तिज उत्सवमा दोहोरीबाट सचेतना(फोटोफिचर)

आँखामा चस्मा कपाल छ रातै
कहाँ हिड्न लागिस मेरी बास्सै
दुधे बालक छाडेर, एक्लै पारेर...(सासु)

थाह छैन तिम्लाई म डिस्को धाउछु
ल्याक्टोजिन ख्वाउन बेलुका आउछु
दिमाग खराब गराकी, कति कराकी...(बुहारी)

सासु र बुहारीबीचको यो जुहारी चल्दा शुक्रबार धरान १० स्थित सैनिक भवनमा उपस्थित महिला, युवायुवतीहरुमा हाँसो चल्यो । तर, अन्त्यमा यो गीति नाटकले आधुनिक बुहारीलाई सासु र आफ्नो परिवारप्रतिको दायित्वबोध पनि गरायो । त्यतिबेलासम्म गम्भीर भइसकेका अन्य उपस्थित सासु, बुहारीहरुले निक्कैबेरसम्म ताली बजाएर प्रस्तोतालाई प्रसंसा गरिरहे ।
शुक्रबार दिउसोको यो दृष्य धरानमा जारी तीन दिने जेसिज तिज उत्सवस्थलको हो । महिला उद्यामी एवं उत्पादनहरुको प्रर्वद्धन गर्ने उद्देश्यले बिहिबारदेखि शुरु उत्सवमा शुक्रबार भने महिलाहरुले आफ्ना प्रतिभाहरुलाई पनि प्रस्तुत गरेका थिए । त्यही क्रममा धरान १५ स्थित फुलबारी आमा समुहकी लिला ढकाल(सासु) र नैनकला खड्गी श्रेष्ठ(बुहारी)ले गीति नाटकबाट परिवारप्रति गैरजिम्मेवार आधुनिक बुहारी एवं विकृत्रिप्रति तिखो ब्यङ्ग्य पनि प्रहार गरे । व्यापार प्रर्वद्धनसँगै उत्सवलाई महिलाहरुले गीत, नृत्य, नाटक प्रस्तुत गरेर सामाजिक सचेतना प्रर्वद्धनस्थलकोरुपमा पनि उपयोग गरे ।
उत्सवको दोस्रो दिन फुलबारी आमा समुहले सबैभन्दा धेरै चेतनामुलक प्रस्तुती दिएको थियो । तिज दोहोरीसँगै समुहले नृत्य पनि प्रस्तुत गरेका थियो । यसैगरि, महिला एकता मञ्चले सासु–बुहारी शिर्षकमा नाटक मञ्चन गर्यो भने दिव्यज्योति महिला वचत तथा ऋण सहकारीका महिलाहरुले नृत्य प्रस्तुत गर्यो । यस्तै, नेवार एकता समाज, महिला समुहले पनि नृत्य प्रस्तुत गर्यो भने मारवाडी महिला मञ्चका कलाकारहरुले पनि नृत्य प्रस्तुत गरे । महिला एकता मञ्चकी अरुण पोख्रेलले विभिन्न भाषामा गीत गाएर सबैको मन जितिन् । गरिमा डान्स सेन्टरका कलाकारहरुले पनि गीत र नृत्य प्रस्तुत गरेका थिए ।
महिला उत्पादनलाई प्रर्वद्धनसँगै महिलाहरुमा रहेको प्रतिभालाई पनि सार्वजनिक गर्ने अवसरकोरुपमा तिज उत्सवलाई उपभोग गरिएको आयोजक संस्थाले जनाएको छ । दोस्रो दिनको कार्यक्रमकी संयोजक यशोदा कायस्थले यस्ता कार्यक्रमले चुलाचौकामा सिमित महिलाहरुको आत्मविश्वास बढ्नुका साथै सशक्तीकरणउन्मुख गराउने बताइन् । महिलाहरुको उत्पादनलाई बजारीकरण एवं व्यापार प्रर्वद्धन गर्ने उद्देश्यले धरान जेसीजको आयोजना तथा धरान जेसीज प्रथम महिला समुहको संयोजनमा सैनिक भवनमा बिहिबारदेखि तीन दिने तिज उत्सव जारी छ । उत्सवस्थलमा विभिन्न महिलासम्बन्धी सामाजिक एवं व्यावसायिक संस्थाहरुले व्यापारिक स्टल राखेका छन् ।
उत्सवस्थलमा सौन्दर्य कला व्यावसायी संघ धरान नगरले महिलाहरुको सौन्दर्य प्रशाधनका सामानहरुको स्टल राखेका छन् भने खेर फालिएका प्लाष्टिकजन्यबाट महिलाहरुले नै निर्माण गरिएको घरायसी सजावटका सामग्रीहरुलाई सुनौलो लांघाली वातावरण समुह धरान ८ ले पनि प्रर्दशनी एवं बिक्रीमा राखेको छ । यस्तै, एकल महिला समुहअन्र्तगतको छहारी खाजाको स्टल पनि छ भने महिलाहरुले नै उत्पादन गरेको गार्मेन्ट(कपडा)को स्टल पनि समुहले राखेको छ । युवा सञ्जालले भवन निर्माणको लागि स्रोत जुटाउन मेहन्दी लगाउने र विभिन्न श्रृंगारका सामानहरु बिक्रीमा राखेका छन् । महिला उद्यामी विकास एकाई इलामले चिया, घिउ, छुर्पीलगायत सामान स्टलमा राखेको छ भने महिलालाई लक्षित गरी बुटिकमा उत्पादन गरिएको पहिरनहरुको स्टल पनि छ । यस्तै, बराह डिपार्टमेन्ट स्टोरले महिलाहरुको श्रृंगार एवं आवश्यक सामग्रीहरुको पनि स्टल राखेको छ ।



























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे