तीन दिने जेसिज तीज उत्सव शुरु(फोटोफिचर)


धरान । महिलाहरुको उत्पादनलाई बजारीकरण एवं व्यापार प्रर्वद्धन गर्ने उद्देश्यले तीन दिने तिज उत्सव बिहिबारदेखि धरानमा शुरु भएको छ । धरान जेसीजको आयोजना तथा धरान जेसीज प्रथम महिला समुहको संयोजनमा धरान १० स्थित सैनिक भवनमा तीन दिने तिज उत्सव शुरु भएको हो । सोह्र श्रृंगारमा सजिएकी महिलाहरु नाचगान गर्दै दिनहु जसो आयोजना भइरहेको तिज कार्यक्रम भन्दा फरकढंगले उत्सव आयोजना गरिएको छ ।
उत्सवस्थलमा विभिन्न महिलासम्बन्धी सामाजिक एवं व्यावसायिक संस्थाहरुले व्यापारिक स्टल राखेका छन् । नाजगान र महंगो गरगहना प्रर्दशनको थलो हुदै गएको तीज कार्यक्रमलाई निरुत्साहित गर्न र महिलाहरुलाई आर्थिकरुपमा सशक्तीकरण गर्न यो खालको तीज उत्सव आयोजना गरिएको आयोजक संस्थाको भनाई  छ । उत्सवको उद्घाटन समारोहका वक्तहरुले पनि आधुनिक तिजको भड्किलो पक्षलाई नभई महिला उत्पादनलाई प्रर्वद्धन गर्ने उद्देश्य लिएकोमा आयोजकको प्रसंसा गरेका थिए ।
उत्सवस्थलमा सौन्दर्य कला व्यावसायी संघ धरान नगरले महिलाहरुको सौन्दर्य प्रशाधनका सामानहरुको स्टल राखेका छन् भने खेर फालिएका प्लाष्टिकजन्यबाट महिलाहरुले नै निर्माण गरिएको घरायसी सजावटका सामग्रीहरुलाई सुनौलो लांघाली वातावरण समुह धरान ८ ले पनि प्रर्दशनी एवं बिक्रीमा राखेको छ । यस्तै, एकल महिला समुहअन्र्तगतको छहारी खाजाको स्टल पनि छ भने महिलाहरुले नै उत्पादन गरेको गार्मेन्ट(कपडा)को स्टल पनि समुहले राखेको छ । युवा सञ्जालले भवन निर्माणको लागि स्रोत जुटाउन मेहन्दी लगाउने र विभिन्न श्रृंगारका सामानहरु बिक्रीमा राखेका छन् । महिला उद्यामी विकास एकाई इलामले चिया, घिउ, छुर्पीलगायत सामान स्टलमा राखेको छ भने महिलालाई लक्षित गरी बुटिकमा उत्पादन गरिएको पहिरनहरुको स्टल पनि छ । यस्तै, बराह डिपार्टमेन्ट स्टोरले महिलाहरुको श्रृंगार एवं आवश्यक सामग्रीहरुको पनि स्टल राखेको छ भने सानिमा बैंक, सनराइज बैंक, बीपीकेआइएचएसस्थित पिएसआरएनको निःशुल्क स्वास्थ्य जाँच शिविर पनि सञ्चालनमा छ ।

‘तिजलाई महिलाहरुले आफ्नो दुःख, पीडालाई बिर्सेर नाच गान गर्दै उन्मुक्त भएर मनाउने चलन छ, तर हामीले महिलालाई आत्मनिर्भर गराउन उनीहरुको उत्पादनलाई प्रर्वद्धन गर्ने उद्देश्यले पनि तिज उत्सव आयोजना गरेका हौं’–धरान जेसीज प्रथम महिला समुहकी संयोजक रेवा श्रेष्ठले भनिन् । महिला सञ्जालकी उपाध्यक्ष सविता राईले महिलाको उत्पादनलाई बजारीकरण गर्न उत्सवले प्रोत्साहन मिल्ने बताइन् । प्रमुख अतिथि एवं सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले महिला उद्यमीहरुलाई संघले केही महिनाअघि संगठित गरेको उल्लेख गर्दै उत्सवले ती महिलाहरुको उत्पादन बजारीकरणसँगै सशक्तीकरणमा पनि टेवा पुग्ने धारणा राखे ।

धरान जेसिजका अध्यक्ष प्रेमराज शाक्यले स्थानीय स्रोत र साधनबाट उत्पादित सामग्रीलाई स्टलमा प्राथमिकता दिइएको बताए । स्टलहरुमा तीज पर्व र कुशे औशी(बुबा मुख हेर्ने दिन)को लागि सहुलियत दरको बजार रहेको उनको भनाई छ । बजार प्रर्वद्धनसँगै तीन दिनसम्म महिलाहरुबाट सांगीतिक प्रस्तुती, नाटक प्रर्दशनी, गरिमा डान्स सेन्टरबाट नृत्यलगायत कार्यक्रमहरु हुने उत्सव संयोजक लक्ष्मी राईले बताइन् । उद्घाटन समारोहमा समाजसेवी सरला कायस्थ, बराह ज्वेलरीका शाखा प्रमुख मानबहादुर बिश्वकर्मा, डिएसपी सुदम कुमार सिजापतिले पनि शुभकामना दिएका थिए ।

 





















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे