बीपी जाने धनकुटे रोडको पुल भाच्चियो


धरान । धनकुटे रोडको नामले परिचित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्ने सडकखण्डको पुल बिहिबार राती भत्किदा उक्त सडकमा आवगमन ठप्प छ । पुल भत्किएपछि बीपी प्रतिष्ठान पुग्न र धरानको पश्चिमी क्षेत्र जान सर्वसाधारणहरु भानुचौक क्षेत्रबाट पुतलीलाइन हुदै आउजाउ गर्नु परेको छ ।
बिहिबार राती करिब साढे ७ बजे एक्कासी पुल खसेको स्थानीयले बताएका छन् । यो पुल धरानको ८ र १९ नम्बर वडा जोड्ने महत्वपुर्ण पुल पनि हो । बाढीले पुलको पुर्व(वडा ८)तर्फको फाउण्डेशनको माटो बगाउदै लगेर कमजोर बनेपछि पुल भत्किन पुगेको हो । घटनामा मानवीय क्षति भने भएन । करिब ४ बर्षअघि पनि पुल भत्कन लागेपछि धरान उपमहानरपालिकाले मर्मतसम्भार गरेको थियो । पुल नजिकैको रत्नकुमारी राईको आँगन पनि पुलसँगै खसेको छ भने घर पनि जोखिममा परेको छ । खानेपानीको पाइप लाइन पनि क्षति पुगेको छ ।

भत्किएको संरचना खोलामा नै थुप्रिएकोले बाढी आएमा खोला थुनिएर थप कटान र क्षति पुर्याउन सक्ने भन्दै स्थानीय चिन्तित छन् । घटनाको समयमा सिमसिम पानी परेपनि बाढी भने आएको थिएन । घर जोखिममा परेपछि चिन्तित बनेकी रत्नकुमारीका अनुसार खाना खाएर राती ओछ्याउनमा ढल्किरहेको बेला ट्रक पार भएलगत्तै पुल खसेको थियो । ‘गाडी पुल हुदै पार भयो, र एक्सीडेन्ट भएजस्तरी आवाज आयो’–रत्नकुमारीले भनिन्–‘पुल पो खसेको रहेछ, रातभरी सुत्नै पाएको छैन ।’ बर्षा हुदा ठुलो बाढी आउने भएकोले खोलामा थुप्रिएको सामाग्री चाडै निकाल्न उनले आग्रह गरेकी छिन् ।
कोशी राजमार्गबाट छुटिएको धनकुटे रोड बीपी प्रतिष्ठान जाने मुख्य बाटो हो । यही बाटो भएर दैनिक सयौंको संख्यामा एम्बुलेन्स र अन्य सवारीहरु ओहोरदोहोर हुन्थ्यो । बीपीसँगै धरानको पश्चिमी वडाहरु १९, १८, १७ वडा र चतरा जान पनि प्रयोग हुन्थ्यो । यो पुल ०५१ साल तिर सडक विभागले निर्माण गरेको थियो । धरान उपमहानगरका योजना शाखा प्रमुख इञ्जिनियर सुरज श्रेष्ठका अनुसार पुलको पुर्वपटिको फाउण्डेशनको माटो बर्षामा निरन्तर कटान हुदै गएर भत्किन पुगेको बताए । चार बर्षअघि पनि कटानले पुल भत्कन लागेको थाह पाएपछि नगरपालिकाले नै मर्मत गरेको उल्लेख गर्दै उनले यसपटक भने ढिलो जानकारी पाएकोले पुल जोगाउन नसकिएको बताए । उनका अनुसार बिहिबार मध्याह्न मात्रै स्थानीयबाट जानकारी पाएपछि पुलको अवस्था निरीक्षण गर्न प्राविधिकको टोली पुगेको थियो । ‘दिउँसो पुलको अवस्था हेर्न गयौं, र मर्मतको लागि मान्छेलाई भनिसकेको थियौं, तर राती नै पुल भत्किएछ’–इञ्जिनियर श्रेष्ठले भने ।
शुक्रबार बिहानै कार्यकारी अधिकृत टिकादत्त राईसहित राजनीतिक दलका नेताहरु स्थलगत निरीक्षणमा गएका थिए । कार्यकारी अधिकृतले त्यसबारेमा प्रजिअसँगै विराटनगरस्थित सडक डिभिजन कार्यालयलाई पनि जानकारी गराएको पनि योजना शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । उपमहानगरमा खोलामा थुप्रिएको पुलको संरचना हटाउने मेशिन पनि नभएकोले गम्भीर भएर पहल भइरहेको पनि उनले बताए । स्थानीय विजय अछामीका अनुसार यो पुल निर्माण ताका नै बाढी आएर असर पुगेको थियो । ‘यो पुल बनिरहदा नै बाढी आएर क्षति पुगेको थियो । आवश्यक मापदण्डअनुसार पुल बन्यो जस्तो लागेन । प्राविधिकरुपमा कमजोर बनेको हुनुपर्छ’–उनले भने–‘पहिला पनि पुल झण्डै भत्किएको थियो, जोगाउन धेरै भार बोकेको गाडी चल्न नदिने वा समय समयमा निरीक्षण, मर्मत सम्भार गर्न सम्बन्धित निकायले वास्ता नगर्दा यो घटना भएको हो ।’ सडक डिभिजन कार्यालयका प्रमुख रामचन्द्र राउतले पुल भत्किएको जानकारी पाएपनि पुलबारे आफु अनभिज्ञ रहेको बताए । शुक्रबार चार बजेपछि मात्रै प्राविधिक स्थलगत निरीक्षणमा जाने भएकोले त्यसपछि मात्रै सबै भन्न सकिने उनले बताए ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे