चार बर्षदेखि दौडिरहेको धरान(फोटोफिचर)







































धरान । शनिबार सार्वजनिक विदाको दिन । स्कुले केटाकेटीहरु बिहान अबेरसम्म सुत्न चाहन्छन् । धरान २२ पानवारीका ११ बर्षे लाजेहाङ र ६ बर्षे निङवाहाङ फोम्बोको शनिबार बिहानको दैनिकी भने फरक छ । दाजु लाजेहाङ बिहानै साढे पाँच बजेतिर उठ्छन् । उनीसँगै भाई निङवाहाङ पनि बिउझन्छन् । त्यसपछि ६ बजेतिर उनीहरु घरबाट निस्कन्छन् । दुवैको गन्तव्य हो, धरान ८ स्थित यलम्बर सामुदायिक वन । त्यहाँसम्म पुग्न उनीहरुलाई झण्डै आधा घण्टा लाग्छ ।


वन समुहअघिको पुरानो घोपा क्याम्प सडकखण्डमा सयौं बालबालिका, युवा वृद्धहरु भेला भइसकेका हुन्छन् । लाजेहाङ र निङवाहाङ पनि त्यही भीडमा मिसिन्छन् । शनिबार बिहान ठिक ७ बजे, सिठि बज्छ । युवा,वृद्धा, केटाकेटीहरु दौडन शुरु गर्छन् । ७ बजेपछि अरु कोही आउन बाँकी छ कि वा आउदैछन् कि भनेर पर्खने चलन छैन । जति जम्मा भएका हुन्छन्, ठिक समयमा दौडन्छन् । पछि आउनेहरु पनि पछ्याउदै जान्छन् । दौड शुरु भएपछि सडकमा गुड्दै गरेका गाडी रोकिन्छ, मोटरसाइकल साइड लाग्छ । उमेरको कुनै छेकबार छैन । जसलाई दौडनु मन छ, दौडिए हुन्छ ।


यलम्बर वनअघिको यो दृष्य प्रत्येक शनिबार ठिक ७ बजे देख्न पाइन्छ । गर्मी होस वा झरी अथवा पुष,माघको कठ्याग्रिने जाडो । विगत ४ बर्षदेखि यो दौडको श्रृंखला यसरी नै चलिरहेको छ । धरान रन नाम दिइएको यो कार्यक्रम धरानेहरुलाई स्वास्थ्य बनाउनु एवं स्वास्थ्यप्रति सचेत गराउनुे प्रमुख उद्देश्य हो । यही उद्देश्यले स्थानीय केही युवाहरु मिलेर शुरु गरेको अभियानले अहिले व्यापकता पाइसकेको छ । धरान रनप्रति कतिसम्म लगाव छ भने दशै–तिहारको बेला पनि शनिबार दौड हुन्छ । गत बर्षको तिहारमा शनिबार भाईटिका परेको थियो । त्यो दिन पनि धरान रन रोकिएन । यलम्बर वनबाट शुरु भएको दौड तीनकुनेस्थित श्रीजंघाको सालिक हुदै फर्केर पुनः त्यही स्थानमा आएर टुंगिन्छ । यो दुरी ३.५ किलोमिटर लामो छ ।


गएको शनिबार धरान रनले २ सय २७ औं हप्ता पार गर्यो । धरान रन शुरु भएदेखि निरन्तर दौडनेमाध्ये एक जना ५९ बर्षीय दौलबहादुर राई पनि हुन् । सुगर, प्रेसरका रोगी उनी त्यसलाई कन्ट्रोलमा राख्न नियमितरुपमा नै दौडने गरेको बताउछन् । ‘स्वस्थ्यको जहिल्यै धरान रनमा सहभागी हुन्छु, मलाई त रोग लागिहाल्यो । रोग लाग्नै नदिनु पर्ने रहेछ, दौडदा पनि धेरै रोगबाट जोगिन्छौ’–राई भन्छन् । उनको अनुभवमा धरान रनको महत्व यतिमा सिमित छैन । धरान रनमा बालबालिकाहरुको सहभागीता बढ्दो छ । यसले सानै उमेरमा उनीहरुलाई स्वास्थ्यप्रति सचेत त गराउछ नै, छुट्टीको समयलाई सदुपयोग पनि हुन्छ । धरान रनमा आएपछि धेरै नयाँ साथीभाईसँग चिनजान, घुलमिल हुन्छ र उनीहरुलाई सामाजिकीकरण हुन पनि मद्दत पुग्ने उनको भनाई छ ।

तीब्र शहरीकरण, प्रविधिको विकास र सुविधाले मानिस सक्रिय जीवनदेखि टाढिएका छन् । खानपिन सन्तुलित छैन । हिडडुल गर्न नै छोडिसकेका छन् । यस्तो जीवनशैलीले मधुमेह, उच्चरक्तचाप, मुटुलगायत विभिन्न रोगले मानिसहरु ग्रस्त छन् । रोग लागेपछि मात्रै मानिसमा स्वास्थ्यप्रति सचेत हुन्छन्, र अनेक उपचार विधि अपनाउछन् । धराने युवाहरुले भने रोग लाग्नै नदिनको लागि ‘सुन्दर धरान, स्वास्थ्य धरान’ नारा दिएर धरान रन कार्यक्रम शुरुवात गरेका हुन् । शुरुवाती हप्तामा केही पाका र अभियन्ता युवाहरु मात्र सहभागी भएपनि विस्तारै व्यापकता पाउदै गयो । हिजोआज धरान रनमा युवा,बालबालिकाहरुको सहभागिता धेरै छ । ‘पहिलो साता २७ जनाबाट धरान रन शुरु गर्यौं, विस्तारै संख्या बढ्दै गयो । एक सातामा रनरको संख्या ५ सयसम्म पुग्यो । हरेक साता नयाँ रनरहरु थपिदैछन्’—धरान रनका अध्यक्ष मनिष तामाङ भन्छन्—‘खासगरि किसोरकिसोरी र बालबालिकाहरुले दौडमा धेरै रुचि देखाएका छन्, यसले स्वास्थ्य रहन दौडनु पर्छ भन्ने चेतना बढाउदै लगेको महसुस भइरहेको छ ।’ एक पटक दौडनेको रेकर्ड एक पटक मात्रै राखिन्छ । त्यसपछि ती रनरको हरेक पटक त्यही एउटा नम्बर हुन्छ ।

चार बर्षअघि पहिलो साता धराने युवाहरुले साथीभाई र आफन छिमेकीहरुलाई आग्रह गरेर त्यति भेला पारेका थिए । त्यसयता आयोजकहरुले कसैलाई पनि शनिबार बिहान दौडनको लागि आग्रह गर्नु परेको छैन । एक पटक सहभागी भएकाहरुले आफ्ना छोराछोरी, साथीभाई, आफन्तजनहरुलाई लिएर अर्को शनिबार आउने गर्छन् । दौडमा ५ बर्षदेखि ७२ बर्षसम्मका सहभागी हुन आउछन् । ‘विरामी भएपछि मात्रै उपचार र औषधी खोज्छौं, तर बच्चादेखि नै स्वास्थ्यप्रति सजग रह्यौं भने हेल्थ बिग्रदैन, धरान रनमार्फत यही सन्देश बाड्न खोजेका हौं’—सचिव रमु राईले भने । धरान रनले सहभागी रनरहरुलाई प्रोत्साहन गर्न प्रत्येक साता मेहनती, नियमित रनरलाई उपहार दिने गरेको छ । यस्तै, रनरले २० हप्ता, ५० हप्ता र १०० हप्ता पुरा गरे टि—सर्ट उपहार पाउछन् ।

                                           धरान रनको अवधारणा

धरान रनको अवधारणा भने हाल बेलायतको लण्डनमा रहेका धराने युवाहरुले यहाँ भित्र्याएका हुन् । यसको मुख्य श्रेय हाल बेलायतमा रहेका संस्थापक अध्यक्ष सन्तोष राईलाई जान्छ । अर्का, अनिल राईले पनि यो अवधारणालाई अघि बढाउन सहयोग गरेका थिए । धरानमा रहेका आफ्ना अधिकांश परिवारजन एवं नातेदारहरुलाई सुगर, डाइबिटिज्, ब्लडप्रेसर लगायत रोगहरुले च्यापेको थाह पाए । त्यसपछि उनीहरुले धरानमा रहेका युवा साथीहरुसँग सल्लाह गरेर सन् २०११ सेप्टेम्बर ७ बाट धरान रनको शुरुवात गरेका थिए ।
लण्डनबासीहरुले आफु निरोगी एवं स्वस्थ्य रहन प्रत्येक साताको आइतबार सामुहिकरुपमा पार्क रन कार्यक्रम आयोजना गर्छन् । त्यसैबाट प्रभावित धरान रन शुरु गरिएको हो । रनर मात्रै होइन, धरान रनमा स्वयमसेवीहरुको रुपमा अभियानमा सहभागी हुनेहरुको संख्या पनि बढिरहेको छ । हरेक साता ३० जना बढी स्वयमसेवीहरु हुने गरेको अध्यक्ष तामाङ बताउछन् ।

                                                    समाजसेवामा पनि सक्रिय


धरान रनको अवधारणा नै समाजलाई सुन्दर र स्वास्थ्य बनाउने लक्ष्यबाट भएको हो । तर, धरान रन शनिबार दौड गराउनुमा मात्रै सिमित छैन । विगत तीन बर्ष यता हरेक बर्ष नेवा च्यारिटी ८ के रन÷वाक प्रतियोगिता गराउदै आएको छ । यो उपत्यकाबाहिर सबैभन्दा ठुलो दौड प्रतियोगिता हो । यो प्रतियोगिताबाट संकलन भएको रकम संस्थाले राख्दैन । पहिलो संस्करणको संकलित रकम फरक क्षमता भएकी साहित्यकार लक्ष्मी राई, दोस्रो संस्करणको रकम दृष्टि नेपाल र तेस्रो सँस्करणको रकम एचआइभि संक्रमित बालबालिकाको शिक्षाको लागि धरान पोजेटिभ ग्रुपलाई प्रदान गरेको थियो ।


धरान रन र दौड प्रतियोगितालाई नेवा च्यारीटिले आर्थिक, भौतिक सहयोग गर्छ । नेवा च्यारिटी धरान रनका संस्थापक अध्यक्ष बेलायत निवासी सन्तोष राईले स्थापना गरेका हुन् । आफ्नी छोरीको नाममा स्थापना गरेको नेवा च्यारिटीले बिशेष गरी फरक क्षमता भएका असहाय, अशक्तहरुलाई सहयोग गर्दै आइरहेको छ । धरान रनले तीन बर्षअघि भानुचौकमा नेवा च्यारिटी फण्ड राइजिङ सप(गार्मेन्ट आइटमको पसल) सञ्चालनमा ल्याएको छ । यहाँ युके, हङकङलगायत मुलुकबाट प्रयोग गरिसकेको भएपछि राम्रो कपडाहरु संकलन गरेर संस्थापक अध्यक्ष राईले पठाइदिन्छन् । ती कपडा सुलभ मुल्यमा बिक्री हुन्छ र बिक्रीबाट आएको रकम असहाय, अशक्तलाई सहयोग गर्ने गरेका छन् । यस्तै, दुई महिनाअघि मात्रै धरान रन सप पनि सञ्चालनमा आएको  छ । यहाँ कोल्ड ड्रिंक्स, विस्कुट, चाउचाउ लगायत सामग्री पाइन्छ । यसको बिक्रीको रकम पनि सहयोगमा नै उपयोग गरिने सचिव रमु राईले बताए । ‘नेवा च्यारिटीले फण्ड राइज गरिदिन्छ, धरान रनले यहाँ विभिन्न गतिविधिहरु गछौं’–सचिव राईले भने–‘बालबालिका, युवाहरुलाई धरान रनको ब्यानरमा सामाजिक, चेतनामुलक अभियानमा सहभागी गराउछौं, यसले उनीहरुलाई कुलतबाट टाढै राख्छ र समाजप्रति जिम्मेवार पनि बनाउछ ।’














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे