क्षेत्रीयस्तरको गोठबहादुर स्मृति भेट्रान प्रतियोगिता हुने
धरान । यही असोज १३(बुधबार)देखि धरानमा क्षेत्रीयस्तरको प्रथम पुर्वाञ्चल गोठबहादुर स्मृति भेट्रान फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । पुर्व खेलाडीहरु मिलेर गठन गरेको धरान भेट्रान फुटबल क्लबको आयोजनामा धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ ।
असोज २३ गतेसम्म हुने प्रतियोगितामा पुर्वको झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाका विभिन्न ११ वटा भेट्रान क्लबहरुले सहभागीता लिने आयोजकले जानकारी दिएको छ । ‘यो प्रतियोगिताले युवा खेलाडीहरुलाई फुटबल खेलमा समर्पित भएर खेलिरहन उर्जा प्रदान गर्नेछ भन्ने आशा लिएका छौं । साथै, हाल विभिन्न पेशामा रहेर फुटबलबाट टाढिएका पुर्व खेलाडीहरुलाई पनि संगठित गर्ने, स्वस्थ्य जीवन र सेभ फुटबलको नारामा गोलबद्ध गर्ने उद्देश्य लिएका छौ’–प्रतियोगिताको उद्देश्यबारे आयोजक क्लबका अध्यक्ष रोमी मोक्तानले भने ।
स्थानीयस्तरमा भेट्रानहरुको खेल एवं प्रतियोगिता आयोजना हुदै आएपनि पुरस्कार राशी र सहभागीताको दृष्टिकोणले पुर्वमा क्षेत्रीयस्तरको यो नै पहिलो र ठुलो प्रतियोगिता हो । प्रतियोगिताको विजेताले नगद ७५ हजार र उपविजेताले ४० हजार रुपैया पाउनेछ । यसअघि विराटनगरमा भएको भेट्रान प्रतियोगिताको विजेताले ५० हजार पुरस्कार राशी पाएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी र हाई स्कोररले जनही नगद ५ हजार पाउनेछ भने हरेक खेलको म्यान अफ दि म्याचले मेहर्स कलेक्सनबाट जर्सी पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको लागि धरान उपमहानगरपालिकासँगै विभिन्न देशमा रहेका पुर्वखेलाडी एवं खेलप्रेमीहरुबाट आर्थिक सहयोग आउने अपेक्षा गरेको अध्यक्ष मोक्तानले बताए ।
प्रतियोगितामा आयोजक क्लबसँगै धनकुटाको पुर्वाञ्चल भेट्रान ब्रर्दश, धरानको पुर्वाञ्चल यातायात भेट्रान, विराटनगरको सिएमजि भेट्रान क्लब, हरैचाको विराट भेट्रान क्लब कोशी र झापाको चन्द्रगढी भेट्रान क्लब सहभागी हुदैछ । यस्तै, मोरङको उर्लाबारी भेट्रान क्लब, विराटनगरको युनाइटेड स्पोर्टस भेट्रान क्लब, डाँगीहाट भेट्रान फुटबल क्लब, दुहबीको एलेभेन एरोज भेट्रान क्लब र दमकको लखनपुर भेट्रान क्लबले पनि भाग लिने आयोजकले जनाएको छ । प्रतियोगितालाई निरन्तरता दिदै आगामी बर्षहरुमा राष्ट्रिय एवं अन्र्तराष्ट्रियस्तरको प्रतियोगिता बनाउने योजना रहेको पनि आयोजकको भनाई छ । ‘भेट्रान प्रतियोगिता भएकोले ३५ बर्ष उमेर नाघेकाहरुले मात्रै खेल्न पाउछ । व्यावसायिक खेल खेलिरहेको खेलाडी भए पनि ३५ बर्ष उमेर कटेको भए उसले पनि प्रतियोगितामा खेल्न छुट छ’–क्लबका महासचिव बिक्रम राईले भने ।प्रतियोगिता गर्न तीन बर्षको सम्झौता
पुर्वमा पहिलो पटक आयोजना हुन लागेको ठुलो पुरस्कार राशीको भेट्रान प्रतियोगिताको लागि हाल अष्ट्रेलियामा रहेका धरानका पुर्व खेलाडी किसोर राईको महत्वपुर्ण योगदान छ । उनले सहयोग र साथ नदिएको भए यो प्रतियोगिता आयोजना गर्न सम्भव नभएको क्लबका अध्यक्ष मोक्तानले बताए ।उनका अनुसार धरान १६ घर भएका पुर्व खेलाडी राईले आफ्नो बुबा गोठबहादुर राईको स्मृतिमा प्रतियोगिता सञ्चालन गर्न ३ बर्षको सम्झौता गरेका छन् । प्रतियोगिताको नाम गोठबहादुर स्मृति राख्ने र त्यसवापत बार्षिकरुपमा २ लाख रुपैया प्रायोजन गर्ने क्लब र पुर्वखेलाडी राईबीच सम्झौता छ । ‘उहाँ(किशोर) एकदम राम्रो खेलाडी हो, तर अहिले अष्ट्रेलियामा हुनुहुन्छ । उहाँकै साथ, हौसला र सहयोगले गर्दा प्रतियोगिता गर्न हामीले आँट गरेका हौं’–अध्यक्ष मोक्तानले भने–‘विदेशमा रहेका अरु पनि हाम्रो साथीभाई, पुर्व खेलाडीहरुले सहयोग गर्ने वचन दिइरहनुभएको छ ।’ आयोजक क्लबका अनुसार प्रतियोगिताको लागि अष्ट्रेलियाबाट डेढ लाख, हङकङबाट डेढ लाख, बेलायतबाट एक लाख, अमेरिकाबाट ५० हजार र दुबई, कतार, बहराईनबाट पनि ५० हजार रुयैया सहयोग आउने अनुमान गरिएको छ ।

Comments
Post a Comment