धनकुटे रोडमा नयाँ पुल बन्ने



धुरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्ने धनकुटे रोडस्थित बिहिबार राती पुल भत्किएको खहरेमा नयाँ पुल निर्माण हुने भएको छ । सडक डिभिजन कार्यालय विराटनगरका इञ्जिनियर एवं प्राविधिकहरुले भत्किएको पुलको स्थलगत निरीक्षण गरिसकेपछि त्यहाँ नयाँ पुल नै बनाउनुपर्ने निष्कर्षमा पुगेको हो ।
डिभिजन कार्यालयका प्राविधिकहरुले शुक्रबार नै भत्किएको पुलको निरीक्षण गरेका थिए भने आइतबार डिभिजन प्रमुखसहितको टोली आएर पुनः निरीक्षण गरेको थियो । निरीक्षणमा धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत, योजना शाखाका इञ्जिनियरसमेत थिए । धनकुटे रोडले परिचित उक्त सडक खण्डमा गएको बिहिबार राती पुल भत्किएको थियो । उक्त पुल भत्कदा सर्वसाधारणहरुलाई आउजाउमा कठिनाई भइरहेको छ । कतिपय स्थानीय जोखिम मोलेर भत्किएको पुलको संरचनाबाटै खहरे पार गरिरहेका छन् ।


धरान उपमहानगरका योजना शाखा प्रमुख इञ्जिनियर सुरज श्रेष्ठका अनुसार पुलको पश्चिमतफको फाउण्डेशन नयाँ बनाएर अन्य पुरानै संरचना उपयोग गर्नेबारे पनि सोचिएको थियो । तर, खहरेबीचमा झरेको संरचनालाई कुनै क्षतिविना उठाउन र पछि राख्न सम्भव नदेखिएकोले नयाँ पुल नै निर्माण गर्नुपर्ने निष्कर्षमा सडक डिभिजन कार्यालय पुगेको इञ्जिनियर श्रेष्ठले बताए । ‘फाउण्डेशन बनाउर पुरानै पुलको संरचनालाई उपयोग गर्न पो सकिन्छ कि भनेर पनि अध्ययन भयो, तर पुललाई जोगाएर उचाल्ने, अर्को ठाउँमा राख्ने र पछि ल्याएर फाउण्डेशनमाथि राख्नै नसकिने देखियो’–इञ्जिनियर श्रेष्ठले भने–‘त्यही भएर त्यहाँको संरचना हटाएर नयाँ पुल नै बन्ने भो ।’

सडक डिभिजनले सोमबारदेखि नै एक्जाभेटर ल्याएर खोलामा थुप्रिएको पुलको संरचनाहरुलाई हटाउने भएको छ । पानी परिरहेकोले बाढी आउने र थुनिएर मानव वस्तीलाई पनि थप क्षति गर्ने खतरा भएकोले तत्काल थुप्रिएको पुलको संरचना हटाउन डिभिजन कार्यालयले प्राथमिकता दिने भएको छ । दुई दिनभित्रमा क्लियर भइसकेपछि सर्वे र डिजाइनको लागि प्राविधिकहरु खटाउने जानकारी दिएको इञ्जिनियर श्रेष्ठले बताए । धरान उपमहानगरले समन्वयको काम गर्ने जानकारी दिदै उनले नयाँ पुल निर्माण हुन भने समय लाग्ने खुलाए ।
कोशी राजमार्गबाट छुटिएको धनकुटे रोड बीपी प्रतिष्ठान जाने मुख्य बाटो हो । यही बाटो भएर दैनिक सयौंको संख्यामा एम्बुलेन्स र अन्य सवारीहरु ओहोरदोहोर हुन्थ्यो । बीपीसँगै धरानको पश्चिमी वडाहरु १९, १८, १७ वडा र चतरा जान पनि यो सडक प्रयोग हुन्थ्यो । स्थानीयबासीले पुल भत्किएपछि आउजाउ गर्न धेरै समस्या भइरहेको भन्दै चाडो पुर्ननिर्माण गरिदिन माग गरेका छन् । पुल भत्किएपछि विरामी र एम्बुलेन्सहरु बीपी प्रतिष्ठान पुग्न र धरानको पश्चिमतर्फ  जान भानुचौक क्षेत्रबाट पुतलीलाइनको बाटो प्रयोग गर्नुपरिरहेको छ । यो पुल धरानको ८ र १९ नम्बर वडा जोड्ने महत्वपुर्ण पुल पनि हो । यो पुल ०५१ साल तिर सडक विभागले निर्माण गरेको थियो ।बर्षेनी बाढीले पुलको पुर्व(वडा ८)तर्फको फाउण्डेशनको माटो बगाउदै लगेर कमजोर बनेपछि पुल भत्किएको थियो । करिब ४ बर्षअघि पनि यसरी नै पुल भत्कन लागेपछि धरान उपमहानरपालिकाले मर्मतसम्भार गरेको थियो । पुल नजिकैको रत्नकुमारी राईको आँगन पनि पुलसँगै खसेको छ भने घर पनि जोखिममा परेको छ ।
........

                                             खानेपानी वितरणमा समस्या

बिहिबार राती पुल भत्किएदेखि आसपासका स्थानीयले खानेपानी संकट व्यहोर्नुपरिरहेको छ । पुल भत्कदा सँगैको खानेपानीको पाइपमा पनि क्षति पुगेपछि स्थानीयबासीको घरको धारामा पानी आउन छोडेको हो । पाइप क्षति पुगेर पानी खेर गएपछि संस्थानले पुल वारी र पारीतर्फको पाइपलाइनमा पानी ब्लक गरिदिएको थियो । जसले गर्दा वडा ८ र १९ का स्थानीयको घरको धारामा खानेपानी बन्द थियो । पुल नजिक घर भएकी मनु कार्कीका अनुसार वडा ९ मा पुगेर पानी बोकेर ल्याउनु परिरहेको छ ।


शुक्रबार र शनिबार विदा भएकोले संस्थानका कर्मचारीहरुले आइतबार मात्रै पुलको पाइप ब्लक गर्न पुगेका थिए । पुलदेखि पुर्व र पश्चिमतर्फका उपभोक्ताको घरमा आइतबार साँझदेखि पानी वितरण हुने भएपनि दक्षिण र उत्तरका करिब सय घरमा भने अझै पानी नजाने संस्थानका प्राविधिक प्रेम सुब्बाले बताए । ‘पुलदेखि पश्चिम र पुर्वपटिको उपभोक्ताको घरमा आज साँझदेखि पानी जान्छ, तर दक्षिण र उत्तरको शाखा पाइपलाइनमा भने समय लाग्छ’–उनले भने ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे