै यायोक्खाले लिम्बुवान र खम्बुवान स्वायत्तता हुनुपर्ने प्रस्ताव छ । पुर्वी नेपालको विभिन्न १४ जिल्ला समेटेर प्रमुख दलले प्रदेश नम्बर १ को सिमांकन गर्नुलाई सकरात्मक लिए पनि यायोक्खा सन्तुष्ट छैन । ‘प्रदेश नम्बर १ को सिमांकन हामीले प्रस्ताव गरेको किरात राज्यको सिमांकनसँग ९० प्रतिशत मेल खाएकोले सकरात्मक छौं, तर लिम्बुवान, मधेश, थरुहटलगायतको पहिचान र अधिकारको आन्दोलन चलिरहेकोले ती आन्दोलनप्रति पनि एक्यवद्धता छ । त्यही पहिचानको आन्दोलनलाई उठाउन, स्थापित गर्न जनसभा गर्न लागेका हौं’– राईले थपे । यायोक्खाले दाबी गरेको दोलखा र रामेछापबाहेकका जिल्ला प्रदेश नम्बर १ मा छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे