पहाडी रुटबाट राजधानीसम्म यातायात चलाउन तयारी


धरान । संघीय प्रदेश सिमांकनको विरोधमा मशेधवादी दलको कारण ठप्प बनेको पुर्व–पश्चिम राजमार्गको विकल्पमा सुनसरीको चतरास्थित नवनिर्मित कोशी पुल हुदै पहाडी रुटबाट यातायात सञ्चालनमा ल्याइने भएको छ । करिब महिना दिनदेखि मधेशमा चलिरहेको हिंसात्मक प्रर्दशनले यातायात ठप्प हुदा पुर्वका जनताको सम्पर्क विच्छेद बनेपछि सरकारले धरान, चतरा, उदयपुरबाट सिन्धुली हुदै राजधानीसम्म यातायात सञ्चालन गर्न लागिएको हो ।
निर्माण तथा यातायात मन्त्रालयले कोशी नयाँ पुल हुदै राजधानी पुग्ने बाटो तत्काल मर्मतसम्भार गरी यातायात सुचारु गर्न मातहतका निकायलाई निर्देशनसमेत दिएको छ । उक्त निर्देशनपछि शनिबार पुर्वाञ्चल क्षेत्रीय प्रशासक सुरेश आचार्यको नेतृत्वमा सडकको क्षेत्रीय निर्देशक, क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख, उद्योगी एवं यातायात व्यावसायीको टोली चतरा हुदै उदयपुरको बसाहसम्म स्थलगत निरीक्षणमा गएको थियो । टोलीमा सडकका क्षेत्रीय निर्देशक प्रमुख शिवहरी सापकोटा, क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी नरबहादुर केसी, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष एवं यातायात व्यावसायी सरोज श्रेष्ठ पनि थिए ।
स्थानीयसँग पनि बाटो र आवागमनबारे बुझेपछि टोलीले कोशी पुलबाट उदयुर, सिन्धुली हुदै राजधानीसम्म यातायात सञ्चालन गर्न सकिने ठहरसमेत गरेको छ । केही स्थानमा बाटो मर्मत र सुधार गर्नुपर्ने भएकोले सडक डिभिजन र ठेकेदारका प्रतिनिधिलाई क्षेत्रीय निर्देशकसहितको टोलीले निर्देशनसमेत दिइसकेको छ । ‘आवागमन सहज होस र जनतालाई सुविधा होस भन्ने उद्देश्यले बाटोको अवस्था हेर्न गएका थियौं, कटारीबाट सिधै सिन्धुलीसम्मको बाटो नखुलेसम्म घुर्मी हुदै खुर्कोट निस्केर बीपी राजमार्गबाट राजधानी पुग्न सकिने रहेछ’–क्षेत्रीय प्रशासक आचार्यले भने–‘यत्रो लगानीमा कोशीमा पुल बनाइएको छ, जनताले यो रुटबाट सुविधा पायो भने मात्रै यसको औचित्य पनि हुन्छ । त्यसैले छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन पहल भइरहेको छ ।’
क्षेत्रीय प्रशासक आचार्यका अनुसार अनुगमनको क्रममा नै यातायात आवागमनको लागि बाटोलाई दुरुस्त राख्न क्षेत्रीय सडक, डिभिजन कार्यालय र ठेकेदार कम्पनीका इञ्जिनियरहरुलाई निर्देशन दिइसकिएको छ । केही स्थानमा अफ्ठ्यारो भएपनि गाडी सहजरुपमा नै सञ्चालन गर्न सकिने भएपनि व्यावसायीहरुको चाहनामा भर पर्ने उनले बताए । यो पहाडी रुटअन्र्तगत धरानबाट उदयपुरको रामपुर, गाईघाट, कटारी, घुर्मी, खुर्कोट हुदै बीपी राजमार्गबाट राजधानी पुगिन्छ । यो रुटको दुरी कुल ३ सय ३३ किलोमिटर छ । यो रुटमा धरानदेखि कटारीसम्मको करिब १ सय १६ किलोमिटर मात्रै ग्राभेल भएकोले समस्या छ । ‘धरानदेखि कटारीसम्म ग्राभेल छ, त्यहाँ मात्रै समस्या रहेछ । डोजर स्टेण्ड वाई राख्ने र कतै बाटो बिग्रीयो भने तत्काल खोल्ने गरियो भने यातायात सहजरुपमा सञ्चालन आउछ’–सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष एवं यातायात व्यावसायी सरोज श्रेष्ठले भने–‘सरकारले यो बाटोलाई प्राथमिकता दिई सधै मर्मत र सुधार गरेर स्टेण्डवाई राख्नुपर्छ, मधेशमा बन्द हुदा मात्रै ध्यान दिने र अरुबेला वास्तै नगर्ने प्रवत्तिले नै अहिले पुर्वपश्चिम ठप्प छ । सरकार पहिल्यै गम्भीर भइदिएको भए यस्तो हुने थिएन ।’


पुर्व क्षेत्रीय सडक निर्देशनालयका प्रमुख शिवहरी सापकोटा अनुसार धरानदेखि चतरा पुलसम्मको खण्डमा खोला र पहिरोको कारण केही समस्या छ । त्यो समस्यालाई पनि दुई साताभित्रै लोडरले सम्याउने र बाटो क्लियर गरेर झनै सहज बनाइनेछ भने गाइघाट–कटारी सडकखण्डमा केन्द्रबाटै काम भइरहेको छ । यद्यपी, त्यहाँ पनि हर्कपुरबाट लोडर र ट्रिपर झिकाएर बाटो क्लियरको लागि स्टेण्डवाई राखिएको उनले बताए । ‘अहिले पनि गाइघाटबाट काठमाण्डौं बस गइरहेकै छ । धरानबाट बिहान ५ बजे हिडेको बस बेलुकी त पुगिहाल्ने रहेछ । सुनसरी र पारी उदयुरतिर खोलामा बाढीले अवरोध गर्यो, पहिरो खस्यो भने तत्काल क्लियर गर्न मेशिन स्टेण्डवाई छ’–उनले भने ।
कोशी ब्यारेजको विकल्पमा चतरामा निर्मित कोशी पुलको गत साउन १८ गते प्रधानमन्त्रीबाट उद्घाटन भएको थियो । ठुलो लगानीमा निर्माण सम्पन्न भएर पनि यो पुलको उपयोगिता भने सिद्ध भएको थिएन । कोशीले तटबन्ध भत्काएर राजमार्ग अवरुद्ध हुदा र मधेश आन्दोलनलेसमेत पुर्व पश्चिम ठप्प हुदा ब्यारेजको विकल्पमा यो पुलसँगै चतरा–हेटौडा सडकको अवधारणा पनि अघि सारेको थियो । महेन्द्र राजमार्गको विकल्पमा आर्थिक बर्ष ०६४÷०६५ देखि सरकारले यो सडकको काम शुरु गरेपनि अहिलेसम्म पुरा नहुदा कोशीको नयाँ पुलबाट सर्वसाधारणले पुर्णरुपमा लाभ लिन भने सकेको छैन ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे