उज्यालो दिन आउने आशामा पर्यटन व्यावसायीहरु



धरान । बैशाख १२ गतेको महाभुकम्पले थलिएको नेपालको पर्यटन र अर्थतन्त्र उठ्ने तर्खरमा थियो । तर, संघीय प्रदेशको सिमांकन विवादको बीचमा नै नयाँ संविधान जारी भएपछि तराई मधेशमा आन्दोलन र हिंसाले उग्ररुप लियो । करिब डेढ महिनादेखि मधेश ठप्प छ । अर्थतन्त्रको मेरुदण्ड मानिएको पर्यटन लगभग धरासायी नै छ ।
निरन्तरको बन्द, हडतालले पर्यटक आगमन शुन्य भएपनि पुर्वका व्यासायीहरुमा आशाको दिप भने निभिसकेको छैन । उनीहरु राजनीतिक तहबाट चाडै समस्याको समाधान हुने र मुलुक आर्थिक सम्मृद्धितर्फ अघि बढ्नेमा आशावादी छन् । मधेशमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीले पर्यटनकर्मीहरुको मुख्य चाड आइतबार ३६ औं विश्व पर्यटन दिवसलाई पनि छाँयामा पार्यो । तरपनि पर्यटनकर्मी एवं व्यावसायीहरु संविधान जारी भइसकेको र भविष्यमा समस्या समाधान भएर पर्यटनले गति लिनेमा ढुक्क देखिए । ‘देशमा राजनीतिक जटिलता देखापरेको छ, भारतको अघोषित नाकाबन्दीले धेरै संकट छ । तर, सबैकुरा सिद्धिएको छैन’–होटल व्यावसायी एवं सुनसरी पर्यटन प्रर्वद्धन समितिका कार्यबाहक अध्यक्ष महेन्द्र प्रधानले भने–‘सरकार र आन्दोलनकारी लचिलो भएर वार्ताबाटै समस्या समाधान गर्छन र मुलुकलाई आर्थिक समृद्धितिर अघि बढाउछन् भन्ने आशावादी छौं ।’
उनका अनुसार सँस्कृति तथा पर्यटन मन्त्रालयले पर्यटन आर्थिक विकासको मेरुदण्डकोरुपमा मान्दै नयाँ गन्तव्यहरुको खोजी र प्रर्वद्धनको नीति बनाउने घोषणा गरिसकेको भन्दै राजनीतिक समाधान हुनेबित्तिकै पर्यटनले गति लिने विश्वास व्यक्त गरे । उनकै भनाईमा पुर्वमा धरानलाई पर्यटकीय हबकोरुपमा विकास गरेर समग्र पर्यटकीय विकासको अवधारणालाई मुर्तरुप दिन सरकारी निकाय र सरोकारवाला, पर्यटनकर्मीहरुलाई अपिलसमेत गरे । सुनसरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कृष्णकुमार अग्रवालले भुकम्प र पछिल्लो राजनीतिक घटनाक्रमले उत्साहमा केही बाधा पुर्याएपनि पर्यटन र अर्थतन्त्रमा उज्यालो दिन आएरै छोड्ने बताए । ‘प्राकृतिक र राजनीतिक कारणले धक्का लाग्यो, केही निराशा पनि छायो । तर, भोली पर्सि जहिल्यै भएपनि समाधान त हुन्छ । त्यसपछि उज्यालो दिन अवश्यक फर्कन्छ । हामी रोकिनु हुदैन, निरन्तर यात्रामा हिडिरहनुपर्छ’–अग्रवालले भने–‘सबै सकियो भनेर निराश भइहाल्नुपर्ने अवस्था छैन । त्यो दिन आउछ र पर्यटन आर्थिक समृद्धिको आधार बन्छ ।’
सुनसरी पर्यटन प्रर्वद्धन समितिका सचिव एवं पर्यटनकर्मी वासुदेव वरालका अनुसार बैशाख १२ यता सबैभन्दा बढी पर्यटन व्यावसायी मर्कामा परेको बताउछन् । भाडा तिर्न र बैंकको ब्याज तिर्न नसक्ने अवस्थामा पर्यटन व्यावसायीहरु पुगिसकेको भएपनि राजनीतिक समस्या हल हुनेबित्तिकै पर्यटनले फड्को मार्ने आशामा आफुहरु रहेको बरालले बताए । ‘व्यावसाय बन्द गर्ने अवस्थामा पुगिसकेका छौं, तर यो समस्या समाधान हुनेबित्तिकै पर्यटन व्यावासायले गति लिन्छ भन्नेमा आशावादी भएर बसेका छौं’–उनले भने–‘संविधानले मुलुकलाई संघीयतामा लगिसकेको हुनाले पनि अब हिजोको जस्तो काठमाण्डौंको मुख ताकिरहनु पर्नेछैन, संघीय प्रदेश आफैले कामहरु गर्नसक्छ । पुर्वमा कृर्षि र पर्यटनको प्रचुर सम्भावना छ, आर्थिक समृद्धिको आधार यही हुनेछ ।’
मधेश आन्दोलन, अघोषित भारतको नाकाबन्दीको बीचमा पनि आइतबार धरानका पर्यटनकर्मी, व्यावसायी एवं शैक्षिक संस्थाहरुले विश्व पर्यटन दिवस मनाए । उपमहानगरपालिकाको परिसरबाट सचेतनामुलक वृहत्त र्याली निकालेका थिए । र्यालीमा पर्यटन एवं आतिथ्य सत्कार अध्ययनरत नवोदय उच्चमावि, धरान आर्दश उच्चमावि, समिट उच्चमावि र धरान उच्च माविका विद्यार्थी, शिक्षकहरुको उत्साहजनक सहभागीता थियो । नगर परिक्रमा सकेर र्याली धरान ४, छाताचोकस्थित पुरानो अस्पताल प्रांगणमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले धरानलाई पर्यटकीय शहर बनाउन एक्लो प्रयासले सम्भव नहुदै भन्दै सरोकारवालाहरुले नेतृत्व लिनुपर्ने धारणा राखे । यस्तै, सेछ ट्राभलिङकी एलिना मगर, धरान ट्राभल एण्ड टुर्स एशोसिएशनका सचिव अतुलदिप श्रेष्ठ, होटल एशोसिएशन अफ धरानका अध्यक्ष सुवर्ण श्रेष्ठले पनि दिगो शान्तिको कामना गर्दै पर्यटन क्षेत्रलाई शान्ति क्षेत्र बनाउनुपर्ने धारणा राखे ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे