बीपीका चिकित्सकहरु सडकमा


धरान । मेडिकल शिक्षा एवं स्वास्थ्य क्षेत्रको सुधारको लागि विगतको सहमति कार्यान्वयनको माग गर्दै आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीप्रति ऐक्यवद्धता जनाउदै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरु सडकमा निस्किएका छन् । प्रतिष्ठानस्थित डा.गोविन्द केसी ऐक्यवद्धता समुह अभियानको अगुवाईमा सडकमा निस्किएका डाक्टरहरुले शुक्रबार धरान १३ स्थित क्षेत्रीय प्रशासन कार्यालयको सम्पर्क कार्यालयमा विरोध प्रर्दशनसमेत गरे । प्रतिष्ठानबाट डाक्टरहरुको वृहत र्याली निस्किएको थियो ।

भानुचौक, छाताचोक हुदै र्याली प्रशासन कार्यालयको सम्पर्क कार्यालय अघि पुगेर केहीबेर घेराउ गर्दै नाराबाजीसमेत गरे । डाक्टरहरुले चौबिस घण्टाभित्र केसीको माग सम्बोधन नगरे प्रतिष्ठानमा काम बहिष्कार गर्ने चेतावनीसमेत दिएका छन् । सडकमा उत्रिएका डाक्टरहरुले क्षेत्रीय प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।


चौबिस घण्टे अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएपछि डाक्टरहरुले भानुचौकमा निःशुल्करुपमा सुलभ सडक स्वास्थय शिविर पनि सञ्चालन गरे । एक्यवद्धता अभियानका संयोजकर्ता डाक्टर मधुर बस्नेतले मेडिकल माफियाको चंगुलमा फसेको सरकारलाई आन्दोलनबाट घुडा टेकाएरै छोड्ने उद्घोष गरे । नेपाली जनताको मानमा डाक्टर केसी बसिसकेको उल्लेख गर्दै उनले संविधानप्रदत जनताले पाउनुपर्ने आधारभुत गुणस्तरीय स्वास्थ्यको लागि अनसन बस्नुपर्ने अवस्था आउनु दुर्भाग्यपुर्ण भएको बताए । ‘नेपालको संविधानले स्वास्थ्य सेवा जनताको नैसर्गितक अधिकार भनेको छ, यो त सरकार आफैले गर्नुपर्ने हो । तर, डाक्टर केसी अनसनमा पटक पटक बस्नुपरेको छ, यो ज्यादै दुर्भाग्यपुर्ण हो’–डाक्टर बस्नेतले भने–‘डाक्टर केसीको व्यक्तिगत माग होइन, ३ करोड जनताको स्वास्थ्यसँग जोडिएको बिषय हो । मेडिकल माफिया र त्यसको चंगुलमा फसेको सरकारलाई घुडा टेकाएरै छोड्छौं ।’
जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष एवं एक्यवद्धता अभियानका अर्का संयोजक डाक्टर सुर्यप्रसाद रिमालले बाह्र दिनसम्म पनि सरकारले केसीको माग सुनुवाई नगरेपछि डाक्टरहरु सडकमा उत्रनु परेको बताए । ‘धेरै माग केही छैन, विगतको सम्झौता र माथेमा प्रतिवेदन लागु गर भन्ने मात्रै  हो । यो ३ करोड जनताको स्वास्थ्यसँग जोडिएको कुरा हो’–उनले थपे ।

समुदायबाट पनि ऐक्यवता

डाक्टर गोविन्द केसीको आमरण अनसनमा डाक्टरहरुको मात्रै होइन, धरानबासीले पनि साथ र ऐक्यवद्धता जनाएका छन् । धरान १३ स्थित जनजागृति समाजले शुक्रबार डाक्टरहरुसँगै र्यालीमा सहभागी हुदै ऐक्यवद्धता जनाए भने क्षेत्रीय प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउदै डाक्टर केसीको मागलाई चाडै पुरा गर्न सरकारसमक्ष आग्रह पनि गरेको छ । समाजका अध्यक्ष इन्द्रबहादुर बुढाथोकीले डाक्टर केसी जस्तो व्यक्ति देशलाई आवश्यक रहेको भन्दै चाडै माग सम्बोधन गरेर जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराए । ‘जनताको स्वास्थ्यको लागि ज्यानको पर्वाह नगरी आमरण अनसनमा बस्नु भएको छ, उहाँ जस्तो व्यक्तित्व देशलाई आवश्यक छ । सरकारले चाडो माग पुरा गरेर जीवन जोगाउनुपर्छ’–अध्यक्ष बुढाथोकीले भने–‘स्वास्थ्य क्षेत्र व्यापारीकरण नहोस्, जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाओस् भनेर व्यक्तिभन्दा माथि उठेर राष्ट्र र जनताको लागि उहाँको अनसनप्रति हाम्रो पनि ऐक्यवद्धता छ ।’







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे