भेडेटारको पर्यटकीय गुरुयोजना तयार
धरान । पुर्वको प्रख्यात पर्यटकीयस्थल भेडेटारको पर्यटन विकासलाई अझ एकीकृत एवं व्यवस्थितरुपमा अघि बढाउन पर्यटन गुरुयोजना तयार गरिएको छ । भेडेटार गाविस र होटल एशोसिएशन भेडेटारको संयुक्त प्रयासमा पर्यटन गुरुयोजना तयार भएको हो ।
व्यवस्थित योजना नहुदा पर्यटनमा भएका लगानीले अपेक्षित परिणाम नआउने र एकै ठाउँमा दोहोरो लगानी पनि हुनसक्ने देखिएपछि गाविस र एशोसिएशन गुरुयोजना बनाउन कस्सिएको हो । दुवै निकायले गुरुयोजनाको प्रारम्भिक मस्यौदा तयार गरिसकेको छ । सरोकारवाला निकायसँग छलफल गरेर आगामी गाउँ परिषदबाट पारित गरेपछि मस्यौदालाई अन्तिमरुप दिइनेछ । गाउँ परिषद आगामी पुष मसान्तभित्र सम्पन्न हुन्छ । गुरुयोजनामा विभिन्न २९ वटा पर्यटकीय विकासका योजनालाई प्राथमिकता दिइएको छ । गुरुयोजनाले भेडेटारलाई पहाडी वासस्थान(हिल स्टेशन) बनाउने लक्ष्य लिएको छ । गुरुयोजना परिषदबाट पारित भएपछि तिनै योजनालाई प्राथमिकता दिएर पर्यटन विकासलाई अघि बढाइने गाविस सचिव एवं गाविसस्तरीय एकिकृत पर्यटन विकास समितिका अध्यक्ष नारायण प्रसाद खनालले बताए ।

गुरुयोजनाले नाम्जे धरान केवलकार निर्माण, अन्र्तराष्ट्रिय मुर्तिकला फेष्टिवल पार्क निर्माण, पर्यटन सुचना केन्द्र तथा संग्रहालय भवन निर्माणलाई प्राथमिकतामा राखेको छ । यसैगरि, सामुदायिक वनमा मिनि चिडियाघर स्थापना, भेडेटार भ्यु टावर पुनःनिर्माण, बौद्ध विहार निर्माण, सिमसुवा झरना व्यवस्थापन, पाथीभारा मन्दिर घेराबारा, पर्यटकीय फुट ट््रयाक निर्माण पनि गुरुयोजनामा समेटिएको छ । यस्तै, चिल्ड्रेन पार्क, देउराली डाँडामा सनसेट(सुर्यस्त) भ्यु टावर निर्माण, चुलढुंगा रक गार्डेन, लोप्पे डाँडामा भ्यु टावर निर्माण, सिलाडाँडामा पार्क निर्माण, बौद्ध गुम्बा फुलबारी तथा पार्क निर्माण, आत्माघर बाटोमा रेलिङ, पिकनिक स्पोट निर्माण, लिम्बू लोहोसे फुट ट्रयाक संरक्षण र साँगुरीगढी—भेडेटार—नाम्जे—कन्यापोखरी पर्यटकीय सडक स्तरउन्नतीलाई पनि गुरुयोजनाले प्राथमिकतामा राखेको छ ।
गुरुयोजनाबाट स्थानीय सरोकारवाला एवं पर्यटन व्यावसायीहरु पनि हौसिएका छन् । होटल एशोसिएशन भेडेटारका सचिव जितेन्द्र रुम्दाली राईका गुरुयोजनाको मस्यौदा मात्रै भएपनि पर्यटन बोर्ड, मन्त्रालय, पर्यटन विभाग, सडक विभाग, जिविसलगायत निकायमा पेश भइसकेको छ । ‘पहिला बजेट कुन पुर्वाधारमा लगानी गर्ने भनेर स्थानीयमा तानातान जस्तै हुन्थ्यो । गुरुयोजनाले अबको १० बर्षसम्म हामी कुन पुर्वाधार र योजनामा फोकस हुने भन्ने प्रष्ट पारेको छ । अब त्यस्तो विवाद हुनेछैन’–उनले भने–‘प्राथमिकताअनुसार नै काम हुन्छ । कतै बजेट माग्नुपर्दा यही शिर्षकअनुसार नै प्रस्ताव पेश गछौं ।’
गुरुयोजनाले भेडेटार बजारको पश्चिममा रहेको क्षतिग्रस्त शैलुङ डाँडा भ्यू टावरलाई आर्थिक बर्ष ०७२÷०७३ मा नै कलात्मक डिजाइनमा पुननिर्माण गर्न औल्याएको छ । पर्यटन वोर्ड, जिविस, गाविस, स्थानीय संघसंस्था र दाताहरुको सहयोगमा पुर्ननिर्माण गर्न एक करोड लागतमा निर्माण हुने अनुमान गरिएको छ । भेडेटार आउने पर्यटकहरुको प्रमुख गन्तब्य रहेको भ्यु टावर गत बैशाख १२ को भूकम्पले क्षति पुर्याएपछि चढ्न निषेध गरिएको छ । यस्तै, आर्थिक बर्ष ०७३/०७४ मा बहुसांस्कृतिक संग्रहालय तथा पर्यटन सूचना केन्द्र भवन निर्माणको प्रस्ताव गरिएको छ । यसको लागत डेढ करोड हुने अनुमान छ । आर्थिक बर्ष ०७२ देखि ०७६ सम्म पर्यटकीय फुट ट्रयाक(हाइकिङ रुट) निर्माण गरिने उल्लेख छ । भेडेटारको सिमसुवा झरना, थेल्लाङ गडेरे गिद्धेभिर, हात्तीसुडेबाट नाम्जे, आत्माघर हुदै सागुरीगढी, पाथिभरा, खजुरेगुफा, सातपत्रेगैह्री चुलढुंगा रकगार्डेन, खजुरेगुफा कोलबोटे सिमसुवा झरनासम्मको पर्यटकीय फुट ट्रयाक निर्माण गर्नुपर्ने गुरुयोजनामा प्रस्तावित छ । ट्रयाक निर्माणमा ५० लाख रुपैया खर्च हुने भनिएको छ ।
यसैगरि, भेडेटारको प्राकृतिक सौन्दर्यलाई कायम राख्न आर्थिक बर्ष ०७२ देखि निरन्तर बोटानिकल गार्डेन निर्माणमा जुट्नुपर्ने प्रस्ताव छ । यसको लागि बार्षिक ५ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । स्थानीय सामुदायीक वनसँग सहकार्य गर्न सकिने गुरुयोजनाले सुझाएको छ । भेडेटार आउन निजी सवारीसाधान नभएका पर्यटकहरुलाई धेरै समस्या हुने गरेकोले आर्थिक बर्ष ०७३/०७४ देखि छुट्टै पर्यटक बस सेवा पनि सञ्चालन गरिनेछ । यसको लागि ६० लाख रुपैया लागत अनुमान गरिएको छ । खेलकुद पर्यटन विकासको पनि सम्भावना रहेको औल्याउदै गुरुयोजनाले आगामी पाँच बर्षभित्र सुबिधा सम्पन्न फुटबल मैदान, इनडोर भलिबल र ब्याडमिन्टन कोर्ट निर्माणलाई जोडदिएको छ । यसको लागि एक करोड लाग्ने अनुमान छ ।
पर्यटकीय सम्पदाहरुको विकास तथा पर्यटनका गतिविधिहरु भइरहे पनि भौगोलिकरुपमा सानो क्षेत्र भएकोले भेडेटारको पर्यटनलाई आसपास क्षेत्रसँग आवद्ध गरेर अघि बढे व्यावसायिक पर्यटनमा अझ टेवा पुग्ने गुरुयोजनाको निष्कर्ष छ । तमोर नदिको ¥याफ्टिङ, डाडाबजार र राजारानीको पर्यटकीय गतिविधिहरु, हिले, तिनजुरे– मिल्के–जलजले क्षेत्र, धरान उपमहानगरपालिकासँग भेडेटारको पर्यटन व्यवसायलाई जोडेर लैजानुपर्ने सुझाव छ । साथै, धनकुटा जिल्लाको चौबिसे क्षेत्रको एकिकृत पर्यटन गुरुयोजना निर्माण गरी अघि बढनुपर्ने आवश्यकता पनि गुरुयोजनाले औल्याएको छ ।
.............................
चिण्डो आकारको भ्यु टावर
गुरुयोजनाले प्राथमिकता दिएको भडेटार बजार नजिकैको शैलुङ डाँडामा चिण्डो आकारको भ्यु टावर निर्माण गर्ने प्रस्ताव गरिएको छ । भेडेटारमा होटल मनशान्त रिसोर्ट सञ्चालन गरिरहेका कलाकार रोजन राईले उक्त डाँडामा चिण्डो आकारको भ्यु टावर परिकल्पना गरेका हुन् । उनको यो प्रस्तावबारे भने होटल एशोसिएशन भेडेटार, गाविस र धनकुटा जिविसले औपचारिक निर्णय भने गरिसकेको छैन । भेडेटारको चर्चित शंखेश्वर महादेव मुर्ति मन्दिर पनि उनले नै परिकल्पना एवं डिजाइन गरेका थिए । गएको बैशाख १२ गतेको भुकम्पले डाँडाको भ्यु टावरमा क्षति पुगेकोले चढ्न पुर्णरुपमा बन्द छ । ०६८ को भुकम्पलेसमेत उक्त टावरलाई क्षति गरेको थियो ।
‘भ्यु टावर भेडेटार आउने पर्यटकहरुको प्रमुख गन्तव्य हो, त्यसैले नयाँ बनाउनुपर्छ भन्नेमा हामी सबै एकमत छौं’–भेडेटार होटल एशोसिएशनका अध्यक्ष लिलाराज लावतीले भने–‘कलाकार रोजन जीले गर्नुभएको प्रस्तावबारे अनौपचारिकरुपमा धेरै छलफल भएपनि निर्णय भइसकेको छैन । जिविसले पनि स्थानीय सरोकारवालासँग छलफल गरेर निर्णय गर्ने भनेको छ ।’ एशोसिएशन कलाकारको प्रस्तावप्रति सकरात्मक नै भएपनि सबै पक्षसँग छलफल गरेर नै निर्णय गर्ने उनले बताए ।
कलाकार राईका अनुसार कलात्मक र आर्कषक भ्यु टावर बनाउने उद्देश्यले चिण्डोको परिकल्पना गरिएको हो । यसको डिजाइनसमेत तयार गरिसकेका राईका अनुसार हालको ४४ फुटको भ्यु टावरकै उचाईमा चिण्डो आकारको भ्यु टावर बन्नेछ । पहिलो तलामा सुचना केन्द्र र पसल हुनेछ भने त्यो माथि ठुलो गोलाईमा भ्यु प्वाइन्ट बन्नेछ । दुई–दुई फिटको गोलाईमा भ्यु प्वाइन्ट रहन्छ । पर्यटकहरु त्यहाँसम्म चढेर दृष्यावलोकन गर्न सक्नेछन् भने त्यसमाथि मात्रै चिण्डो आकारको मुर्ति रहन्छ । उक्त चिण्डोभित्र बिशेष मान्छे आकृतिको शिला राखिने कलाकार राईले बताए । गुरुयोजनाले भ्यु टावर बनाउन एक करोड रुपैया लागतको अनुमान गरेको छ ।
Comments
Post a Comment