किरातको वृहत मोटरसाइकल र्याली(फोटोफिचर)
धरान । किरात राज्य सुनिश्चितताको लागि दबाब स्वरुप शुक्रबार धरानमा वृहत मोटरसाइकल र्याली भएको छ । किरात राई यायोक्खाले शनिबार धरानमा आयोजना गर्न लागेको वृहत किरात जनसभाको प्रचार गर्ने उद्देश्यले मोटरसाइकल र्याली गरेको हो ।धरान १० स्थित यलम्बर स्मृति भवनबाट शुरु भएको र्यालीले नगरको परिक्रमा गरेर भानुचौकमा कोणसभामा पणित भएको थियो । कोणसभालाई यायोक्खाका जिल्ला अध्यक्ष शुभचन्द्र राई र केन्द्रीय उपाध्यक्ष चन्द्रबिक्रम राईले सम्बोधन गरेका थिए । र्यालीमा पाँच सय बढी मोटरसाइकल सहभागी भएको जनसभा प्रचार विभागले जनाएको छ ।
कोणसभा सम्बोधनमा केन्द्रीय उपाध्यक्ष राईले तीन दलले ल्याएको संविधानले आदिवासी, जनजाति, मधेश, दलित एवं उत्पीडित जाति, समुदायको हक,अधिकार सुनिश्चित नगरेकोले पहिचानवादीहरुले दिपावली नगर्ने बताए । तीन दलबाहेक सबै शक्तिहरु आन्दोलनमा रहेकोले ८ बर्ष लगाएर ल्याएको संविधान ८ हप्ता पनि नटिक्ने उनले चेतावनी दिए । ‘कसैलाई राष्ट्रपति हुन हतारो छ, कसैलाई प्रधानमन्त्री बन्नुछ, त्यसैले जर्बजस्ती संविधान ल्याएर मुलुकमा भिडन्त निम्त्याइदैछ, धमाधम जनता मरिदैछ’–उपाध्यक्ष राईले भने–‘तीन दलबाहेकको सबै शक्ति, समुदाय आन्दोलनमा छ, यो संविधान ८ हप्ता पनि टिक्दैन ।’
यायोक्खाका जिल्ला अध्यक्ष शुभचन्द्र राईले सदियौंदेखि उत्पीडनमा परेका जाति, समुदायको हकअधिकार सुनिश्चित नभएकोले ३ गतेदेखि नै संविधान जल्न थाल्ने बताए । किरातको शान्तिपुर्ण आन्दोलनलाई कमजोर ठानेमा सत्तामा बसेकाहरुको लागि ठुलो भुल हुने उनले चेतावनी दिए । पहिचानवादी आन्दोलनलाई सशक्त बनाउन एवं संविधानमा पहिचानसहितको संघीयता सुनिश्चित गराउन जनसभा गर्न लागेको यायोक्खाले जनाएको छ । पुर्वका राई, लिम्बु, याक्खा, सुनुवारलगायत सबै जातजातिको पहिचान, सहअस्तित्व, सम्मानलाई किरात राज्यले समेट्ने यायोक्खाको दाबी छ ।
यायोक्खाले ०६३ मा छैठौं महाधिवेशनबाट पुर्वी नेपालको १७ जिल्लालाई किरात राज्य घोषणाको माग अघि सारेको थियो । संविधानमा पहिचान र अधिकार सुनिश्चितताको लागि देशभर हिंसात्मक आन्दोलन भइरहदा यायोक्खाले भने किरात राज्यको लागि दबाबमुलक रचनात्मक एवं प्रचारात्मक कार्यक्रम मात्रै गर्ने घोषणा गरेको थियो । किरातमा सभ्यता, वृहत जाति र भुगोल पनि भएकोले सबै जाति, समुदाय समेटिने यायोक्खाको धारणा छ । किरात राज्यअन्र्तगत नै लिम्बुवान र खम्बुवान उप स्वायत्तता हुनुपर्ने यायोक्खाको प्रस्ताव छ ।


































Comments
Post a Comment