वाबुडाँडाबाट किरात प्रदेश नियाल्दा
भदौ तेस्रो साता शनिबार धरान रन कार्यक्रममा सहभागी भएको थिए । सोमबार(भदौ २८ गते )पाँचकन्यातर्फ १२ किलोमिटर हाइकिङ जाने सल्लाह भयो । धरानेहरुलाई नियमित हाईकिङमा लैजाने युकेबाट फर्किएका गोपाल राईको योजना रहेछ । तर, सोमबार आउनुअघि नै मेरो हाईकिङको गन्तव्य फेरियो । आइतबार धरानदेखि उत्तरपश्चिम विष्णुपादुकास्थित वाबु डाँडातिर हान्निए । विष्णुपादुका गाविस धरानमा गाभिएपछि उपमहानगरपालिका भइसकेको छ । त्यसअघि भर्खर ट्रयाक खुलेको बाटोको उद्घाटनमा मोटरसाइकलबाट वाबु डाँडा एक पटक पुगेको थिए । यसपटक किरात राई यायोक्खाले आयोजना गरेको ‘वाबु डाँडाबाट किरात प्रदेश हेर्दा’ कार्यक्रममा कलाकार, पत्रकारको टोलीमा म पनि थिए ।
वाबु डाँडाबाट टि आकारमा फिजिएको धरानलाई ९९ प्रतिशत नियाल्न सकिन्छ । अन्त कतैबाट धरानको यस्तो सम्पुर्ण स्वरुप हेर्न सकिदैन । यसकारण पछिल्लो समय धरानेहरु यो डाँडातिर उक्लिन थालेका छन् । धरानलाई पृष्ठभुमिमा राखेर खिचेको फोटो फेसबुकमा सेयर गर्नेको संख्या बढीरहेको छ । बर्षाबाहेक अरु समय साना गाडी र मोटरसाइकलमा पनि पुग्छ । तर, अधिकांश धरानेहरु विदा एवं फुर्सदमा हिडेरै जान थालेका छन् । हाईकिङप्रति विस्तारै धरानेहरु आकर्षित हुदै छन् । हुन त हरेक बिहान सबेरै जिरोप्वाइन्टसम्म मर्निङ वाकमा जाने र फर्कनेहरुको ताती हुन्छ । आफ्नो स्वास्थ्यप्रति धरानेहरु धेरै अघिदेखिनै सचेत छन् । तर, आसपासको गाउँघर, हरियाली डाँडापाखातिर डुल्न थालेको भने धेरै भएको छैन ।
वाबु डाँडालाई रमिते डाँडा, चिण्डे डाँडा र शिवहाङ डाँडा अनेक नामले पनि चिनिन्छ । अहिले यो धरान २४ वडामा पर्छ । घिरौलाको एक प्रजाति हो चिण्डो । जसलाई किरात राई जातिले आफ्नो हरेक सँस्कारमा प्रयोग गर्छ । यो डाँडा चिण्डो जस्तै भएकोले चिण्डो डाडा भनिएको मानिन्छ । त्यही नाम अपभ्रंस हुदै चिण्डे हुन पुगेको हो । राई भाषामा चिण्डोलाई वाबु भनिन्छ । डाँडामा पुग्न धरानबाट करिब ४ किलोमिटर उकालो चढ्नुपर्छ । यायोक्खाले धरानलाई सांकेतिकरुपमा किरात प्रदेश मानेर वाबु डाँडाबाट हेर्ने कार्यक्रम बनायो । एक रात त्यही बिताउने र सोमबार बिहान मात्रै फर्कने योजना थियो ।
यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलक राई, समाजसेवी रमेश राई, चित्र(मुर्ति)कारद्धय महेन्द्र राई र जीवन पौडेल, यायोक्खा जिल्ला सहसचिव हिन्दुहाङ राई, पत्रकारहरु जनकऋर्षि राई, उपेन्द्र चाम्लिङ, भोजराज श्रेष्ठ, विकास राई, शिशिर भाई गरी लगायत एघार जनाको टोली थियौं । हिड्न ढिला भइसकेको थियो । अढाई बजेतिर धरान १३ देवीमार्गसम्म गाडीमा पुग्यौ । सर्दु खोलामा झोलुङ्गे पुल छ । पारी पुगेर केहीबेर फोटो सेसन गर्यौं । पहिला सर्दु धरान र विष्णुपादुकाको सिमाना थियो । यो पुल बनेपछि गाविसका वासिन्दालाई धरान आउन धेरै सहज बन्यो । धरानेहरुको लागि भने यो पुल साँझ बिहान घुम्न आउने ठाउ बन्यो । पुल पारी आधा दर्जन रिसोर्ट खुलिसकेको छ ।
झोलुङ्गे पुल कटेपछि उकालो चढ्नुपर्छ । केही सामान पनि भएकोले रमेश दाई र तिलक दाई बाइकमा । अरु हामी पैदल यात्री । हिड्ने बानी छुटिसकेको छ । केही छिनमा नै पसिनाले लुथ्रुक्क भिजियो । उकालोमा सास बढेर गाह्रो होला जस्तो पनि । ठाउँ ठाउँमा सुस्ताउदै, गफिदै टोली अघि बढीरह्यो । विकास जि पिस मास्टर छन् । कलाकार महेन्द्रलाई पात्र बनाएर पिस सुनाएको सुनाएकै । अरु हाँसेको हास्यै । यसले बाटो काट्न सहज बनाएको छ । कलाकार महेन्द्र भने आफ्नै पिस सुनेर बेला बेला हास्छन् र रिसाउछन् पनि । तर विकास पिस बनाउन छोडे पो ? जनक दाईको हासो सुन्नेहरु पनि नहाँसी रहन सकिन्न । नयाँ मान्छेले जनक दाईको हाँसो सुन्यो भने शुरुमा तर्सिन्छ जस्तो लाग्छ ।
बाटो गाउँलेले आफैले बनाएको हो । बर्षाले ठाउँ ठाउँमा पहिरो जादा बाटो निक्कै अफ्ठ्यारो रहेछ । रमेश दाईको मोटरसाइकल विकासले चलाए । दाई हामीसँगै पैदलयात्री बन्नुभो । यो बाटोमा म र रमेश दाई पहिलो पटक हिड्दै थियौं । अरु बेला बेला हाइकिङ आइरहने रहेछन् । निक्कै गलिसकेका थियौं । बाटोको एउटा घुम्तीमा पसल रहेछ । त्यहाँ चाउचाउ खायौं, र कोल्डड्रिंक्स लियौं । गन्तव्यबाट नजिक थियौं । तर, ठाडो उकालो बाटो रहेछ । रमेश दाई त निक्कै हरेश खाइसक्नु भएको थियो । घरि घरि फर्कने कुरा गर्नुहुन्थ्यो । खराब बाटोमा विकासले मेरो मोटरसाइकल कसरी लग्यो होला भनेर चिन्ता पनि गर्नुहुन्थ्यो । जनक दाईले ‘दाई त एक छिन घाममा हिड्दा ढडेर रजनीकान्त हुनु भएछ’ भन्दा जुरुक्क उठेर मोटरसाइकलको ऐना हेर्नुभो । हामी सबै हास्यौं ।
झण्डै दुई घण्टाको यात्रा पछि वाबु डाँडाको शिरानमा टेक्यौं । धरानतिर फर्केर हेर्दा सबैको मन फुरुङ्ग भएको प्रष्टै देखियो । सबैले धरानलाई पृष्ठभुमिमा राखेर फोटो खिच्यौं । धरानको निराजन बस्ती मात्र त नदेखिने रहेछ । माथि भेडेटारदेखि दक्षिणतिर जंगल र तराईका फाँट पनि मजाले हेर्यौं । धन्न, मौसमले पनि साथ दियो । वरीपरी हरियाली मात्रै देखिन्छ । विजयपुर डाँडा, धरान रंगशाला, बीपी प्रतिष्ठान र त्यहाँको गल्फ कोर्ष कति सुन्दर दृष्य । सरकारले धरानलाई हरित नगरी बनाउने घोषणा गरेको छ । तर, यहाँबाट हेर्दा यस्तो लाग्छ, धरान त जंगलको बीचमा उम्रिएको शहर हो । प्रत्येक घरमा रुख बिरुवा र हरियाली देखिन्छ । टि आकारमा बसेको चिटिक्कको शहर । यायोक्खाले कल्पना गरेको किरात प्रदेशको राजधानी । केही राजनीतिक दल, संगठनहरुले पनि धरानलाई १ नम्बर प्रदेशको राजधानी बनाउन लबिङ्ग गरिरहेकै छ ।
बाटोमा हिड्दा थाकेर वित्थैमा आएछु भन्नुहुन्थ्यो रमेश दाई । वाबु डाँडाको शिरमा पुगेपछि भने रमाउनुभो । ‘धरानमै हुर्केर, बसेर यो उमेर भयो । यस्तो रमणीय, सुन्दर ठाउँमा आएकै रहेनछु’–दाईले ठट्यौली पारा भने–‘म मेरी प्रियसी लिएर अवश्य आउनेछु ।’ हामीले जिस्क्यायौं, ‘भाउजुले मार्नुहोला नि ।’ दाईको जवाफ थियो–‘मेरी प्रियसी उनै त हुन् ।’ कृर्षि उपज बजारस्थलका व्यापारी भाई हेमचन्दै ढकालसँग अचानक भेट भयो । उनी त यहाँ हरेक दिन इभिनिङ वाक गर्दै आउदा रहेछन् । बजार बन्द हुदा अरु साथीहरु पनि आउछन्, नत्र प्रायः एक्लै । खलखली पसिना निस्कने, धुवाधुलोदेखि टाढा, स्वच्छ हरियाली वातावरणले वाबु डाडा आफ्नो गन्तव्य बनेको उनले सुनाए ।
यायोक्खाको झण्डोत्तलन कार्यक्रम राखिएको थियो । तयारी हुदै थियो । फोटो पत्रकार दाई उपेन्द्र चाम्लिङ दाईले एउटा लाठीले सेतो भालेको टाउकोमा हिर्काएर खुत्रुकै पार्नुभो । उहाँले घरवालासँग अघि नै कुरा मिलाइसक्नु भएको रहेछ । बेलुका त्यसको सुप खाने उहाँको योजना । सात बर्षदेखि पालेको भाले रहेछ । भालेको दुईटा मुटु थियो रे । धरान २४ को वडा नागरिक मञ्चका संयोजक कर्ण तामाङ आइपुगे । विष्णुपादुकाको पर्यटन सम्भाव्यताबारे लामो गफ चल्यो । उनले वाबु डाँडासँगै विष्णुपादुका मन्दिर, सिद्ध पोखरी, सुलिकोट(सुलिथान), भालढुंगास्थित सुर्य कुण्डलगायतलाई समेटेर पर्यटन विकास गर्न सकिने सुनाए । यही डाँडाबाट प्याराग्लाइडिङ पनि हुन्छ ।
हामीसँग गएका दुई जना कलाकार त अघि नै हराईसकेछन् । म खोज्न निस्किए । वाबु डाँडा पर्तिर भिरालो ठाउँमा बसेर धरानलाई रंग र ब्रसले पोत्दै पो रहेछन् । भेटेर तस्बिर लिए । जब रात पर्दै गयो, तल धरान भने तिहारमा दियो बले जस्तै पिलिक पिलिक बल्न थाल्यो । एकैछिनमा धरान झिलिमिलि शहरमा परिणत भयो । कुनै युरोपको शहर झै देखियो । तोम्बा र कोदोको चुस्कीसँगै खुला चौरमा बसेर नियाली रह्यौ । विकास र म झिलिमिली धरानको तस्बिर कैद गर्न पनि चुकेनौं ।
राती भालेको सुप पिएर रमेश दाई, उपेन्द्र दाई, हिन्दुहाङ र भोजराज फर्कने भए । अरु हामी त्यही बस्ने भयौं । डाँडामा तीन वटा घरमा होटल रहेछ । हामी प्रेमकुमार राईको घरमा बस्ने भयौं । उनको घर ठ्याक्कै डाँडामा छ, जहाँबाट धरानलाई मजाले नियाल्न सकिन्छ । तर, व्यवस्थित बासको अभाव रहेछ । होटल सञ्चालक राईले होम स्टेको तयारी गरेका थिए रे । बैशाख १२ को भुकम्प नआइदिए यतिबेला होम स्टेमा बस्न पाउने थिएछौं । उनका अनुसार एक समय ब्रिटिश आर्मी भर्ती हुन चाहने युवाहरु मात्रै डोको क्यारी गरेर डाँडासम्म आउथे । अचेल भने दिनहु धरानेहरु आउछन् । ‘छुटिको दिन, शनिबार र सोमबार त पाइला टेक्ने ठाउँ हुदैन’–उनले भने । पाहुनालाई उनी आर्डर अनुसार लोकल कुखुरा, वंगुरको मासुसँग खाना खुवाउछन् । तोम्बा र लोकल सुद्ध कोदोको रक्सी पनि चाख्न पाइन्छ । व्यवस्थित नभएकोले बास बस्नेलाई भने पैसा लिदैनन् । जनक दाई र रमेश दाईले त चाडै भाउजुसँग आउने वाचा पनि गरिसकेका छन् । त्यतिबेलासम्म प्रेम दाईले होम स्टे शुरु गरिसकेको होस्, यही कामना गर्छु ।
। । । । । । । । । । ।
तिलक राई, केन्द्रीय उपाध्यक्ष, किरात राई यायोक्खा
: धरान उपमहानगरपालिका र पर्यटन प्रर्वद्धनमा लागेको संस्थाहरुले वाबु डाँडमात्रै होइन, समग्र विष्णुपादुकाको पर्यटन प्रर्वद्धनमा बिशेष ध्यान दिनुपर्छ । स्थानीयसँग सहकार्य गर्नुपर्छ । यहाँको प्रकृति सुहाउदो घर, टहरा बनाउनुपर्छ । पक्की होइन, खरको छाना, ढुंगा माटोको गाह्रो भएको हुनुपर्छ । तब मात्र पर्यटकलाई छुट्टै स्वाद हुन्छ । शहरकैजस्तो खानेकुरा, बास बस्ने घर हुदा खल्लो लाग्न सक्छ ।
यहाँ आउने पर्यटकबाट सय, पचास भएपनि कोषको लागि छुट्टै रकम उठाउने व्यवस्था हुनुपर्छ,जसले यहाँ पर्यटकीय आर्कषणका संरचना बनाउन सकियो । २, ३ हजार खर्च गर्नेले सय, पचास दिन लोभ गर्दैनन् । त्यो कोषको पैसाले भ्यु टावर, स्थानीय साँस्कृतिक पहिचानको संरचनाहरु बनाउनुपर्छ ।
कर्ण बहादुर तामाङ, संयोजक वडा नागरिक मञ्च, धरान २४
: विष्णुपादुका क्षेत्र पर्यटनको धेरै सम्भावना छ । धरानको शिको गहना र महाभारत पर्वतको काखमा रहेको सुन्दर ठाउँ हो । यहाँ पौराणिक महत्वको विष्णुपादुका मन्दिर छ, सुलिथान, सिद्ध पोखरी छ, सुर्य कुण्ड छ । यहाँसम्म आउने बाटो त बनायौं, तर बर्खामा बिग्रिरहन्छ । सर्दु खोलामा झोलुङ्गे पुल त छ, तर पक्की नहुदा समस्या छ । यो हाम्रो सबैभन्दा ठुलो समस्याप्रति उपमहानगरपालिका, सरकाले ध्यान दिओस् । सेउती खोलामा पाँचकन्या जान ३ वटा आरसिसि पुल बनिसक्यो । हाम्रो तिर एउटा पनि बन्न सकेन । पर्यटन सिजनमा नै खोलामा बाढी आउछ र आवातजावत हुदैन ।
प्रेम कुमार राई, होटल सञ्चालक
: म ५६ सालदेखि बसेर होटल चलाउन थालेको हो । पहिला एक दुई जना घुम्न आउथे । लाहेरे बन्न चाहने भारी बोकेर आइपुग्थे । अचेल धेरै नै घुम्न आउछन् । बाटो बनेपछि मोटरसाइलमा पनि आउछन् । बिहान हिड्दै आउछन् र यहाँ खाना खाएर जान्छन् । राती बस्ने गरि पनि आउछन् । चाडै होम स्टे शुरु गर्छु । यहाँ केही आकर्षक प्वाइन्ट बनाइदिनुपर्छ । मेरो विचारमा यो वाबु डाँडा भएकोले यहाँ वाबु(चिण्डो) को मुर्ति बनाइदिए राम्रो हुनेथियो ।
Comments
Post a Comment