बन्द, हडतालले सुनसान भेटेडार


धरान । गत बैशाख १२ गतेको महाभुकम्पले पनि कुनै असर नपुगेको पुर्वको पर्यटन यतिबेला भने थला परेको छ । संघीय प्रदेशको सिमांकनप्रति असन्तुष्ट राजनीतिक दलको बन्द, हडतालको श्रृंखला लम्बिदै गएपछि पुर्वको प्रमुख पर्यटकीय गन्तव्य भेडेटार सुनसान छ । हडतालमा यातायातसँगै बजार, पसलसमेत बन्द हुदा अलपत्र परिने डरले सर्वसाधारणहरु कतै घुम्न निस्कदैनन् ।
तय भइसकेको गोष्ठी, सेमिनारहरु पनि रद्द भइरहेको भेडेटारका पर्यटनकर्मी एवं होटल एशोसिएशन भेडेटारका सचिव जितेन्द्र रुम्दालीले बताए । थरुहट र मधेशवादी दलहरुको अनिश्चितकालीन बन्द जारी छ भने अरुण पुर्वको ९ जिल्लामा लिम्बुवानवादी दल, संगठनहरुले पनि पटक पटक आम हड्ताल गरिरहेको छ । मधेश र थरुहट आन्दोलन हिंस्रक पनि बनेकोले सर्वसाधारणहरु घुम्ने योजना रद्द गरिरहेका छन् । ‘महाभुकम्पले पछि पर्यटकहरुमा कमी आएपनि त्यति ठुलो असर पुगेको थिएन, तर अहिले हरेक दिनजसो हुने बन्द, हडतालले पर्यटन व्यावसाय चौपट भयो’–उनले भने ।
व्यावसायी रुम्दालीका अनुसार भेडेटारसँगै पुर्वका पर्यटकीय गन्तव्यहरुमा घुम्न आउने आन्तरिक पर्यटकहरु नै हुन् । त्यसमा पनि तराई मधेशका जिल्लाहरुबाट उल्लेख्य संख्यामा पर्यटकहरु घुम्न आउने गरेका छन् । तर, लगातारको मधेश बन्दले तराईका जिल्लाबाट पर्यटकहरु नआउदा पर्यटन व्यावसाय ठप्प प्रायः भएको व्यावसायीहरु बताउछन् । ‘अरुबेलाको भन्दा ९० प्रतिशत पर्यटकहरुको कमी छ, व्यापार व्यावसाय त ठप्पै छ भन्दा पनि हुन्छ’–सचिव रुम्दालीले भने । उनका अनुसार सिमावर्ती भारतीय राज्य र शहरहरुबाट पनि पर्यटकहरु उल्लेख्य संख्यामा भेडेटार घुम्न आउथे । तर, मधेश बन्दले भारतीय पर्यटकहरुको आगमन शुन्य छ । आन्तरिक पर्यटकहरु मोटरसाइकलमा फाट्फुट्ट मात्रै आइरहेको भेडेटारका व्यावसायीहरु बताउछन् ।
पर्यटन व्यावसायीहरुका अनुसार भदौदेखि कार्तिकसम्म पिक सिजन हो । बर्षाको बेला पनि साउनमा भेडेटारमा पर्यटकहरुको आगमन राम्रो थियो । होटल, व्यापारले राम्रो कारोबार गरेको थियो । भदौमा अझ राम्रो व्यापार गर्ने आशा गरेपनि अहिले निराश हुनुपरेको होटल एशोसिएशन भेडेटारका अध्यक्ष लिलाराज लावतीले बताए । ‘साउनमा मात्र मेरो होटलमा १८ लाखको कारोबार भयो । साउनमा कतिपयले मासु खादैनन्, र पनि यो राम्रो व्यापार थियो’–लावतीले भने–‘तर, भदौ १९ नाघिसक्दा पनि अहिलेसम्म २ लाखको पनि कारोबार छैन, जबकी साउनमा यही मितिमा १२ लाख कारोबार भइसकेको थियो ।’ उनले राजनीतिक घटनाक्रम जे जस्तो भएपनि यातायात बन्द, दैनिक उपभोग्य वस्तु अभाव हुन नदिने वातावरण बनाउन राजनीतिक दलहरुलाई आग्रह गरे । ‘बरु सरकारी कार्यालय सबै ठप्पै पारिदिनु तर यातायात, बजार, स्कुल बन्द नगरिदिए हुन्थ्यो । यसले त पर्यटन व्यावसायलाई चौपट बनाइदिन्छ’–उनले थपे ।
संविधान निर्माणको क्रममा उत्पन्न राजनीतिक संकट समाधानको साटो झनै गहिरिदै गएपछि पर्यटन व्यावसायीहरुलाई थप निराश तुल्याएको छ । यो परिस्थितिले यो सिजनमा पर्यटक आगमन शुन्य होला कि भन्नेमा उनीहरु चिन्तित छन् । ‘कोही नामांकन, कोही सिमांकन, कोही धर्म, कोही अखण्ड भन्दै आन्दोलन गरिरहेछन्, यो परिस्थिति हेर्दा तत्काल एकैपटक समाधान होला जस्तो छैन’–पर्यटन व्यावसायी रुम्दालीले भने–‘यो सिजनलाई नै चौपट बनाउने भयो ।’ भेडेटार, नाम्जे, सिंसुवा र देवाथानमा सुविधाजनक ३५ सहित करिब सय वटा होटलहरु सञ्चालित छन् । यी सबै ठाउँका होटल पर्यटनमा निर्भर हो ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे