नयाँ संविधानको स्वागतमा धरानमा र्याली र सभा(फोटोफिचर)
नेपालमा संविधान आको छ,
सबको मनमा लै लै खुशीयाली छाको छ
सुनसरी जिल्ला धरान बजार..लै..लै
खुशी भए जनता हजार..।
यो सपना हो पहिल्यै हो देखेको
संविधान लै लै जनताले लेखेको..
सुनसरी जिल्ला धरान बजार..।
संघीयता सबैले खोजेको
धर्मनिरपेक्ष लै लै नेपालले रोजेको..
सुनसरी जिल्ला धरान बजार..।
औपचारिक कार्यक्रम शुरु हुनुअघि नै सोमबार धरान १५ स्थित फुलबारी आमा समुहले स्टेजबाट यो गीत घन्काएपछि मैदानमा बसेका सर्वसाधारणहरु मन थामेर बस्नै सकेनन् । कोही ताला बजाउदै रमाउन थाले भने कोही नाचेर संविधानको स्वागत गरे । खुशी मनाए । आमा समुहले राष्ट्रपतिबाट संविधान जारी भएको ऐतिहासिक दिन आइतबार मात्रै यो गीत तयार पारेको थियो । जसले संविधान जारी भएपछिको आम नेपालीको खुशी र भावनालाई समेटेको थियो ।

संविधानसभाबाट जारी भएको नेपालको संविधान ०७२ को स्वागतमा धरान १२ स्थित पब्लिक उच्चमाविको मैदानमा प्रमुख राजनीतिक दलहरुले संयुक्त कार्यक्रम आयोजना गरेको थियो । कांग्रेस, एमाले, एमाओवादीका स्थानीय नेताहरुले समन्वय समिति बनाएर स्वागत सभा आयोजना गरेको थियो । लिम्बुवानवादी संगठनहरुको बन्द भएपनि विभिन्न वडाबाट सर्वसाधारणहरु राजनीतिक दल र विभिन्न संघसंस्थाको ब्यानरमा र्याली निकालेका थिए । राष्ट्रिय झण्डा बोकेकाहरु पनि थिए । अघिल्लो दिन पनि राजनीतिक दलका कार्यकर्ताहरु, सामाजिक संघसंस्था एवं सर्वसाधारणहरुले चोक चोकमा दिपावली गरेर संविधानको स्वागत गरेका थिए । ‘हामीले नै जिताएर पठाएका नेता, सभासदहरु हुन् । हामी शान्ति चाहन्छौं, नेताहरुले बुझिदिनुपर्छ’–सभामा सहभागी सुसिला घिमिरेले भनिन् ।
.......................................
आर्थिक समृद्धितर्फ मुलुक
स्वागत सभाका वक्ताहरुले जननिर्वाचित सर्वभौम संविधानसभाबाट युगान्तकारी संविधान जारी भएको भन्दै अब मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने आशा व्यक्त गरे । केही राजनीतिक दलको असन्तुष्टीलाई पनि सम्बोधन गरेर मुलुकलाई समृद्धितर्फ बढाउन वक्ताहरुले शीर्ष नेताहरुलाई आग्रहसमेत गरे । कांग्रेस नेता एवं वुद्धिजिवि आनन्दप्रसाद आचार्यले लोकतान्त्रिक विधिबाट यो भन्दा राम्रो संविधान आउन नसक्ने दाबी गर्दै असन्तुष्ट दलहरु राष्ट्रको मुलधारमा आउन आग्रह गरे । ‘यो संविधानले जनता सर्वभौम हुन्छ भन्ने स्थापित गर्यो । लोकतान्त्रिक विधिबाट यो भन्दा राम्रो अर्को सविधान आउदैन । महिलालाई अधिका, समोवशी समानुपातिक प्रणाली सबै अंगालेको छ । असन्तुष्ट मधेशी दल, लिम्बुवान, खम्बुवान सबैलाई राष्ट्रको मुलधारमा आउन आग्रह गर्छु’–उनले भने–‘अब बन्द, हडतालको अन्त्य होस्, र सबैको ध्यान आर्थिक विकास, समृद्धि केन्द्रीत होस ।’एमाले वैकल्पिक केन्द्रीय सदस्य एवं सुनसरी जिल्ला इञ्चार्ज धर्मराज निरौलाले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएको उल्लेख गर्दै संविधानले सबै नागरिकको हक, अधिकार स्थापित गरेको बताए । उनले पनि असन्तुष्ट दलहरुलाई वार्ताबाट जायज माग सम्बोधन गर्न शीर्ष नेताहरुमा आग्रह गरे । संघीयता, समानुपातिक समावेशीतासँगै मधेशीलाई नागरिकता दिने बिषयमा पनि प्रगतिशिल व्यवस्था संविधानमा रहेको उनको भनाई थियो । एमाओवादीका केन्द्रीय सदस्य मुक्साहाङ मेन्याङ्बोले पुजीवादी लोकतान्त्र, समानुपातिक समावेशीता पनि भएको बिशिष्ट शासन व्यवस्था नयाँ संविधानमा रहेको बताए । जनयुद्ध, जनआन्दोलन र संघर्षबाट प्राप्त उपलब्धीलाई संविधानले संस्थागत गरेको जिकिर गर्दै उनले यही उपलब्धीलाई टेकेर बाँकी अधिकारको लागि संघर्ष गर्नुपर्ने बताए । ‘यो ऐहिासिक उपलब्धी न्युनीकरण गरेर अरु अधिकार पाउन सक्दैनौं । यो उपलब्धीलाई टेकेर बाँकी अधिकारको लागि संघर्ष गर्नुपर्छ, ढोका खुलै छ’–उनले भने–‘मुलुक अब आर्थिक समृद्धिको दिशामा लैजानुपर्छ ।’विघटित संविधानसभाका सदस्य एवं सासद कृष्णकुमार राईले राज्य शक्तिको स्रोत जनता हुन् भन्ने प्रमाणित भएको बताए । सबैको धेरै कुरा अटाएर चित्त बुझाउन नसकिने उल्लेख गर्दै उनले बाँकी जनमत आफ्नो पक्षमा पारेर संविधान संशोधन गर्ने बाटो खुला रहेको बताए ।
Comments
Post a Comment