रन फर मुना राई(फोटोफिचर)


धरान । छपनीले छान छान, डबकीले हान..जस्ता चर्चित गीतका गायक ६३ बर्षीय गंगा वरदान शनिबार बिहानै धरान ८ स्थित यलम्बर वनमा पुगे । उनको आगमनले केटाकेटी, युवा सबैमा खुशीको सञ्चार भयो । हरेक शनिबार हुने धरान रनको २३० औं हप्तामा गायक वरदान पनि केटाकेटी, युवाहरुसँगै दौडिए ।
हरेक शनिबार ठिक ७ बजे हुने धरान रनमा केटाकेटी, युवाहरु दौडनु नौलो दृष्य होइन । तर, ६३ बर्षको उमेरमा पातलो, ख्याउटे शरीरका गायक दौडन पुग्नुको भने बिशेष महत्व थियो । विगत चार बर्षदेखि निरन्तर भइरहेको धरान रन शनिबार भने ‘रन फर मुना राई’ भन्ने नारामा भएको थियो । घाँटीको क्यान्सरले ग्रसित१३ बर्षीय मुनाको सहयोगार्थ आयोजित दौडमा समर्थन एवं सहयोग जुटाउन गायक वरदान सहभागी भएका थिए । धरान रन र मुना राई उपचार सहयोग समितिले संयुक्तरुपमा कार्यक्रम आयोजना गरेको थियो । ‘क्यान्सर पीडित बच्चीलाई सहयोग जुटाउन म पनि दौडिएको हो, मानवीय सेवामा सहभागी हुन पाउदा खुशी छुँ’–गायक वरदानले भने ।
धरान १५ गणतन्त्र बस्तीकी १३ बर्षीय बालिका मुनालाई घाँटीको दुवै साइडमा क्यान्सर छ । चिकित्सकका अनुसार यो क्यान्सर दोस्रो स्टेजमा छ । हाल उनको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । निम्न आर्थिक अवस्थाको कारण उपचारमा समस्या भएपछि धरानेहरुले सहयोग समिति गठन गरेर आर्थिक संकलन अभियान चलाइरहेका छन् । शिक्षा सदन उच्चमाविमा कक्षा ८ मा अध्ययनरत मुनाको अस्पतालमा तेस्रो साइकल किमो उपचार विधि शुरु भइसकेको छ । उनलाई पुर्णरुपमा निको हुन करिब १२ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । मिस्त्री काम गरेर परिवार चलाउदै आएका उनको पिता जयप्रसाद राईको लागि यो रकम जुटाउन सम्भवै छैन ।
रन फर मुना कार्यक्रममा शनिबार कुल ४ सय १ जना दौडिएका थिए । धरान रनमा नियमित सहभागी हुनेबाहेक गंगा वरदान, किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलक राईलगायत समाजसेवीहरु पनि सहभागी थिए । नेपाल प्रहरीका एआईजी गणेश राई प्रमुख अतिथि थिए भने कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी यज्ञबिक्रम शाह, क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी नरबहादुर केसीलगायत पनि उपस्थिति थियो । सहयोग समितिले कार्यक्रममा डोनेशन बक्स राखेको थियो, जसमा चार हजार रुपैया संकलन भएको समितिका सल्लाहकार संयोजक राजिव हलवाईले जानकारी दिए । यस्तै,सोही कार्यक्रममा धरान बि बोइङ फाउण्डेशन र सिद्धार्थ ग्रुपले संकलन गरेको एक लाख रुपैया समितिलाई हस्तान्तरण गर्यो भने धरान समाज युकेबाट प्राप्त १६ हजार ३ सय रुपैया पनि धरान रनले सहयोग समितिलाई प्रदान गर्यो । यसैगरि, धरान रन र नेवा च्यारिटीले थप ८ हजार ७ सय रुपैया पनि सहयोग समितिलाई दिएको थियो ।
स्वास्थ्यको लागि दौड नाराले शुरु भएको धरान रनले मानवीय एवं सामाजिक काममा पनि सहभागीता गराउदै आएकोले रन फर मुना आयोजना गरिएको अध्यक्ष मनिष तामाङले जानकारी दिए । ‘धरान रन नियमित भइरहेकै हो, तर मुना राई क्यान्सर पीडित र उपचारमा खर्च अभाव पनि भएको थाह पाएपछि यसपटक सहयोग जुटाउन यो कार्यक्रम आयोजना गरेका हौं’–अध्यक्ष तामाङले भने । रन फर मुनामा सुभम देवान पहिलो भए भने महिलातर्फ रञ्जु सुब्बा दोस्रो भइन् । उनीहरुलाई आयोजकले ट्रफी प्रदान गरे । यसैगरि, धरान रनमा २० हप्ता र ५० हप्ता पुरा गर्ने सहभागीहरुलाई टि सर्ट पनि प्रदान गरिएको थियो ।
















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे