लिम्बुवानको पक्षमा वृहत खबरदारी सभा(फोटोफिचर)

धरान । किरात याक्थुङ चुम्लुङको आयोजनामा बिहिबार धरानमा लिम्बुवान स्वायत्त राज्यको पक्षमा वृहत खबरदारी सभा आयोजना भएको छ । उक्त सभाले पहिचानसहितको संघीयता सुनिश्चित नभए नयाँ संविधान कुनै पनि हालतमा स्वीकार नगर्ने उद्घोषसमेत गरेको छ । चुम्लुङको २७ औं स्थापना दिवसको अवसरमा आयोजित सभाले आदिबासी जनजाति, मधेशी, दलित एवं उत्पीडित समुदायको पहिचान र अधिकारलाई नामेट गर्ने गरी संविधानको प्रारम्भिक मस्यौदा आएको भन्दै जनजाति नेताहरु रोष प्रकट गरेका छन् ।
आदिबासी जनजाति नेताहरुले अन्तरिम संविधानमा भएको व्यवस्थालाईसमेत लत्याउदै चार दलले संविधानको प्रारम्भिक मस्यौदा ल्याएको आरोप लगाए । उनीहरुले अधिकार प्राप्ती नभएसम्म लडाई गरिरहने उद्घोषसमेत गरेका छन् । यद्यपी, सभाका प्रमुख अतिथि एवं प्रजातन्त्र सेनानी भुबिक्रम नेम्बाङले आदिबासी जनजातिहरुलाई कसैको सत्ता प्राप्तीको मात्र साधान भएर आन्दोलनमा नउत्रन आग्रह गरे । उनले आन्दोलनरत राजनीतिक दल, संगठनहरुलाई हिंसालाई त्यागेर शान्तिपुर्ण आन्दोलन गर्न पनि आह्वान गरे । ‘अब आदिबासी जनजातिहरु कसैको सत्ता प्राप्तीको हतियार, साधान भएर हिंस्रक आन्दोलनमा उत्रनु हुदैन । पहिचान र अधिकारको आन्दोलन अहिंसात्मक बनाउनुपर्छ । आन्दोलनमा लाठी पनि वर्जित गर्नुपर्छ’–नेम्बाङले भने–‘गोली हान्दै शत्रुलाई पछार्न सजिलो हुन्छ तर शान्तिपुर्वक नीतिगतरुपमा विचारले पछार्नु गाह्रो हुन्छ । उसलाई सम्झाउदै तपाईको विचारमा सहमत गराउदै आफ्नो पक्षमा ल्याउन ठुलो क्षमता चाहिन्छ, आन्दोलन यसरी शान्तिपुर्वक गर्नुपर्छ ।’
उनले लिम्बुवान, मधेशी, थरुहट, आदिबासी जनजाति सबैको आन्दोलन एकतावद्ध गर्न पनि सुझाव दिए । राज्यबाट पनि एकमुष्ठरुपमा मागलाई सम्बोधन हुनुपर्ने उनले बताए । सत्तामा बस्नेहरुले आफ्नो कुर्सी अफ्ठ्यारो पर्दा मात्रै राष्ट्र र राष्ट्रियताको कुरा उठाउने पनि उनले बताए । आदिबासी जनजातिहरुले अलग्गै राष्ट्र नमागेको उल्लेख गर्दै उनले जाति, भाषा, सँस्कृतिको पहिचान मात्रै खोजेको पनि बताए । उनीअघिका वक्ता कांग्रेस सभासद एवं आदिबासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्र कुमालले पहिचान र समानताको मुद्दा कुनै पनि हालतमा नछोड्ने उद्घोष गर्दै पार्टीको ह्विप र निर्देशनलाई समेत उल्लंघन गर्न आफु तयार रहेको बताए । आदिबासी जनजाति महासंघका पुर्वमहासचिव डा.ओम गुरुङले आदिबासी जनजाति, मधेशीलगायतको सभ्यता, इतिहास र सँस्कृतिको सम्मान होस् भन्ने मात्रै चाहेको बताए । पहिचानलाई जातसँग जोडेर राज्यसत्ता चलाउनेहरुले भ्रम फैलाएको उनले बताए ।
सामाजिक लोकतान्त्रिक पार्टीको अध्यक्ष मण्डलका सदस्य पासाङ शेर्पाले जुलुस, आमसभा, ज्ञापनपत्र बुझाएर मात्रै अधिकार प्राप्त नहुने भन्दै सिद्धिने कि अधिकार खोस्ने समय आएको बताए । उनले पहिचान विरोधीहरुलाई खोजी खोजी ठोक्ने बेला आएको भन्दै चेतावनी पनि दिए । सभामा थरुहट संघर्ष समितिका देवराज चौधरी, एमाओवादीसम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका वरिष्ठ उपाध्यक्ष मुक्साम मेन्याङबो, संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिंदेन, संघीय समाजवादी फोरमका रकम चेम्जोङ,दलित सेवा संघका सह अध्यक्ष रमेश गजमेरलगायतले बोलेका थिए ।
सभाअघि लिम्बुवान जातीय राज्य, हाम्रो प्रतिवद्धता नारासहित वृहत र्यालीले धरान बजार परिक्रमा गरेको थियो । र्यालीमा साँस्कृतिक झाकीसहित विभिन्न जातजातिहरुले पनि सहभागीता जनाएको थियो ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे