नेपाली फुटबल जोगाउन फ्यान क्लब

धरान । एन्फाको विवादसँगै सुस्ताउदै गएको नेपाली फुटबल खेललाई उकास्न एवं विकास गर्न भन्दै धराने फुटबलप्रेमीहरु संगठित भएका छन् । यहाँका पुर्व खेलाडी एवं फुटबलप्रेमीहरुले धरान फुटबल फ्यान क्लब गठन गर्दै एन्फाभित्रको विवाद साम्य पारेर फुटबललाई गतिशिल बनाउन आग्रहसमेत गरेका छन् ।
एन्फाभित्रको अनियमितता र त्यसले निम्ताएको पदाधिकारीबीचको विवादको कारण नै नेपाली फुटबल ओरालो लागेको फ्यान क्लबको निष्कर्ष छ । विवादले मोफसलको फुटबल गतिविधिलाई नराम्रो असर पुगेको भन्दै क्लबले दुवै पक्षलाई विवाद मिलाएर वा ठोस निकास दिएर अघि बढ्न आग्रहसमेत गरेको छ । फुटबल धरासायी हुदै गइरहे पनि सरकार मुकदर्शक बसेको भन्दै क्लबले एन्फामा हस्तक्षेप गरेर भएपनि नेपाली फुटबल जोगाउनुपर्ने धारणा सार्वजनिक गरेको छ । क्लबले ‘सेभ नेपाली फुटबल’लाई आफ्नो मुख्य नारा बनाएको छ । फुटबललाई जोगाउनको लागि फ्यान क्लब पुर्वभरी नै गठन गरिन लागिएको क्लबका अध्यक्ष अशोक राईले बताए । ‘फुटबलको खस्कदो अवस्थाबाट चिन्तित भएर विराटनगरमा पनि फ्यान क्लब गठन भइसकेको छ, पुर्वभरी नै सेभ द फुटबल भन्दै क्लब गठन हुदैछ’–क्लबबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले भने–‘हाम्रो उद्देश्य भनेको ओरालो लागेको फुटबल खेललाई माथि उठाउने, एन्फा र सरोकारवालालाई फुटबल विकासको लागि घच्घच्याउने हो ।’
एन्फा पदाधिकारीबीच आरोप प्रत्यारोपले फुटबल खेलको विकासमा वाधा पुगिरहेको भन्दै क्लबले दुवै पक्ष मिलेर अघि बढ्नसमेत सुझाव दिए । साथै, फुटबल खेल बचाउन सरकारले पनि ठोस पहलकदमी गर्नुपर्ने अध्यक्ष राईले बताए । ‘कि आर्थिक अपचलनको आरोप लागेका अध्यक्ष गणेश थापालाई कारबाही गर्नुपर्छ, कि दुवै पक्षलाई मिलाएर एन्फा र फुटबल खेललाई गतिशिल बनाउन सरकारले हस्तक्षेप गर्नुपर्छ’–उनले थपे–‘एन्फा संस्थागतरुपमा नचल्दा नै यी समस्याहरु आएको हो ।’ उनका अनुसार पुर्वका अन्य जिल्ला र शहरमा पनि फ्यान क्लब गठन भएपछि ती सबै क्लबबीच नियमित अन्र्तक्रिया र समन्वय गर्दै एन्फा र सरकारलाई विवाद साम्य गर्न र फुटबल विकासमा ठोस कदम चाल्न दबाब दिइनेछ । साथै, स्थानीयस्तरमा भएका क्लबलाई गतिशिल बनाउन र खेल मैदानहरुको संरक्षण, संवद्र्धनमा पनि क्लबले खबरदारी गर्ने जनाएको छ ।
कुनै समय धरानमा थुप्रै फुटबल क्लबहरु थियो । ती क्लबहरुले पुर्वाञ्चलमा बर्चस्व बनाएको थियो भने धरानमा नियमितरुपमा प्रतियोगिता एवं फुटबल गतिविधिहरु भइरहन्थ्यो । प्रतिभावान खेलाडी उत्पादनमा ती प्रतियोगिताहरुको ठुलो योगदान थियो । त्यही कारण ‘मिनि ब्राजिल’को उपमा पाएको धरानमा अचेल भने फुटबल गतिविधि शुन्य भएकोमा क्लबले चिन्ता व्यक्त गरेको छ । ‘धरानको क्लबहरु किन निष्क्रिय भए, यहाँ विगतको जस्तो फुटबल गतिविधिहरु किन भइरहेको छैन ? यसको उत्तर एन्फा नेतृत्वको कमजोरी र विवाद नै प्रमुख कारण हो’–फ्यान क्लबका महासचिव रामकृष्ण खड्काले भने–‘पुर्वका ठुला प्रतियोगिताहरु जसोतसो हुदैछ, कतिपय हुनै छोडिसके । एन्फाको विवादको कारण कतिपय प्रतियोगितालाई सहयोग भएन । धरानकै बुढासुब्बा गोल्डकपलाई पनि समय तालिका मिलाउन नदिएर समस्या भएको थियो ।’ धरानका सुसुप्त अवस्थाका क्लबलाई सक्रिय तुल्याउन, बन्द अवस्थामा रहेको एन्फा एकेडेमी सञ्चालनमा ल्याउन र फुटबल मैदानको संरक्षण, संर्वद्धनमा क्लब सक्रिय हुने उनले बताए ।


पुर्व खेलाडी एवं फुटबल प्रेमीहरुको भेलाले यो क्लब भदौ १२ गते गठन भएको हो । भेलाले अशोक राईको अध्यक्षमा १७ सदस्यीय समिति गठन गरेको  छ । क्लबको उपाध्यक्षमा बिक्रम राई, महासचिवमा रामकृष्ण खड्का, सचिवमा सुरज राई र कोषाध्यक्षमा उषा राई छन् । यस्तै, सदस्यहरुमा सुभाष कार्की, सुरज कान्छा, आशिष पाख्रिन, सिता राई, राजे राई, सुनिल गुरुङ, जनक सुनुवार, लक्ष्मण मगर, विनोद मगर, विनोदा थापा मगर, मणि तामाङ र संगीता राई पनि छन् ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे